निर्वाचन केन्द्रित अभिमुखीकरणमा व्यस्त दलहरू

हिमालय टाइम्स
Read Time = 6 mins

हालका दिनहरूमा विभिन्न दल अनेकौँ शीर्षकका कार्यक्रममा व्यस्त छन् । आफू निर्वाचित भएको लामो समयसम्म यस्ता कार्यक्रमहरूमा उनीहरूको तदारुकता देखिएको थिएन तर जब निर्वाचन नजिकिँदै जाँदैछ तब उनीहरूका यस्ता कार्यक्रमले सघनता लिइरहेका छन् । एक प्रकारले भन्ने हो भने यसलाई अस्वाभाविक भन्न पनि मिल्दैन किनकि रजनीति भनेकै जित्नकै लागि हो । हार्न कसैले पनि राजनीति गरेको होइन । त्यसैले जित्नका लागि गरिने यस्ता कार्यक्रमलाई अन्यथा मान्नुपर्ने कुनै कारण छैन । अन्यथा त्यसबेला मान्नुपर्छ जब तिनका त्यस्ता कार्यक्रम गैरकानुनी गैरप्रजातान्त्रिक र समाज तथा राष्ट्रविरोधी बन्न पुग्छन् । नेतृत्वमा पुग्ने चाहना सबैको हुन्छ । त्यो चाहना जनताको सेवा गर्ने होस् वा आफ्नो स्वार्थपूर्ति गर्ने नै किन नहोस् ।

भ्रष्टाचारजन्य कार्यमा संलग्न भएर सजाय पाएका केही नेताहरूको जोगी बन्न राजनीति गरेको होइन भन्ने भनाइले पनि राजनीति कमाउनकै लागि गरिने कर्म हो भन्ने प्रष्ट हुन्छ । तर, शिष्ट र शालीन राजनीतिबाट पनि जनताको मन जित्न सकिन्छ भन्ने यस्ता केही नेताहरू राजनीतिक वृत्तमा देखिएकाले पुष्टि हुने गर्दछ । यस्ता नेताहरूको संख्या भने निकै नै कम छ । जे होस् अब वर्तमान प्रणाली तथा वर्तमान संविधान अनुसारको संघीय संसद् तथा प्रदेशसभाका लागि हुन लागेको निर्वाचन नजिक आउँदैछ । जति-जति निर्वाचन नजिक आइरहेको छ त्यति नै पार्टीहरूको सक्रियता बढिरहेको छ । आ-आफ्ना पार्टीका कार्यकर्तालाई प्रतिबद्ध बनाएर राख्ने प्रयास भइरहेको छ ।

यसरी गरिएका प्रयासमा पार्टीप्रति प्रतिबद्ध र सक्रियलाई भन्दा पनि तटस्थ र दोधारमा रहेका मतदातालाई आकर्षण गर्ने अनेकौँ कार्यक्रम अघि सार्ने गरिएको छ । कोरोनाको महामारी विगत वर्षको जस्तो छैन । अब यसको प्रभाव नगन्यमात्र छ । जसले गर्दा निर्वाचन निर्विवाद छ र दलहरूका लागि यो नै एउटा महापर्व हो । जिते पाँच वर्षका लागि राज गर्न पाइने र हारेका खण्डमा राजनीतिक वृत्तबाट ओझेल पर्नुपर्ने भएकाले निर्वाचन केन्द्रित बन्नु जरुरी छ । यसका लागि अनेकथरि नयाँ-नयाँ कार्यक्रम दिनु परेको छ । सबै पार्टीहरू यसरी नै लागेका छन् । नेपाली कांग्रेसले आफ्ना प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई शासक भएर होइन जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । यसबीच जनप्रतिनिधिका अपेक्षा धेरै छन् । सीमित सिटमा धेरै आकांक्षीबाट छानेर एकजनालाई उम्मेदवार बनाउनुपर्ने हुन्छ । यसले गर्दा उम्मेदवारीको टिकट नपाउने अन्य व्यक्तिहरू रिसाउछन् र तिनले असहयोग गर्छन् कि भन्ने सम्भावनासमेत रहन्छ । यसले गर्दा तिनलाई समेत खुशी पारेर पार्टीले चुनावी राणनीति अघि सार्नुपर्ने हुन्छ । नेपाली कांग्रेसका केही नेताहरूले आफ्नो निर्वाचन क्षेत्रभित्रका प्रायः सबैलाई समेट्ने प्रयासमा भ्रातृ संगठन र शुभेच्छु संघ संगठनबाहेकका अन्यलाई समेट्न अनेकथरि नयाँ-नयाँ संघ बनाइरहेका छन् ।

युवा, महिला, खेलकुद, सांस्कृतिक, पेशागत तथा बुद्धिजीवी जस्ता समूहहरू धमाधम बनाइँदै छन् । वास्तवमा यी लामो समयसम्म रहने भ्रातृ तथा शुभेच्छुक संघ नभएर चुनावका लागि समेटिएका समूह हुन् । अन्य पार्टीमा नजाऊन् वा तटस्थ मानिसहरू आफूप्रति आकर्षित बनून् भन्न यसो गरिएको हो । यसलाई अन्यथा भन्न नमिल्ला । हाल पर्वहरूको समय छ । महिलाहरूको हरितालिका तीज आउँदै छ । दिदीबहिनीहरूका लागि तीज केन्द्रित तथा भोजभतेरका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसो गर्दा नारीहरूलाई आफ्नो पार्टी तथा उम्मेदवारप्रति आकर्षित गर्न सकिएला तर निर्वाचन आयोगले यसलाई कसरी हेर्ला त्यसतर्फ सोच्नुपर्ने आवश्यकता देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?