पेचिलो बन्दै सिट बाँडफाँट : १६५ सिट : २३० भन्दा बढीको आकांक्षा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट भागबण्डाको विषय पेचिलो बन्दै गएपछि गठबन्धनभित्रै उपगठबन्धनको चर्चा चुलिएको छ ।

गठबन्धनभित्रका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलहरूले दाबी गरेको सिटमा अडान कायम रहँदा गठबन्धनभित्र वामपन्थी उपगठबन्धन बनाउने तयारी थालिएको हो ।

गठबन्धनको ठूलो दल कांग्रेसले १०० सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । यसैगरी, गठबन्धनभित्रको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा नेकपा एकीकृत समाजवादीले पनि ३७ देखि ४० सिटको माग गरिरहेको छ ।

गठबन्धनको अर्को घटक जसपा पनि ३० देखि ३५ सिट पाउनुपर्ने प्रयासमा लागिरहेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिट रहे पनि गठबन्धनका प्रमुख दलले नै २३० भन्दा बढी सिटमा आकांक्षा देखाएका छन् । यसले सत्तारूढ दलभित्रको लेनदेनको विषय सजिलै टुंगिने छाँटकाँट देखिएको छैन ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी वाम गठबन्धनको प्रयासमा जुटेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच सदस्यले यसअघि औपचारिक छलफल पनि चलाएका थिए ।

वाम गठबन्धनका केही समय पहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको थियो ।

छलफल सकारात्मक नै रहे पनि ठोस निष्कर्ष ननिस्केपछि यो विषय केही समय सेलाएको थियो । तर, अहिले सत्तारूढ गठबन्धनभित्र सिट भागबण्डा गर्ने विषयमा समस्या भएपछि गठबन्धनभित्र उपगठबन्धनको चर्चा फेरि चुलिएको छ ।

नेताहरूका अनुसार सत्ता गठबन्धनभित्रै वाम गठबन्धन गर्नुको उद्देश्य हो– नेपाली कांग्रेससँग बढी सिटका लागि बार्गेनिङ गर्ने । एमालेसँगको सहकार्यको विषयमा पनि छलफल भएको थियो । तर, छलफलले एमालेसँग तत्काल एकता र सहकार्य सम्भव नरहेको निष्कर्ष निकालिएको थियो । सत्तारूढ वाम पार्टीका नेताका अनुसार गठबन्धन कायम राख्ने र गठबन्धनभित्रै वामपन्थीहरू मिल्ने कुराकानी भएको छ ।

नेकपा माओवादी केन्द्रले चुनावपछि सरकार निर्माण गर्नका लागि आफ्नो निर्णायक भूमिका रहने गरी रणनीति बनाइरहेको देखिन्छ । त्यसको लागि कांग्रेस र एमालेलाई हाराहारी अवस्थामा ल्याउने र चुनावपछि सरकारको नेतृत्व हत्याउने उसको दाउ रहेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र) लगायतका दलसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरिसकेको छ । पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एकता संयोजन समिति गठन गर्नका लागि स्वीकृत दिने निर्णय गरेको हो । यसअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नै पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसदिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?