एट्लेटिको म्याड्रिडको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

म्याड्रिड । गेटाफेलाई ३-० गोलअन्तरले पराजित गर्दै एट्लेटिको म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । एट्लेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गर्नुभयो । पोर्चुगिज मिडफिल्डर जोआओ फेलिक्सले तीन गोलमै असिस्ट प्रदान गर्नुभयो ।

एट्लेटिकोले १५औँ मिनेटमा मोराटाको गोलमा अग्रता लियो । ५९औँ मिनेटमा मोराटाले फेलिक्सकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ७५औँ मिनेटमा फेलिक्सकै पासमा परिवर्तित खेलाडी एन्टोइन ग्रिजमनले गोल गर्दै टोलीको जित पक्का गर्नुभयो ।

जितसँगै एट्लेटिको तीन अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियल बेटिस, भिल्लारियल, ओसासुना, रियल म्याड्रिड, रियल सोसिडाड र भ्यालेन्सियाको समान ३ अंक रहे पनि एट्लेटिको गोल अन्तरमा माथि छ । पराजित गेटाफेले अंकको खाता खोल्न सकेको छैन ।
ला लिगाकै अर्काे खेलमा एट्लेटिको बिल्वाओ र मलोर्काले गोलरहित बराबरी खेल्दा रियल बेटिसले इल्चेलाई ३-० ले पराजित गरेको छ ।

युभेन्ट्सको जित
युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा सस्सुलोलाई ३-० गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ । युभेन्ट्सको जितमा डुसान भ्लाहोभिचले दुई तथा एन्जल डि मारियाले एक गोल गर्नुभयो । खेलको २६औँ मिनेटमा डि मारियाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो ।

४३औँ मिनेटमा भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पार्नुभयो । ५१औँ मिनेटमा भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई ३-० ले अघि बढाउनुभयो ।

यो जितसँगै युभेन्ट्सले तीन अंक जोडेको छ । सस्सुलो अंकविहीन छ । सिरी ‘ए’ कै अर्काे खेलमा नेपोलीले हेलास भेरोनालाई पाँच–दुईले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

बराबरीमा रोकियो लिभरपुल
इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा क्रिस्टल प्यालेससँग एक-एकको बराबरीमा रोकिएको छ । खेलको ३२औँ मिनेटमा विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई अघि बढाउनुभएको थियो । दोस्रो हाफको ५७औँ मिनेटमा लिभरपुल १० खेलाडीमा समेटियो । यसै सिजन क्लबमा आउनुभएका फरवार्ड डार्विन न्युनेजले सिधै रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको हो ।

न्युनेज बाहिरिएको चार मिनेटपछि लिभरपुलले बराबरी गोल फर्काएको थियो । लुइस डियाजले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काउनुभयो । लिभरपुल लगातार दोस्रो खेलमा बराबरीमा रोकिन पुग्यो । पहिलो खेलमा टोली फुल्हमसँग दुई-दुईको बराबरीमा रोकिएको थियो । लिभरपुल दुई खेलमा दुई अंकसहित दोस्रो स्थानमा छ । प्यालेस अंकको खाता खोल्दै १६औँ स्थानमा अवस्थित छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?