राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी भएको छ । आज बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

आज गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । उक्त प्रस्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो ।

नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद् सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?