सेयर बजारमा सुधार

Read Time = 3 mins

काठमाडौं । साताको सुरुदेखि घटेको सेयर बजारमा बिहीबार भने २७.७२ अंक बढेर २०६८.४२ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४१ अंक बढेर ४००.०८ अंकमा पुगेको छ भने कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन एक अर्ब ४१ करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम ६४ करोडले बढेर दुई अर्ब पाँच करोड नाघेको छ ।

यस दिन दुई सय २० कम्पनीका ५१ लाख एक हजार दुई सय ९० कित्ता सेयर दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ रुपैयाँमा कारोबार भएका हुन् । कारोबारमा आएका १३ मध्ये सबै उपसमूहको सूचक बढेको छ । वित्त समूहको सर्वाधिक तीन प्रतिशत, विकास बैङ्कको २.९२ प्रतिशत, जलविद्युत् र अन्यको दुई प्रतिशतभन्दा बढी, व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी परिसूचक पनि एक प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन चार कम्पनीको बजारमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर, अपरसोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगङ्गा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै हिमालयन हाइड्रोपावरको सेयरमूल्य ८.९३, बलेफी हाइड्रोपावरको ८.३८, मल्टीपर्पस फाइनान्सको ८.३० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैङ्कको ६.६७, सिंगटी हाइड्रोपावरको ५.९२, आँखुखोला जलविद्युत् कम्पनीको ५.५९ प्रतिशतले बढेको छ । तर, एनआइबिएल प्रगति फन्डको इकाई मूल्य ३.८० प्रतिशत, सपोर्ट माइक्रो फाइनान्सको ३.२८ प्रतिशत र प्राइम डिबेन्चर २०८८ को २ प्रतिशत र दोर्दीखोला जलविद्युत् कम्पनी १.९८ र सनराइज ब्लुचिप फन्डको इकाई मूल्य १.९५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?