६ बर्षपछि अखिल नेपाल महिला संघ सिन्धुलीको सम्मेलन, भोलि उद्घाटन हुँदै

Read Time = 3 mins

-राधिका बुढाथोकी
सिन्धुली । नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीको पाँचौ जिल्ला सम्मेलन सिन्धुलीमाढीमा शनिबार र आइतबार हुने भएको छ । उक्त कुरा संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अखिल नेपाल महिला संघ पाँचौ जिल्ला सम्मेलन प्रचारप्रसार उपसमितिकी संयोजक विमला पाण्डेले सम्मेलन तयारीको काम सबै पूरा भएको बताउनु भयो ।

उहाँका अनुसार २०७३ जेठ २२ र २३ गते सम्पन्न चौथो सम्मेलनपछि विविध कारणले हुन नसकेको सम्मेलन ६ बर्षपछि हुन लागेको हो । महत्वकोसाथ हेरिएको यस सम्मेलनमा जिल्लाभरका ३९५ जना प्रतिनिधि, ३२ जना आयोजक, प्रदेश तथा केन्द्रीय कमिटीमा रहेका सदस्य तथा पदाधिकारीहरु लगाएतको उपस्थिति हुने छ । जहाँबाट नयाँ नेतृत्व समेत चयन गरिने संयोजक पाण्डेले बताउनु भयो ।

‘हरेक वडाका ५ जनाका दरले प्रतिनिधि छनौट गरि सकिएको छ । प्रतिनिधि व्यवस्थापन, कार्यक्रमको व्यवस्थापन, प्रतिवेदन तयारी, निर्वाचन प्रक्रियाको तयारी लगायतका अन्य काम सकिएका छन् । जिल्लाका ९ वटै स्थानीय तह र ७९ वटै वडाबाट सदरमुकाम सिन्धुलीमाढीमा आउने प्रतिनिधिहरु नयाँ नेतृत्व चयनका साथै नयाँ कार्य योजना बनाउने कार्यमा सहभागिता जनाउने छन्,’ संयोजक पाण्डेले भन्नुभयो ।

सम्मेलनको उद्घाटन शनिबार विहान ११ बजे अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शुशिला नेपालले गर्नुहुने कार्यक्रम तय भएको छ ।

उक्त सम्मेलनले अनेमसंघको मस्यौदा विधान २०७८ बमोजिम १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, १ उपसचिव र १ कोषाध्यक्ष सहित बढीमा ६१ जनाको जिल्ला कमिटी निर्वाचित गर्ने बताइएको छ । सम्मेलनका लागि ५ लाख खर्च लाग्ने अनेमसंघ सिन्धुलीको अनुमान छ ।

प्रतिनिधि शुल्क, आयोजक शुल्कबाट २ लाख २९ हजार ५ सय आम्दानी हुने देखिएको र अन्य खर्च सहयोग तथा आन्तरिक व्यवस्थापनबाट गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?