एन्फालाई प्रशिक्षक अलमुताइरीको जवाफ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई जवाफी पत्र पठाउनुभएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत् जवाफी पत्र पठाउनुभएको हो ।

एन्फाले गत साउन अन्तिम साता छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको थियो । गत वैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उक्त विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्टअनुसार मुख्य प्रशिक्षकलाई समेत दोषी देखाइएको थियो ।

अलमुताइरीले जवाफ पठाएको जानकारी दिँदै एन्फा महासचिव किरण राईले सोचेजस्तो जवाफ नआएको बताउनुभएको छ । उहाँका अनुसार अलमुताइरीले छानबिन समितिको वैधतामाथि नै प्रश्न गर्नुभएको छ । समिति कानुनसम्मत नभएको जिकिरसमेत अलमुताइरीको छ । ‘हामी पत्रको जवाफको अध्ययन गरिरहेका छौँ । अध्ययनपछि यस विषयमा छलफल गर्नेछौँ,’ महासचिव राईले भन्नुभयो । एन्फाले साउन २४ गते अलमुताइरीलाई पत्र लेखेको थियो । अलमुताइरीका बारेमा कुनै निर्णय नगरी एन्फाको साउन २६ गते बसेको कार्यसमितिको दोस्रो बैठकले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक तोकेको थियो ।

छुट्टीमा रहनुभएका अलमुताइरी हाल कतारमा रहनुभएको छ । एन्फाले उहाँको अनुपस्थितिमा प्रदिप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबार (आज) बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार बन्द प्रशिक्षणका लागि खेलाडीहरूलाई औपचारिकरूपमा जानकारी पठाइसकिएको छ ।

दशरथ रङ्गशालामा असोज ११ गते नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण खेल हुनेछ । उक्त खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएका प्रदिप हुमागार्इं पनि अमेरिकाबाट स्वदेश आइपुग्नुभएको छ । उहाँलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले स्वागत गर्नुभएको थियो ।

हुमागाईंको सिफारिसमा एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो । छनोटमा युवा र अनुभवी खेलाडीलाई समेटिएको छ । राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाइएका ४० खेलाडीमा गोलरक्षक किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठ, डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ र राजन गुरुङ रहनुभएको छ ।

मिडफिल्डरमा सन्जोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरजज्यु ठकुरी, सुभास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट तथा फरवार्डमा विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागार्इं, अभिषेक रिजाल र भरत खवास हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?