भोजपुरमा बालबालिकाहरुका लागि कोरोना विरुद्धको फाइजर खोप लगाईदै

Read Time = 4 mins

-निरोज कोइराला
भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा बालबालिकाहरुका लागि कोरोना बिरुद्धको फाइजर खोप अभियान संचालन हुने भएको छ । ५ देखि १२ बर्ष उमेर समुहका बालबालिकाहरुलाई लक्षित गरेर भाद्र ५ गतेबाट जिल्लामा खोप अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

फाइजर खोप अभियान अन्तर्गत आगामी भाद्र ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ सम्म दोश्रो मात्रा जिल्लाभर लगाइने सुचना अधिकारी बुढाथोकीको भनाई रहेको छ । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ स्थानीय तह छन । जसमा ३ सय ७१ वटा खोप केन्द्र निर्धारण गरिएको छ भने ३ सय ९८ जना खोप दिने स्वास्थ्यकर्मी परिचालन हुने छन् ।

खोप अभियानका लागि बिद्यालयका २२ हजार ३२ जना र बिद्यालय बाहिरका ८ सय ९६ गरी कुल २२ हजार ९ सयि २८ जना बालबालिकाहरुलाई कोरोना बिरुद्धको फाइजर खोप लगाउने लक्ष कार्यालयले राखेको सुचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म पीसीआर परीक्षणबाट सङ्क्रमण पुष्टि भएका मानिसहरू मध्ये २.२८ प्रतिशत १० वर्षभन्दा कम उमेरका बालबालिकाहरु रहेका छन । नेपालमा यो खोप पहिलो चरणमा २७ वटा जिल्ला र दोस्रो चरणमा ५० वटा जिल्लामा विद्यालयहरू मार्फत् बालबालिकालाई दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो मात्रा लगाएको २१ दिन पछि बालबालिकाहरुलाई दोस्रो मात्रा दिन सकिने र दोस्रो मात्रा लगाएको कम्तीमा ५ महिना पछि बुस्टर डोज दिन सकिने मन्त्रालयले जनाएको छ ।
यता जिल्लामा कोरोना संक्रमितको संख्या समेत दैनिक बढदै जान थालेको छ । बिहिवारसम्मको तथ्यांक अनुसार भोजपुरमा कोरोना संक्रमितको संख्या १ सय ३१ जना पुगेको छ । जसमा टेम्मेमैयुङ गाउँपालिकामा मात्र १ सय ७ जना संक्रमित छन् ।

तथ्यांक अनुसार भोजपुर नगरपालिकामा ३ जना, आमचोक गाउँपालिका ३ जना, हतुवागढी गाउँपालिका १२ जना, रामप्रसाद राई गाउँपालिका ५ जना र पौवादुङमा गाउँपालिकाका १ जना कोरोना संक्रमित भेटिएका छन् । भोजपुरमा अहिलेसम्म १ लाख ७ हजार ५ सय ७८ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाई सकेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?