विकासमा छुटेका गाउँ तेम्बाथान, तेगा र दिपु

हिमालय टाइम्स
Read Time = 12 mins

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा पर्ने गाउँ हुन् तेम्बाथान, तेगा र दिपु । धेरैलाई लाग्न सक्छ, यी गाउँ विकसित छन् । तर, त्यसो होइन, यहाँका ती गाउँ विकट छन् । यहाँका बासिन्दालाई सरकारी सेवासुविधामा सहज पहुँच त छैन नै, उनीहरूलाई स्वास्थ्य एवं शिक्षा पाउन पनि कठिन छ । त्यतिमात्र हो र, सडक र बिजुली नै छैन । तेम्बाथानबाट दुई दिन हिँडेर जुगलकै कात्तिकेसम्म आई दैनिक उपभोग्य वस्तु किन्ने गर्दछन् । सडक नहुँदा हिँडेरै आउजाउ, ठाउँ–ठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदल यात्रा गर्छन् । बर्खाको बेला आवतजावत गर्न झमेला हुन्छ । गाउँले मिलेर गोरेटो बाटो बनाउने गरेका छन् । बाटो सफा बनाउन एक घर एक व्यक्ति जानैपर्ने नियम गाउँलेले राखेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि गुम्बा गाउँसम्म सडक र बिजुली पुगेको छ । यी गाउँमा धेरै शेर्पा जातिको बसोबास छ । स्थानीयका अनुसार १६७ घरधुरी तेम्बाथानमा छन् भने दिपु, साङ्लुङ र तेगागाउँमा ३०/३२ घरधुरीको बस्ती छ तर यी बस्तीका स्थानीयलाई विकसित गाउँ कस्तो हुन्छ नै थाहा छैन ।

बिरामी हुँदा हेलिकप्टरकै भर

सामान्य उपचारका लागि त तेम्बाथानमा स्वास्थ्यचौकी छ । नजिक स्वास्थ्यचौकी भए पनि सिटामोलबाहेक अरू औषधि पाइँदैन । गुम्बादेखिका व्यक्तिसमेत दुई दिन माया मारेर एलर्जीका लागि कात्तिके पुग्ने गर्दछन् भने तेम्बाथानको त कुरै नगरौँ ।  बिरामी भएकै दिन अस्पताल पु¥याउन कठिनाइ हुन्छ । जानैपरे पनि भिरको बाटो, तत्काल बोकेर लाने अवस्था छैन,  हेलिकप्टर नै झिकाउनुपर्छ । अरू विकल्प यहाँ छैन ।

स्थानीय लाक्पा लामा भन्नुहुन्छ, ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनुपर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’  गाउँमा १६७ घरधुरी छन् । बाक्लो बसोबास शेर्पा समुदायको छ । सुत्केरी व्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने बाध्यता गाउँलेसामु छ । सिङ्गो गाउँको समस्या यही छ । जटिल बिरामी भए पनि तत्काल अस्पताल पु¥याउन सकिँदैन । बिरामी पर्दा जङ्गली जडीबुटीको भर पर्नुपर्ने बाध्यता छ । बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाइरहनुपर्ने भएकाले तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।

शिक्षाको कमी

तेम्बाथान, तेगा, साङ्लुङ  र दिपु गाउँ विकट ।  यी गाउँको पेसा याक ,चौँरी र गाई नै पाल्ने हो । पितापुर्खादेखि चौँरी पाल्ने चलन भएकाले लेकाली क्षेत्रका धेरैको पेसा नै चौँरी पाल्नु हो । चौँरी गोठमा भकारो सोर्ने, चाँैरी खेद्ने र वस्तुभाउको चाकरीमा व्यस्त रहन्छन् । केही समयअगाडि यहाँका अधिकांश बाललालिका चौँरीगोठमै हुन्थे । दुई दिनको पैदल दूरीमा चाँैरीगोठ । त्यही भएर पनि अभिभावकले गोठ जहाँ लान्छन्, छोराछोरी पनि त्यहीँ लैजाने चलन थियो ।

