काठमाडौं । सत्तारूढ दलभित्रका वामपन्थी पार्टीहरूबीच चुनावी गठबन्धन र पार्टी एकतासम्मको तयारी सुरु भएको छ । दुई सत्तारूढ दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने तयारी गरिएको छ भने बाबुराम भट्टराई र वामदेव गौतमलाई समेत समेटेर वामपन्थी पार्टी बनाउने योजना छ । माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चिन्हमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय नै भइसकेको छ । प्रचण्डसँग सहमति भएपछि अब बाबुराम भट्टराईले पाउने सिट संख्याबारे छलफल हुनेछ । स्रोतका अनुसार अब गठबन्धनमा नेपाल समाजवादी पार्टीलाई पनि सहभागी गराउने सहमति जुटिसकेको छ । सात वर्षअघि माओवादी छोडेर वैकल्पिक राजनीतिमा होमिनुभएका भट्टराई माओवादीसँग चुनावी सहकार्यका लागि जोडिएपछि यसले अब पार्टी एकताको आधार खडा भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारहरूमाझ एकीकृत समाजवादीसँग पनि एकीकरण हुने तयारी भएको बताउनुभयो । प्रचण्डले नौ वर्षपछि माओवादीकै चुनाव चिन्हबाट लड्न तयार डा. बाबुराम भट्टराईसँग पनि एकता तयारी भइरहेको उल्लेख गर्नुभयो । ‘बाबुरामजी र म अब एकठाउँमा उभियौँ । यसको ठूलो राजनीतिक अर्थ रहेको छ’, उहाँले भन्नुभयो, ‘हामी अब माधव नेपालहरूसँग पार्टी एकताको तयारीमा छौँ । त्यसका लागि हामीले एकता संयोजन समिति बनाउँदैछौँ ।’ उहाँले माधव नेपालहरूसँग एकताका लागि नामबारेमा छलफल भइरहेको पनि खुलासा गर्नुभयो । प्रचण्डले पार्टीको नामबारेमा पनि अहिलेबाटै छलफल भइरहेको बताउँदै एकता भने चुनावपछि मात्रै हुने बताउनुभयो । ‘नयाँ पार्टीको नाम त नेपाल कम्युनिष्ट पार्टी नै हुन्छ’, दाहालले भन्नुभयो, ‘त्यसमा हामी सहमतिमा समाजवादी पनि थप्न सक्छौँ वा त्यस्तै केही हुन सक्छ । तर, नेकपामा भने हाम्रो सहमति भइसकेको छ ।’
दाहालले आगामी चुनावका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराइसकेपछि एक भएर अघि बढ्नेबारे बाबुरामहरूसँग पनि गम्भीर रूपमा छलफल गरेको बताउनुभयो । ‘भविष्यसम्म हामी मिलेरै जानुपर्छ भन्ने भएका छौँ’, उहाँले भन्नुभयो, ‘अब मिलेर जानुको विकल्प छैन ।’
बृहत् अग्रगामी राजनीतिक शक्तिहरूको धु्रवीकरण गर्ने लक्ष्य : भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरू सत्तारूढ गठबन्धनको अंग भएको बताउनुभएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष भट्टराईले आफूहरू सत्तारूढ गठबन्धनबाहिर नरहेको बताउनुभयो । ‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौँ’, उहाँले भन्नुभयो । उनले गठबन्धनले बनाउने तालमेलको मापदण्डअनुसार अघि बढ्ने बताउनुभएको हो । भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमतिअनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभयो ।
‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकताबद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौँ ।’ उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्ने गरी निर्वाचन आयोगमा आवेदन दिएको बताउनुयभो । अध्यक्ष भट्टराईले नेसपा पनि गठबन्धनभित्रै भएकोले गठबन्धनले बनाउने मापदण्डअनुसार नै तालमेल गरेर अगाडि बढ्ने बताउनुभयो ।
एमालेबाट लड्दा हार्ने सुनिश्चित छ : गौतम
रष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएको बताउनुभएको छ । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिन्ह लिएको बताउनुभयो । सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसद्मा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने बताउनुभयो । उहाँले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताउनुभयो ।
हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गर्नुभयो । उहाँले इमानदारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गर्नुभयो । उहाँले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तर पनि गठबन्धन अगाडि नै रहने दाबी गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका