राष्ट्रियता : नागरिकको भावना कि नेताको स्वार्थ ?

Read Time = 22 mins

✍️ भुपेन्द्र थापा (माधव)
राजनीतिले हाम्रो बीचमा विचार र सिद्धान्तको लक्ष्मण रेखालाई दुई धु्रवमा विभाजित गरिदिन सक्छ । धर्मले हाम्रा सामू कहिल्यै नाघ्न नसक्ने ठूला–ठूला पर्खालहरू खडा गरिदिन सक्छ । संस्कृतिले हामीलाई झरेको सिसा झैँ टुक्राटुक्रामा खण्डित गरिदिन सक्छ । तर, राष्ट्रप्रतिको मायाले हामी सबैलाई एकताको सूत्रमा बाँधिदिन्छ ।

आफ्नो देशप्रतिको प्रेम आमनागरिकको पहिलो धर्म हो । जसको अभिव्यक्ति राष्ट्रियताको भावनामा हुने गर्दछ । संसारमा कुनै पनि धर्म वा वादभन्दा माथि उठेको राष्ट्रियताका अनुयायीहरू अधिक हुन्छन् भन्ने कुराको तथ्य प्रमाणहरू संसारका सामु घाम झैँ छर्लंग छ । किनकि यसमा अन्तरनिहित भावनात्मक, प्रेरणात्मक र संवेगात्मक ऊर्जाले मानिसहरूलाई स्वयं आत्मविसर्जन गर्नसमेत प्रेरित गर्ने गर्दछ । त्यसकारण भन्ने गरिन्छ, मानिसहरूले राजनीति, परिवार धर्म, संस्कृति र दर्शनका सिद्धान्त पनि बदल्न सक्छन् तर आफ्नो राष्ट्रियता बदल्ने विषयमा भने सोच्न पनि सक्दैनन् ।

हाम्रो राष्ट्रियता संकुचित, जातीय सांस्कृतिक राष्ट्रियता होइन जसको कारण कहिलेकाहीँ राष्ट्रभित्र पनि अर्को राष्ट्रको परिकल्पना गर्ने गरिन्छ । हाम्रो नेपाली राष्ट्रियता यस्तो साझा भावनात्मक एकता हो जसमा देशभित्रका भौगोलिक, जातीय र सांस्कृतिक रूपमा विभाजित विविध पेटी नेसनालिज्महरू एउटै नेपाल राष्ट्रको भावनामा एकताबद्ध भएर बसेका हुन्छौँ । त्यसो भनेको आफ्नो माटो हाम्रो धर्म संस्कृतिसँगै साझा स्थापित आफ्नो भौगोलिक अखण्डताप्रतिको गहिरो भावनात्मक आशक्ति पनि हो । राष्ट्रको सारतत्व भनेको के हो ? भने आफ्नो मुलुकभित्र विभिन्न समुदायका आ-आफ्नै भाषा, धर्म र संस्कृतिका प्रवद्र्धनका कुराहरू हुन्छन् तर आफ्नो राष्ट्रियताका निम्ति केही साझा मूल्य मान्यतामा बृहत्तर एकताको खाँचो हुन्छ ।

अहिलेसम्मको नेपाल भारत सीमा जोडिएका १५ जिल्लाका ९ सय ६१ स्थानमा भारतबाट नेपालको भूमिमाथि अतिक्रमण हुँदै आएको छ । हाम्रो भूमिमाथि भारतीय पक्षले झण्डै ६० हजार हेक्टरभन्दा बढी जमिनमाथि कब्जा गरेको छ ।

हामीले राष्ट्रको अभूतपूर्व राष्ट्रिय एकतालाई कालान्तरसम्म पनि प्रदर्शित गरिरहन सक्नुपर्दछ । त्यसले मात्र हामी सबै आमनेपालीको शिर गर्वले उच्च रहिरहनेछ । राजनीतिमा सधैँ सही वा गलतको मात्र कुरा हुँदैन, बरू दक्षिण वा वामका कुराहरू हुन्छन् भन्ने भनाइहरू सुन्न र देख्न सकिन्छ तर सत्तामा असीन भएका शासकहरूका लागि सत्ता एकमात्र स्वार्थ हुनु र विपक्षीहरू रचनात्मक भूमिका खेल्नेभन्दा पनि विरोधमा मात्र रमाउने राजनीतिक कुसंस्कारी प्रवृत्तिका कारण इतिहासदेखि वर्तमानसम्मको राजनीतिक मैदानमा नियमविनाको एउटा सामान्य खेल झैँ भएको छ ।

परिस्थिति यस्तो पनि देख्न सकिन्छ कि उनीहरूका क्षुद्र, अहंकारी स्वार्थहरूका कारण राष्ट्रिय गौरवका सामु गौण हुन पुग्दछ । त्यसले विभिन्न वर्ग, क्षेत्र र समुदायहरूका स्वार्थप्रतिको संकीर्ण निष्ठाको स्थान राष्ट्रिय निष्ठाले व्यहोनुपर्ने हुन्छ । इतिहासदेखि नेपाली गौरव, नेपालको सार्वभौमसत्ता र राष्ट्रको स्वाभिमानमाथि नै खुला आक्रमण हुँदै आएको छ । पछिल्ला उदाहरण लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा हाम्रो स्वाभिमानमाथि छिमेकी मुलुक भारतबाट नांगो आक्रमण भएको छ ।

विगतमा पनि जनताका शासकहरूबाट भारतीय पक्षसँग भएका सन्धि सम्झौताहरू २०११ वैशाख १२ मा कोशी सम्झौता, २०१६ मंसिर १९ मा गण्डक सम्झौता २०५२ साल माघ २९ गते महाकाली सम्झौता, २०६८ साल कात्तिक ४ गते विप्पा सम्झौता र २०७१ साल मंसिर ४ गते अरुण तेस्रो सम्झौतालगायत त्यसभन्दा अगाडिका विभिन्न असमान सन्धिदेखि विभिन्न राष्ट्रघाती सम्झौताहरू १८१६ मा ब्रिट्शि इष्ट इण्डिया कम्पनीले काठमाडांैमा आक्रमणको हल्ला फैलाएर नेपालको तर्फबाट पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई ब्रिटिश शिविरमै जबरजस्ती बोलाएर १८१६ मार्च ४ मा इष्ट-इण्डिया कम्पनीका प्रतिनिधि प्यारिस ब्राड्स दुई पक्षबीच सुगौली सन्धिमा हस्ताक्षर भयो ।

त्यो नेपालीका लागि आजसम्मकै सबैभन्दा राष्ट्रिघातीसँगै राष्ट्रले ठूलो क्षति ब्यहोनु परेको घटना थियो जसले गर्दा नेपालले एकतिहाइ भूभाग गुमाउनु पर्‍यो । त्यसपछि नेपाल र राणाशासकहरू कमजोर भएको बेला भारतले मौकाको फाइदा उठाउँदै सन् १९५० मा आएर राष्ट्रियतामाथि फेरि प्रहार गर्‍यो । शान्ति तथा मैत्री सन्धिको नाममा नेपालको अहित, असान्दर्भिक र असमान हुनेगरी अर्को राष्ट्रघाती सम्झौता गर्न नेपाललाई बाध्य पार्‍यो । अहिलेसम्मको नेपाल-भारत सीमा जोडिएका १५ जिल्लाका ९ सय ६१ स्थानमा भारतबाट नेपालको भूमिमाथि अतिक्रमण हुँदै आएको छ । हाम्रो भूमिमाथि भारतीय पक्षले झण्डै ६० हजार हेक्टरभन्दा बढी जमिनमाथि कब्जा गरेको छ ।

१९५० को असमान सन्धिदेखि यता भारतीय शासकको विभिन्न हाम्रा नदीनालामाथिको कुदृष्टि आमनेपालीका सामु प्रष्टै छ । यस्तो हुनुमा मुख्यतः हाम्रा अवसरवादी दलाल नोकरशाही शासकहरूको हँदैसम्मको बेइमानी हो भनेर बुझ्न त्यति गाह्रो नपर्ला । विस्तारवादीले आफ्नो शक्तिको ताण्डव नाच देखाउँदै आफ्ना कार्यनीतिक र रणनीतिक स्वार्थहरू पूरा गर्दै आएका उदाहरणहरू आमनेपाली जनसमुदायमा स्पष्टै छ । भारतले हाम्रो स्वाधीनता, अखण्डता र स्वाभिमानमा राष्ट्रघाती र जनधाति नेताहरूका कारण हामीलाई सधियांैदेखि लुछिरहेको छ । सामान्यतया राष्ट्र भन्नाले जनसमुदायसहितको थलो वा देशलाई बुझ्न सकिन्छ ।

देशभित्र र राजनीतिक आदि विविध उन्नतिसँगै प्रगतिको एउटा आधारशिला नै राष्ट्र हो । राष्ट्रको समुन्नतिमा हरेक व्यक्तिको उन्नतिसँगै प्रगतिको निहित हुने गर्दछ । राज्य भनेको सिमाना र मानिसहरूको एक अंश भएको एउटा राजनीतिक संगठन पनि हो । नेपालको संविधान २०७२ को धारा ४ अनुसार नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न धर्मनिरपेक्ष, समावेशी, समानुपातिकसहित लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । वास्तवमा भन्नुपर्दा राज्य भनेको संविधान, भूगोल, सरकार, जनता अनि अन्तर्राष्ट्रिय पहिचानसहितको समग्र भौतिक स्वरूप हो ।

राष्ट्र भनेको भूगोलमात्र पनि होइन, भावनाको कसीले बाँधिएका जनताहरू हुन् । राष्ट्रियता हाम्रो माटोमात्रै होइन आमनागरिकको सामूहिक विचार हो । कुनै राष्ट्रले आफ्ना नागरिकको राष्ट्रियता जोख्ने र नाप्ने यन्त्र भनेको त्यस देशको नागरिकतामात्र होइन उसभित्रको देशप्रतिको आस्था, विश्वास र आस्तित्वसँग जोडिएको हुनुपर्दछ । राष्ट्रियता एउटा विश्वाससँग गाँसिएका हुन्छ । यहाँसम्म आइपुग्दा सत्ताका कारण राष्ट्रियतामा लुछाचुँडी भएको छ ।

हाम्रो अन्तर्राष्ट्रिय एवं नजिकका छिमेकी मुुलुकहरूले हामीमाथि गरेका व्यवहार अन्तर्राष्ट्रिय मान्यतानुरूप पञ्चशीलका नियमहरू जस्तै : शान्तिपूर्ण सहअस्तित्व, एकआपसका आन्तरिक ममिलामा अहस्तक्षेप एकआपसका क्षेत्रीय अखण्डता, सर्वभौमसत्ताको सम्मान, अनाक्रमण र समानता अनि पारस्परिक लाभजस्ता पञ्चशीलका सिद्धान्तसँग सम्बन्धित नियमहरूले निर्देशित गरेका नीतिहरू के ती छिमेकी राष्ट्र र मित्रशक्ति ठूला राष्ट्रहरूले जिम्मेवारीपूर्वक पालना गरेका छन् त ? ठूला र महाशक्ति राष्ट्रहरूका अगाडि हामी सानो, कमजोर राष्ट्र पनि हुन सक्छौँ । गरिब राष्ट्र हुनसक्छौँ । तर, सार्वभौमसत्ता सम्पन्न मुलुकका हामी स्वाभिमान नागरिक हौँ ।

आजसम्म कोही कसैको गुलाम नभएको स्वतन्त्र देश हो यो हाम्रो पुर्खाले दुःखले आर्जेको मुलुक हो नेपाल । तर, विडम्बना नेपालको राष्ट्रियता नेपालीको भावनामा भन्दा नेताहरूको स्वार्थमा निहित हुनपुग्यो । राष्ट्रको अस्मिता र स्वाधीनता विदेशी प्रभुहरूको जुवाको खालमा राष्ट्रियतालाई च्याखे थापेर आफ्नो निजी स्वार्थ र सत्ता सिंहासनको लालचले जनताको सार्वभौमसत्तामाथि नै भावनात्मक प्रहार गर्ने दक्षिण वा वामका समर्थकहरूका विरुद्ध राष्ट्रियताको भावले ओतप्रोत भएका आमशोसित पीडित देशभक्त नेपालीहरू एकजुट भएर तिनको जालझेल षड्यन्त्रको चिरफार गरी जनताको अदालतबाट दण्डित गर्न सक्नुपर्दछ ।

आजसम्म नेपाल आमाले संसारकै उच्च शिर भएको सगरमाथा झैँ अटल र स्वाभिमान अनि शान्तिका अग्रदूत गौतम बुद्धका अनुयायी जस्ता तराई झैँ फैलिएको भावना भएको सपूत नेतृत्व किन जन्माउन सकिनन् ? देशले नेता जन्माउँदा नेताको चरम सत्तामोहले साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको गिद्धे नजर नेपाली भूमिमाथि पर्न गएको छ । २००७ सालको गोर्खा भर्ती केन्द्रदेखि भारतसँग गरेका अनगिन्ती असमान सन्धि हुँदै विभिन्न खाले सम्झौताले भारतलाई फाइदा पुर्‍याउने, जनतामाथि शासन गरिरहने, कोशी, गण्डक, माहाकालीलगायत सन्धि सम्झौताले देश र जनताको हितमा भन्दा भारतीय शासकको पाउमा भेटीको रूपमा चढाउने काम हुँदै आएको छ ।

दश वर्षे सशस्त्र युद्ध जनआन्दोलन मदेस आन्दोलनसँगै राष्ट्रवादी जनसंघर्ष जनताको बलमा निहित थियो तर नेपाल-भारत सात राजनीतिक दल विद्रोही शक्ति माओवादीसँगको १२ बुँदे विस्तृत शान्ति सम्झौता र विप्पा सम्झौतासम्म आइपुग्दा पनि देशको भलाइ हुन सकेन । क्रान्तिकारिता, सशस्त्र युद्ध, माओवाद र प्रचण्ड पनि प्रष्टै चिनिए । यता एमसिसी परित भएसँगै विकास र समृद्धिका लागि डलरको भारी बोकेर आएको सैन्य रणनीतिसँग सम्बन्धित एसपिपी निल्दा मृत्यु हुने, ओकल्दा अन्धो हुने दबापूर्ण अमेरिकी साहयता भित्रिनुमा नेपालका मुख्य पार्टीका शीर्षस्थ नेताहरू नै जिम्मेवार छन् ।

अमेरिकी नीतिअन्तर्गत दक्षिण एसियामा हाम्रो जस्तो सानो देशहरूलाई अल्मल्याउने लोभलालचको पोको देखाएर भारतसँग मिलेर चीनलाई घेर्ने राणनीति अन्तर्गत दक्षिण एशियासँगै नेपालमा अमेरिकी चासो तीव्र बढेर गएको छ । छिमेकी मुलुक र शक्ति राष्ट्रहरूको देखिएको अस्वाभाविक चलखेलले नेपालका परम्परागत पार्टी र तिनका नेताहरूप्रति शखा बढेर गएको छ । छिमेकी मुलुक र शक्ति राष्ट्रहरूको देखिएको अस्वाभाविक चलखेलले नेपालका परम्परागत पार्टी र तिनका नेताहरूप्रति आमजनमानसमा शंका अनि अविश्वास हृवात्तै मौलाएको छ ।

अवसरवादी चिन्तनबाट ग्रसित निजी स्वार्थले नोकशाही, पुँजीवादी दलालहरू हिजोभन्दा आज साम्राज्यवादी शक्तिको भरणपोषणका कारण रसिलो, पोषिलो र मजबुद हुँदै आएको छ । अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विदेश नीतिमा आफ्नो राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत र सत्तानिहित स्वार्थहरूको हानथाप छताछुल्ल हुने गरी शृंखलाबद्ध रूपमा अघि बढ्दो छ । यसले नेताहरूमा एकपछि अर्को निजी स्वार्थहरू पूरा गर्ने होडाबाजी नै चलेको छ । नेपालको कार्यकारी प्रमुखसम्म भएका राष्ट्रको नेतृत्व अझै गर्छु भन्नेहरूको भाषा र व्यवहार हेर्दा टिठ लाग्दो छ ।

प्रजातन्त्रका लागि लडेका जेल, नेल यातना भोगका नेताको भाषा कस्तो हुनु पर्दछ ? भाषामै सहिष्णुता छैन । व्यवहारमा इमानदारीता छैन । राष्ट्र र जनताप्रति प्रेम सद्भाव पटक्कै देखिँदैन । यसको अर्थ हृदय पनि ठूलो छैन । यति सानो चित्त भएको अंहकारी व्यक्तिहरूले देशको संविधान र जनताको भावना बुझेर कसरी राजनीतिक र कूटनीतिक व्यवहार गर्न सक्लान् ? नेपालका मुख्य नेताहरूको व्यवहार हेर्दा लाग्छ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र सामावेशी उनीहरूले जनतालाई दया माया गरेर उपहार स्वरूप दिएका हुन् । जबकि यो व्यवस्था जनताको रगत पसिना र बलिदानबाट मात्र सम्भव भएको हो ।

