पोखरीमा डुबेर एक वर्षमा २४ जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

सप्तरी । पोखरीमा डुबेर सप्तरीमा गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चारजनाको मृत्यु भइसेकेको छ । पोखरीमा डुबेरै राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो । यसैगरी, उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुवातमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दो छ । मृत्यु हुनेमा बालबालिकाको संख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो । नयाँ आर्थिक वर्षको सुरुवातमै चार जनाको मृत्युले यो संख्या बढ्ने अनुमान गरिएको छ ।

तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डुबेरै मृत्यु हुनेको संख्या अधिक रहेको छ । तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । जसमा सात बालक र ६ जना बालिका त पाँच वर्ष मुनिका छन् । यसैगरी, १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।

तराई-मधेशमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेरसमेत मृत्यु हुने गरेको छ । यो तीन वर्षको अवधिमा २६ को पोखरीमा, १० को खाल्डोमा, सातको खोलामा, १० को नहरमा र चारजनाको नदीमा डुबेर मृत्यु भएको थियो ।

गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेकोे संख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो । डुबेर बालबालिकाको बढी मृत्यु हुनामा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ । प्रहरी नायव उपरीक्षक काफ्लेले अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा घटना वृद्धि भएको बताउनुभयो । ‘अभिभावक काममा जाँदा बालबालिकालाई घरमा छाडेर जानुपर्ने, बालबालिकालाई गाईवस्तु चराउन वा घाँस काट्न पठाउनुपर्ने हुन्छ,’ विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका यदुनन्दन यादव भन्नुहुन्छ, ‘ग्रामीण बस्तीमा खानेपानी र नुहाउन पोखरीकै भर पर्नुपर्ने हुन्छ यसले गर्दा दुर्घटना बढेको हो ।’

प्रहरीका अनुसार यसअघि छठपर्वमा ४२० वटा छठघाट रहेको पोखरी, नदी तथा नहरमा प्रहरीले सुरक्षा दिएको थियो । प्रहरी नायव उपरीक्षक काफ्लेले भन्नुभयो, ‘गाउँबस्तीमा पर्याप्त पोखरी भएकामा तीनमा घेराबार वा कतिपय पोखरीमा डिलसमेत नहुनाले बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ । अभिभावकले बालबालिका कता छन्, के गर्दैछन् भनेर पर्याप्त ध्यान दिनुपर्छ ।’

सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष हितनारायणलाल दासले बालबालिकालाई पोखरी, नहर, कुलोजस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिने, पोखरीमा नुहाउनै परे ठूला मानिसको रेखदेखमा नुहाउन लगाउनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ ।

जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पु¥याउन र निगरानी गर्न आग्रह गरेको छ । ‘तराई–मधेसमा नदी, पोखरी मानिसको दैनिक जीवनसँग जोडिएको छ ।’ हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी किनारका भूपदेव मालीले भन्नुभयो, ‘आयस्रोतको समेत प्रमुख आधार भएको नदी तथा पोखरीमा ज्यान जानेक्रम बढेकाले यसको व्यवस्थापनमा राज्यले नै अग्रसर भई सुरक्षित बनाउनुपर्छ ।’

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?