एमालेविरुद्ध बनेको सत्ता गठबन्धन देशद्रोही हो : ओली, कांग्रेस विचारशून्य र उभिनै नसक्ने लुलो भएको टिप्पणी

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिनुभएको छ । देश बनाउने उद्देश्य पूरा हुन नदिन एमालेविरुद्ध अनेकथरि तत्व जोडिएर गठबन्धन बनेको उहाँको टिप्पणी छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धन देशद्रोही भएको आरोप लगाउनुभएको हो ।

‘देश बनाउने उद्देश्य पूरा हुन नदिन एमालेविरुद्ध अनेकथरि तत्व जोडिएका जोडियै छन् । यो जोडाइ गठबन्धन रे, कस्तो नराम्रो नाम,’ ओलीले भन्नुभयो, ‘नेपालमा भएको गठबन्धन देशद्रोही गठबन्धन हो, एमसिसीलाई पत्र लेख्छ, अनि ढाँट्छ । लाज शरम नभएका ।’ ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै सपनामा भेटेको व्यक्तिलाई फलानोसँग भेटेँ भन्दै हिँडेको टिप्पणी गर्नुभयो । ‘फलानोसँग भेटँे, पछि सपनामा भेटेको थिएँ । सपनामा दोस्ती होला, सपनामा त कस्तो कस्तो देखिन्छ,’ ओलीले टिप्पणी गर्नुभयो ।

ओलीले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी बनेको आरोप पनि लगाउनुभयो । ‘माओवादी कुनै पार्टी हो र ? प्रचण्ड एण्ड कम्पनी हो, माओवादीले पार्टीको रूप लिएको छैन,’ ओलीले भन्नुभयो । उहाँले माओवादीको सम्बन्धमा केही टिप्पणी नभएको बताउनुभयो । ‘जाँड खाएर मरेकाको शालिक बनेको छ, जनयुद्ध लडेका कसैको बनेको छ ? अरूका छोराछोरीको बनेको छ ?’ ओलीले भन्नुभयो ।

ओलीले नेपाली कांग्रेस विचारशून्य र उभिनै नसक्ने लुलो भएको टिप्पणी गर्नुभयो । कुनै बेलाको प्रजातान्त्रिक पार्टी अहिले प्रचण्डको कार्यकर्ता जस्तो भएको उहाँले आरोप लगाउनुभयो । ‘मैले कांग्रेस लुलो भयो, ढोडको भए पनि लौरो टेक्नुपर्ने भयो भन्दा म बिमारी भएर अस्पतालबाट बाहिर निस्कँदै गर्दा सहयोगीले समातेको फोटो बाहिर ल्याए,’ ओलीले भन्नुभयो, ‘कांग्रेस लुलो भयो भनेको, शेरबहादुर बुढो भएको कुरा गरेको हो र ?’ ओलीले कांग्रेसजस्तो पार्टी माओवादीको पुच्छर बनेको देख्दा आफूलाई आश्चर्य लागेको बताउनुभयो । ‘म अस्पताल हुँदा अक्सिजन लिएको बेलाको फोटो छापेर कांग्रेस बलियो छ भन्ने प्रमाणित हुन्छ ?’ ओलीले भन्नुभयो, ‘कांग्रेस लुलो, विचारशून्य छ, कहाँ जाने भन्ने थाहा छैन । कांग्रेस दिशाहीन छ ।’ एमालेले गर्न लागेको राम्रो काम रोक्ने मात्र कांग्रेसको नीति रहेको उहाँले टिप्पणी गर्नुभयो ।

माओवादीसँग एकता गर्न समिति बनाउने नेकपा एसको निर्णय
नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समीति बैठकमा कार्यगत एकता वा पार्टी संयोजन गर्नेबारे छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएका छौँ ।

उम्मेदवारी चयनका लागि कार्यविधि पारित गरेको छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताउनुभएको थियो । त्यस्तै, बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णयसमेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो । भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णयसमेत बैठकले गरेको खतिवडाले जानकारी दिनभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?