खस भाषाको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि सिंजामा हाटबजार

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले जुम्ली खस भाषाको संरक्षण र पर्यटन प्रवद्र्धन विकासका लागि नरोकाटमा हाटबजारको आयोजना गरेको छ । सिंजा सभ्यताको कला संस्कृतिलाई प्रचारप्रसार गर्ने र सिंजामा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्नका लागि हाटबजारको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले गएको साउन १ गतेबाट ‘हाट’ बजार सुरु गरेको छ । भदौ १ गते दोस्रो हाटबजार हो ।

आउने महिनाको हाट बजार केही फरक भएर जाने छ । खस भाषाको संरक्षण, पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिलाई चलायमान गराउन हाटबजार महत्वपूर्ण बन्दै गएको छ ।’ सिंजाको संस्कृतिको जगेर्ना तथा यहाँका किसानले उत्पादन गरेका विभिन्न अर्गानिक कृषि सामग्री र यहाँका राडिपाखीलाई बजारीकरण गर्न ‘हाट’बजार परम्परालाई थालनी गरेको अध्यक्ष धिताले जानकारी दिनुभयो ।

जुम्ला राज्यमाथि आक्रमण गरी गोर्खालीहरूले आफ्नो कब्जामा लिएपछिको २३३ वर्षपछि सिंजा गाउँपालिकाले पुन ‘हाट’ बजारको सञ्चालनमा ल्याएको छ । सिंजालगायत यहाँका स्थानीय तहको ऐतिहासिक र अर्थतन्त्रमा सघाउने दीर्घकालीन बजार विकास कार्यको लागि स्थानीय सरकार लागि परेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

सिंजाको इतिहासलाई हेर्दा तत्कालीन सिंजा खस राज्यबाट नै ‘हाट’बजार खोलिएपछि गढवाल, पिथौरागढ, कञ्चनपुर पारि जोल्जोली, गोलाघाटमा पनि हाट बजारको सामान किनबेच हुने गरेको इतिहास सम्बन्धित जानकारहरू बताउँछन् । हाट बजारमा ग्रामीण उत्पादनकै बाहुल्य र हस्ताकलाका विभिन्न माटोका भाँडाकुडामा सामान पनि राखिने भएकाले जिल्लाका अरू स्थानीय तहलाई हेर्न र अवलोकलन गर्ने जिल्लावासीलाई सिंजा गाउँपालिकाले अनुरोध पनि गरेको छ ।

कृषि बजारको व्यवस्थालाई पनि सुधार ल्याउनका लागि हाट बजारको थालनी भएकोमा सिंजाका स्थानीयमा खुसियाली छाएको यहाँका स्थानीयवासिन्दा बताउँछन् । हाटबजारको चलनबारे पुराना साहित्यहरूमा विभिन्न चर्चा परिचर्चा गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?