सुदूरपश्चिममा मनाइँदै वल्के पर्व, प्रदेशभर सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 3 mins

डोटी । सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज (बुधबार) बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ ।

यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।

भाद्र सङ्क्रान्ति अर्थात भाद्र १ गतेका दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।

यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

पर्वको अवसरमा पहिलो दिन हिजो प्रत्येक घरमा मिठोमसिनो खानाका स्थानीय परिकार बनाइएर मनाइएको थियो ।

आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै गरिएको छ ।

रोजगारी तथा काम विशेषले घर तथा जिल्ला बाहिर गएका यहाँका नागरिक पनि वल्के चाड मनाउन अहिले आ–आफ्ना घरमा फर्किएका कारण यहाँका बजार तथा गाउँमा निकै चहलपहल बढेको छ ।

वल्के पर्व यहाँका बजार क्षेत्रभन्दा पनि गाउँघरमा बढी मनाउने चलन रहेको छ ।

आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा यस क्षेत्रमा शताब्दीयौँदेखि रहिआएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?