दश वर्षे सशस्त्र युद्ध, जनआन्दोलन, मदेस आन्दोलनसँगै राष्ट्रवादी जनसंघर्ष जनताको बलमा निहित थियो तर नेपाल-भारत सात राजनीतिक दल विद्रोही शक्ति माओवादीसँगको १२ बुँदे विस्तृत शान्ति सम्झौता र विप्पा सम्झौतासम्म आइपुग्दा पनि देशको भलाइ हुन सकेन ।

नेताका स्वार्थअनुकूल र नेपाली जनताको भावनाविपरीत भएका अनेकौं अन्तर्राष्ट्रिय सन्धि सम्झौता आज देशलाई गलपासो झैँ भएका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै सन् २०१७ मा अमेरिकी प्रशासनले हिन्द प्रशान्त क्षेत्रका ३६ वटा राष्ट्रकेन्द्रित सैन्य रणनीति सार्वजनिक गर्‍यो । त्यसका लागि दक्षिण एसियाको केन्द्रीय राजधानी भारतलाई बनाउन खोजेको देखिन्छ । उसले खासगरी चीनसँगको व्यापार युद्धसँगै बढ्दो प्रतिस्पर्धाका कारण हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी पकड मजबुत बनाउने रणनीति अख्तियार गरेको देखिन्छ । सिंगो संसारको एक तिहाइ व्यापार यसै क्षेत्रबाट हुने गर्दछ ।

नेपालमा अमेरिकी इन्डोप्यासिफिक रणनीति (आइपिएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) को एजेण्डाले नेपालको राजनीतिक वृत्तमा ठूलै भूकम्प ल्यायो । मिलिनियम च्यालेज कर्पोरेसन (एमसिसी) लामो विवाद र रस्साकस्सीपछि संसदबाट विभिन्न राजनीतिक दल, समूह, बौद्धिक समाज, परराष्ट्रविद्हरू, विभिन्न संघसंस्थालगायत विरोधका बाबजुद पनि संसदबाट पास गरेरै छाडे (एमसिसी) को विवाद सेलाउन पाउँदा नपाउँदै (एसपिपी) सम्झौता बारेमा विवादहरू सतहमा आयो ।

यसले नेपालका राजनीतिक पार्टीका नेताहरूप्रति अर्को अविश्वास थप गरेको छ । नेताहरूको राष्ट्रियताप्रतिको रूपभित्रको रंग र चित्रभित्रको असली चरित्र उदांग भएको छ । नेता भनेको वास्तवमै राष्ट्रियताको पक्षमा लड्ने र जनताको सार्वभौमिकताको रक्षा गर्ने सेनापति झैँ हुनुपर्दछ । लाजमर्दो कुरा हाम्रा नेताहरू कतै विदेश भ्रमण जाँदा होस् वा विदेशी दूतहरू नेपाल आउँदा नेता र विदेशीबीचको भेटघाटले हामी सबैलाई झस्काउने गर्दछ ।

विश्वलाई नै शान्तिको सन्देश फिजाउने गौतम बुद्धको देशमा युद्ध रणभूमि बनाउने र त्यस्तो कार्यको मतियार हुने हाम्रा राजनीतिक पार्टीका नेताहरूलाई खबरदारी गरौँको संसारको महाशक्ति राष्ट्र बन्ने भन्ने लडाइँमा केही नेताका स्वार्थका कारण अटल भई उभिएको सगरमाथाको शिर झुकाउने र विदेशी शक्तिकेन्द्रहरूको क्रीडास्थल बनाउने कार्य हुँदैछ । समयमै सचेत नभए इतिहासका पानाहरूबाट हाम्रो भूगोल च्यातिने खतरा प्रबल छ । देश रहे हामी हुनेछौँ नत्र हाम्रो भन्ने केही हुनेछैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?