फ्राइडे रिलिज : आजबाट तीन नेपाली चलचित्र एकसाथ रिलिज

Read Time = 5 mins

काठमाडौं । कोरोना कहर सकिएलगत्तै नेपाली चलचित्र क्षेत्रलाई उठाउन निर्माता तथा निर्देशक कम्मर कसेर लागेका थिए । चलचित्र निर्माण गर्ने कि नगर्ने भन्ने अन्योलमा धेरै निर्माता थिए । हलसम्म दर्शक आउँछन् भन्ने पूर्णतया ढुक्क नहुँदा डरका बीच पनि कतिपय निर्माताले चलचित्र छायांकन गरिरहे । त्यो समयमा धेरै समय हलहरु रित्तो थिए ।

तर अहिलेको माहोल फरक भइसकेको छ । अहिले नेपाली चलचित्र हलहरु खाली बस्नुपरेको छैन । विदेशीसँगै नेपाली चलचित्रको पनि लाइन छ । विशेषगरी कोरोना कहरको समयमा थुप्रिएका चलचित्र अहिले लाइनबद्ध तरिकाले प्रदर्शन भइरहेका छन् । कतिपयले चलचित्रको लगानी उठाउन सफल भएका छन् त कतिपयलाई पोष्टरको पैसा उठाउन पनि मुस्किल परेको छ ।

यसैबीच आज शुक्रबारबाट तीनवटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । साथमा अर्को एक विदेशी चलचित्र पनि प्रदर्शनमा आएको छ । नेपाली चलचित्र ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ प्रदर्शनमा आएका छन् । ‘माइकल अधिकारी’लाई बिहीबार साँझसम्म क्युएफएक्स चेनले अग्रिम बुकिङका लागि २२ शो उपलब्ध गराएको थियो । यस्तै ‘कृष्ण लीला’लाई १४ शो दिइएको छ । यस्तै ‘प्रेमगञ्ज’लाई १२ शो मात्र दिइएको छ ।

रिलिजको अघिसम्म यी तीनै चलचित्रले दर्शक तथा विभिन्न चलचित्रकर्मीले विभिन्न ढंगबाट टीकाटिप्पणी गरिरहेका छन् । चलचित्र ‘कृष्ण लीला’को टिमले काठमाडौंबाहिर केही ठाउँमा पुगेर कन्सर्ट पनि गरेको थियो । काठमाडौंबाहिरका दर्शक तान्न कलाकार तथा निर्माण टिम नै मोफसलमा निस्किएको थियो ।

यस्तै चलचित्रका नायक पुष्प खड्काले अर्को बोल्ड निर्णय पनि लिनुभएको छ । उहाँले बिहीबार चलचित्र ‘कृष्ण लीला’ नचलेको खण्डमा पारिश्रमिक फिर्ता गर्ने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘चलचित्र चल्दामात्रै होइन नचल्दा पनि कलाकारको केही न केही दायित्व हुनुपर्छ । मेकरमात्र मर्कामा पर्दा समस्या हुन्छ । यसैले, यो चलचित्र चलेन भने पारिश्रमिक फिर्ता गर्ने घोषणा गरेको हुँ ।’ तर नायक पुष्पले पारिश्रमिक फिर्ता गर्ने अवस्था नआउने बताउनुभएको छ ।

दीपक वलीको निर्देशनमा तयार यो चलचित्रमा पुष्पको साथमा श्रद्धा क्षेत्री मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्र प्रेमकथामा आधारित छ । यस्तै चलचित्र ‘प्रेमगञ्ज’ र ‘माइकल अधिकारी’ले भने प्रदर्शनअघि प्रिमियर शो गरेका छन् । जुन शोमा विभिन्न चलचित्रकर्मी, सञ्चारकर्मी तथा राजनीतिज्ञहरुको पनि उपस्थिति थियो । विशेषगरी चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर शोमा राजनीतिज्ञ राजेन्द्र लिङ्गदेनदेखि रवि लामिछानेले चलचित्र हेर्नुभएको थियो ।

चलचित्र हेरिसकेपछि चलचित्र उत्कृष्ट रहेको भन्दै सबैलाई चलचित्र हेर्न उहाँहरुले आग्रह गर्नुभएको थियो । चलचित्र ‘प्रेमगञ्ज’ले पनि राम्रो प्रतिक्रिया पाएको छ । प्रिमियरमा उपस्थित चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएसँगै यो चलचित्रको निर्माण टिम खुशी देखिन्छ । चलचित्र ‘माइकल अधिकारी’का प्रस्तुतकर्ता उद्धव पौडेल हुनुहुन्छ भने चलचित्रमा सृष्टि श्रेष्ठ र सौगात मल्लले जोडीको भूमिका निर्वाह गर्नुभएको छ । रञ्जित रौनियार निर्देशित चलचित्रले सरोगेसीको विषयवस्तु पेश गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?