नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आहृवान

Read Time = 4 mins

काठमाडौं । सरकार तथा निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानुनी एवं प्रक्रियागत सुधार गरेको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको बजेटले प्रत्यक्ष वैदेशिक लगानीको सीमा पाँच करोडबाट घटाएर दुई करोड कायम गरेको, एकद्वार नीति अवलम्बन गरेको जानकारी गराउनुभयो । त्यस्तै नेपालको आर्थिक विकासका लागि नेपालको निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले नेपालमा गरिने लगानीका लागि भारत एवं चीनलगायत प्रमुख बजार रहेको पनि बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताउनुभयो । भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको उहाँको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानी गरेका डाबर नेपाल, युनिलिभर नेपाललगायत कम्पनीले सुरुमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गर्नुभयो । सिमेन्ट, खानी, जलविद्युत्, सूचना प्रविधिलगायतका क्षेत्रमा निकै अवसर रहेको उहाँको भनाइ थियो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक पक्षबारे चर्चा गर्दै पर्यटन, पूर्वाधारका क्षेत्रमा लगानीका लागि उचित वातावरण निर्माण भएको बताउनुभयो ।

उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष ब्रहृमा मिश्राले नेपाल लगानीका लागि उचित गन्तव्य मुलुक भएको स्वीकार गर्दै नेपाल सरकार, नेपालको निजी क्षेत्रले भारतीय लगानीकर्तालाई गरेको सम्मान र स्वागतले ऊर्जा प्रदान गरेको बताउनुभयो ।
सो अवसरमा भारतीय तथा स्वदेशी लगानीकर्ताबीच ऊर्जा, खानी तथा रियलस्टेट, स्टिल, कपडा, कृषि, खाना तथा प्याकेजिङ, सेवा तथा पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिलगायतका क्षेत्रमा बिटुबी छलफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?