किसानको शेडमा व्यापारीको रजाइँ

हिमालय टाइम्स
Read Time = 6 mins

-सञ्जीवकुमार मिश्रा

बारा । लामो समयदेखि कोरोनाले थलिएको अर्थतन्त्र अहिले बल्लतल्ल जुर्मुराउन सुरु गरेको छ । त्यसमा पनि कृषिमा लागेका किसानहरूले समयमै बिउबिजन, मलखाद्य नपाएर जेनतेन निकै मिहिनेत गरी उब्जाएको सामग्रीसमेत बिक्रीवितरण गर्न ठाउँ नपाउँदा दुखित बनेका छन् । उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, त्यसमाथि किसानले पाएको शेडमा व्यापारीहरूको कब्जा बढेपछि व्यापारीहरूको मनोमानीले कृषकहरू आहत भएका छन् ।

किसानले निकै मिहिनेत गरेर फलाएको तरकारी बेचेर केही कमाउने सोचका साथ कलैया उपमहानगपरपालिका–१ स्थित कलैया बजारमा किसानहरूका लागि बनाइएको शेडमा बेच्न ल्याउँदा व्यापारीहरूले शेड नै कब्जा गरी आफूहरूलाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका–११ का किसान रामएकवालप्रसाद कुशवाहाले गुनासो गर्नुभयो ।

‘हामी किसानहरूले किसानहरूको घर–घरमा पुगी चन्दा संकलन गरी शेड निर्माण ग¥यौँ,’ कुशवाहाले भन्नुभयो, ‘शेड निर्माणका लागि हरेक किसानले दुई हजारदेखि १० हजारसम्म चन्दा दिएका छौँ । त्यही चन्दाबाट किसानहरूका लागि शेड निर्माण भयो । तर, शेडमा व्यापारीहरूको रजाइँ बढेको छ । व्यापारीहरूले आफ्नो सामानको रक्षाका लागि बनाएको बासको टाटी, साइकल, तरकारीका बोराहरू राखी किसानहरूका लागि बनाइएको शेडमा राखेर कब्जा गरेका छन् । किसानहरूका लागि बनेको शेडमा तीनैतर्फबाट व्यापारीहरूले कब्जा गरेका छन् । एकातिर मात्र हामीले आप्mनो सामान राखी बिक्रीवितरण गर्न पाएका छौँ । दिनहुँजसो शेडका लागि झैझगडा हुने गरेको उहाँले बताउनुभयो ।’

पटक–पटक शेडलाई लिएर हुने गरेको झैझगडाका बारेमा कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभयो । ‘हामी तरकारी लिएर बजार आउँदै ११÷१२ बज्छ,’ कलैया उपमहानगरपालिका–११ का अर्का किसान उमेश रामले भन्नुभयो, ‘हामी आउनुभन्दा अगाडि नै यहाँका व्यापारीहरूले हाम्रो शेड अतिक्रमण गरिसकेका हुन्छन् । उनीहरूलाई आफ्नो सरसामान हटाउन भन्दा झैझगडा गर्न आउँछन् । दिनहुँजसो झैझगडा नभई सामान राख्न र बेच्नसमेत समस्या हुने गरेको छ । सम्बन्धित निकायलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनुवाइ हुँदैन । हामी कहाँ जाने कोसँग गुहार गर्ने ? हाम्रो समस्या कसैले सुन्दैन ।’ उहाँले भन्नुभयो, ‘पटक–पटक उपमहानगरपालिकालाई गुनासो गर्दा एक दिन आएर सबैलाई हटाउँछन् भोलिदेखि फेरि समस्या जस्ताको त्यस्तै हुन्छ, हामीले बाध्य भएर सानै ठाउँमा कोचिएर सामान बेच्नुपरेको छ ।’

खेतबाट टिपेर ल्याएको ताजा तरकारी र बजार भाउभन्दा सस्तो मूल्यमा पाउने भएकाले ग्राहकहरूको भिडभाड बढ्ने गर्दछ । ‘ग्राहकहरूको भिडभाड बढ्दा उभिन सक्ने स्थान हुँदैन,’ कलैया उपमहानगरपालिका–१२ शीतलपुरका किसान श्रीलालप्रसाद कुशवाहाले बताउनुभयो । ‘हाम्रो सामान उनीहरूभन्दा अगाडि बिक्रीवितरण हुने भएकाले समेत उनीहरूलाई डाहा हुने गर्दछ र जसरी पनि बजारबाट हामीलाई धपाउने कोसिसमा बजारका व्यापारीहरू लागिपरेका छन्,’ उहाँले बताउनुभयो ।

दिनहुँजसो हुने झैझगडा र अतिक्रमणबाट छुट्कारा दिलाई शान्त वातावरणमा आ–आफ्नो ठाउँमा बसी व्यापार व्यवसाय सञ्चालन गर्ने, गराउने वातावरण बनाइदिन शम्भुप्रसाद साह कानु, दिनानाथ महतो, जोखु साहलगायतका किसानहरूले सम्बन्धित निकायसँग माग गर्नुभएका छन् ।

बजार व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताउनुभयो । ‘क्रमबद्धरूपमा बजार व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा सरसफाइ, नाला व्यवस्थापनलगायतको प्रक्रिया अगाडि बढाइएको छ र किसानहरूको समस्या चाँडै नै सम्बोधन गरिनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?