नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छ : मन्त्री कुँवर

Read Time = 6 mins

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रविधि निर्यात गर्ने देशको रुपमा नेपाललाई विकसित गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा मन्त्रालयमा भएको सामाजिक सुरक्षा कोषको एप्लीकेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री कुँवरले केही समय पहिला सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागेपनि अब भने सक्रिय भएको बताउनु भयो । उहाँले अरुको तुलनामा देशको प्रविधि बिकाउ हुने गरेर मेहनत गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री कुँवरले नेपाल अब प्रविधि, पुँजी, सीप भित्र्याउने देश बन्न नहुने भन्दै प्रविधि निर्यात गर्ने देश बन्नुपर्ने बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, दायरा बढाउने, सामाजिक सुरक्षा कोष सबैको सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ, यसका गतिविधिहरु अघि बढेका छैनन्, यो ठप्प भएको छ, यसको मोविलिटी बढेको छैन, भन्नेकुराको आक्षेप लागेको थियो । तर यसलाई चुनौती दिँदै सामाजिक सुरक्षा कोषले नयाँ कदम अघि बढाएको छ । हामीले अझै नयाँ कुराको सिर्जना गर्ने हो । हामीले अरुको तुलनामा हाम्रो प्रविधि बिकाउ हुने गरेर मेहनत गर्नुपर्छ । नेपाल अब प्रविधि, पुँजी, सीप भित्र्याउने देश होइन, प्रविधि निर्यात गर्ने देशको रुपमा अघि बढाउनुपर्ने जरुरी देखिएको छ । सामाजिक सुरक्षा कोषलाई अझै व्यवस्थित गर्ने, यसका दायरालाई बढाउने, सामाजिक सुरक्षा कोष हामी सबैको सुरक्षित गन्तव्य हो भन्ने महशुस गराउनु पर्छ । यसमा सम्मिलित भएपछि यसले हाम्रो भविष्यको सुरक्षा गर्छ भन्ने अनुभुति दिलाउने गरी काम गरौँ ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषले योगदान कर्ताहरुलाई उत्प्रेरणा गर्ने हिसावले सापटी योजना शुरुवात गरेको बताउनु भयो । उहाँले भदौ १ गतेदेखि घर सापटी, शैक्षिक सापटी र सामाजिक सापटीको लागि क्रमशः ७०, ३० र ५ लाख रुपैयाँ गराउने बताउनु भयो । उहाँले यो पहिलो चरणको योजना भएको र दोस्रो चरणमा योगदान कर्तालाई उद्यमशील बनाउने र आन्तरिक रोजगारीमा उपस्थिति गराउने उद्देश्यले सीपसहितको उद्यमशील योजना पेस गरेको आधारमा सहुलियतपूर्ण ऋण प्रदान गर्ने योजना पनि छिटै घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो । यस कार्यक्रमले योगदान कर्ताको सामाजिक सुरक्षा कोषमा वृद्धि हुने र आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने बताउनु भयो । उहाँले स्वदेशमा बस्ने योगदान कर्ता वा श्रमीकलाई मात्रै नभइ विदेशमा बस्ने र वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कुराको सन्दर्भमा पनि मन्त्रालयले काम गरेको बताउनु भयो । उहाँले आगामी दिनमा सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदान कर्ताहरुको झन्झट भयो भन्ने दिन नआउने प्रतिवद्धता जनाउनु भयो ।

सचिव अर्यालले बैंकिङ प्रणाली भन्दा सामाजिक सुरक्षा कोष एक स्टेप अगाडि गएको बताउनु भयो । योगदान कर्ताको मोबाइलमा घण्टी बज्ने गरेर अकाउण्टमा पैसा जाने प्रणालीको विकास गरेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषबाट हुने जुनसुकै कार्यक्रमले पनि नेपालको गरिबी निवारणमा सहयोग गर्ने र संविधानले प्रत्येक नागरिकलाई दिएको सामाजिक सुरक्षाको हकलाई सावित गर्ने दाबी गर्नुभयो ।
नेपालमा सामाजिक सुरक्षा कोषमा करिव २ लाख ५० हजार योगदान कर्ताहरु आवद्ध रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा कोषमा जोडिन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?