टिकटकमा प्रमोसन गर्दै चलचित्र

Read Time = 4 mins

काठमाडौं । यतिबेला सामाजिक सञ्जाल चलाउनेहरूको भिड निकै छ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरू दैनिक कम्तीमा पनि तीनदेखि चार घण्टा इन्टरनेटमा व्यस्त हुने तथ्याङ्कले देखाउँछ । नेपालमा पनि युट्युब, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा अत्यधिक भिजिटर छन् । अझ पछिल्लो समयको कुरा गर्दा टिकटकमा अत्यधिक भिजिटर देखिन्छन् ।

यसैबीच विभिन्न ब्रान्ड तथा चलचित्रहरूले आफ्नो प्रमोसनको शैली टिकटकतर्फ पनि देखाउन थालेका छन् । अत्यधिक दर्शक टिकटकमा भएकाले पनि प्रमोसन टिकटकमा हुन थालेको हो । नेपाली चलचित्र निर्माताहरूको कुरा गर्दा विभिन्न तरिकाबाट टिकटकमा प्रमोसन गर्न थालेको देखिन्छ । विभिन्न अफर दिएर टिकटक प्रयोगकर्तालाई आकर्षित गर्न खोजेको देखिन्छ ।

टिकटकमा चलचित्रका विभिन्न क्लिप तथा गीतहरू सार्वजनिक गरेसँगै टिकटकमा धेरै भिडियो बनेका पनि छन् । त्यसले गर्दा चलचित्रबारे धेरैलाई जानकारी हुने र चलचित्र हेर्न दर्शक लालायित हुनेमा चलचित्र निर्माताहरू विश्वस्त देखिन्छन् । चलचित्रमा समावेश गीतहरूको लाखौँ भिडियो बनेको पनि पाइन्छ ।

यसैबीच आगामी असोजको २१ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘२ नम्बरी’ को टिमले पनि टिकटकलाई फोकस गरेको छ । चलचित्रको सार्वजनिक ट्रेलरले युट्युबमा पनि राम्रो भ्युज पाइरहेको अवस्थामा टिकटकका दर्शकलाई पनि चलचित्रबारे जानकारी दिने उद्देश्यले टिजर सार्वजनिक गरिएको थियो । सोही अनुरूप टिकटकमा संवाद निकै हिट पनि भयो ।

यो चलचित्रको संवादमाथि नै तीन लाखभन्दा बढी टिकटक बनेका छन् । संवाद हिट हुँदा चलचित्रको व्यापारमा पनि ठूलो फरक पर्दछ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले भन्नुभएको छ, ‘हामीले २ मिनेटभन्दा लामो टिजर सार्वजनिक गरेका थियौँ । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौँ । अब टिजरभन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ ।’

सार्वजनिक टिजरमा मुख्य कलाकारहरू नायकद्वय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्वय उपासना सिंह ठकुरी र उगेन छोदेन हावी हुनुहुन्छ । विशेषगरी, दर्शकले सौगात र उपासनाबिचको संवादलाई पनि निकै रुचाएका छन् । दया र सौगातबीचको मित्रता पनि दर्शकको नजरमा परेको छ ।

दिपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ यो चलचित्रका निर्माता हुनुहुन्छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सहनिर्मात्रीका रूपमा हुनुहुन्छ । चलचित्रमा सुशन प्रजापतीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइबाको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?