नवौँ राष्ट्रिय खेलकुदको कार्यतालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 8 mins

पोखरा । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट गरिनेछ भने २२ खेलको जिल्ला छनोट हुनेछ ।

परिषद्ले पहिलो चरणमा आगामी भदौ ३ गतेदेखि १४ खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनोट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बागलुङमा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो-खो, हक्की, फेन्सिङ, स्विमिङ, साइक्लिङ, महिला हृयान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी छन् ।

यसैगरी अन्य २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता आगामी भदौ ९ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट गर्न तालिका तय गरिएको संयोजक क्षेत्रीले जानकारी दिनुभयो । भदौ १५ गते भव्य कार्यक्रमबीच प्रदेश छनोटलाई ‘स्टेट गेम्स’ का रूपमा ‘ब्रान्डिङ’ गरी अघि बढाइने परिषद्ले जनाएको छ ।

आगामी भदौ १५ गतेदेखि सुरु हुने अन्तिम छनोटमा २२ खेलका लागि तीन हजारभन्दा बढी खेलाडी पोखरा आउनेछन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ । गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् । छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखिने परिषद्ले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । राखेपका अनुसार सहभागी टिमले ३९३ स्वर्ण, सोही संख्यामा रजत पदक र ६०१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेलमा ४०७ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता दिइने भएको छ । प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरिएको छ । प्रदेश तथा विभागीय टिमहरूले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने र प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ ।

प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार दिइनेछ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गराइने राखेपले निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो-खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइने जनाएको छ ।
नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहनुभएका राखेप सदस्य-सचिव टंकलाल घिसिङले जानकारी गराउनुभयो । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ-आफ्नो जिम्मेवारी सुम्पिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले ३६ खेलमा सहभागी हुने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेल संख्याको टुंगोे लगाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय खेलकुदका सबै खेल स्पर्धामा सहभागी हुने निर्णय गरेको हो । यसअघि कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?