चीनमा अत्याधिक तापक्रम वृद्धिका कारण ऊर्जा संकट, ‘कृत्रिम वर्षाबाट समाधान खोज्ने प्रयास’

हिमालय टाइम्स
Read Time = 3 mins

बेजिङ । अत्याधिक तापक्रम वृद्धिको चपेटामा परेको चीनले औद्योगिक प्रान्त सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ । प्रान्तीय सरकारले ऊर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न आदेश दिएको हो । सिछुआनमा एप्पल, फक्सकोन र इन्टेललगायत विश्व प्रसिद्ध कम्पनीका कारखाना रहेका छन् । सोही प्रान्तका उद्योगहरू बन्द हुँदा विश्व बजारमा विद्युतीय सामग्रीको अभाव हुनसक्ने आशंका गरिएको छ ।

यता दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले लोडसेडिङको सामना गरेका छन् । गर्मीको लहरले बिजुली आपूर्तिमा संकट भएसँगै लाखौं मानिसले लोडसेडिङ सामना गर्न बाध्य भएका हुन् । हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ ।

विगत ६० वर्षमा सबैभन्दा बढी तापक्रम वृद्धिको चपेटामा परेको चीनका दर्जनौं शहरमा अहिले तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । जसका कारण जनजीवन कष्टकर बनेको छ भने ऊर्जा संकट पनि बढेको छ । सिचुआनका साथै, चियाङ्सु, आन्हुई र चचियाङ प्रान्तमा ऊर्जा संकट देखिएको छ । केही प्रान्तीय सरकारहरूले सडकमा बत्ती नबाल्नसमेत आदेश जारी गरेका छन् ।

यसैबीच चीनमा कृत्रिम वर्षा गराउने प्रयास गरिको छ । देशको मध्ये तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरूले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड रडहरू विष्फोट गराएका थिए । आकाशमा देखिएका बादलभित्र विष्फोट गराएर त्यसबाट वर्षा गराउने प्रयास गरिएको हो । यद्यपि त्यसको परिणाम भने सन्तोषजनक नभएको चिनियाँ अधिकारीले जनाएका छन् ।

खडेरीले चीनको सबैभन्दा लामो याङ्चे नदीमा पानीको सतह अहिलेसम्मकै कम देखिएको छ भने ताल तलैयाहरूमा पानी आधाभन्दा कम भएको छ । जसका कारण खानेपानीका मूलहरू सुकेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?