विद्यालयको अनुहारै नदेखेका बालबालिकाको दैनिकी यस्तैमा बित्थ्यो । परिवारमा पढाइभन्दा चौँरीगोठ प्यारो भन्ने मान्यताले पनि उनीहरू शिक्षाबाट टाढा भए । तर, अहिले बालबालिकाहरू गोठ नभई विद्यालय जान थालेका छन् । कक्षा ६ सम्म पढाइ हुने तेम्बाथानको आधारभूत विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या १०० छ ।

गाउँका केटाकेटी खासै स्कुल नजाने चौँरीगोठमै भेटिन थालेपछि सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउनुस् भनी घर–घरमा अभिभावकलाई सल्लाहसुझाव दिएसँगै विद्यार्थी नियमित विद्यालय जान थालेका हुन् । खाजा आफ्नै घरबाट ल्याउन लगाएर सो खाजाको पैसा चार÷पाँच महिनामा एकमुस्ट दिने गरेकाले विद्यालय आउने विद्यार्थीको सङ्ख्या बढ्न थालेको तेम्बाथान आधारभूत विद्यालयका प्रधानाध्यापक युवराज शर्माले बताउनुभयो । कक्षाकोठाको अभावले तीन कोठालाई जस्ताका पाताले बारेर छ कोठा बनाई कक्षा ६ सम्म सञ्चालन गरिएको छ । बेन्च, टेबल, कक्षाकोठा अभावले प्रशासन चलाउन नसकिएको उहाँले बताउनुभयो । तेम्बाथानको विद्यालयलाई पालिकाले कुनै सहयोग नगरेको शर्माको गुनासो छ ।

जस्ताले बारेको कोठामा पढाउँदा होहल्ला हुने, पढाएको नबुझ्ने, आफूले दिन खोजेको शिक्षा दिन नसकेको शिक्षक साङ्गे निमा शेर्पाले बताउनुभयो । अहिलेसम्म अङ्ग्रेजी र गणित विषयका किताब विद्यालयमा उपलब्ध छैनन् । साङ्लुङ, तेगा र दिपुका विद्यार्थी बर्खामा तेम्बाथानमा आफन्तकोमा बसेर विद्यालय जान्छन् भने हिउँदमा दुई घण्टाको बाटो हिँडेर विद्यालय जाने गरेका छन्  ।

कक्षा ६ सम्म अध्यापन हुने भएकाले माथिल्लो कक्षा पढ्न टाढा जानुपर्दा गाउँमा पढाइप्रति आकर्षण घट्ने हो कि भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाको छ । बिजुली नभएकै कारण पनि पढ्ने उमेरका बालबालिका र बिरामी बढी प्रभावित हुन पुगेका हुन् । सामान्य अक्षर चिन्न सक्ने र अलि–अलि काम गर्न सक्ने भएपछि वैदेशिक रोजगारको बाटो खोज्छन् ।  

सडकको पहुँच नहुँदा समस्या, १२ हजार भत्ता लिन सात हजार खर्च

तेम्बाथान, दिपु र तेगाका प्रत्येक ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्तलगायत सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न एक दिनको पैदल हिँडेर वडा कार्यालय धाउनुपर्ने बाध्यता छ । बर्खामा जोखिम मोलेरै हिँडिरहेका छन् । ज्येष्ठ नागरिकलाई १२ हजार सामाजिक सुरक्षा भत्ता लिन सात हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । यहाँका ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि दुई दिन पैदल हिँडेर जुगलको डाडेबजार पुग्छन् । त्रैमासिकरूपमा सरकारले दिने १२ हजार भत्ता लिन जाँदा सात हजार रकम त खाना, खाजा र बास बसेकै ठाउँमा खर्च गर्नुपर्ने अवस्था रहेको ज्येष्ठ नागरिक फुर्वा शेर्पाको गुनासो छ ।

भत्ता लिन जाँदा र फर्कंदा चार दिनको पैदलयात्रा गर्नुपर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको उहाँको गुनासो छ । ज्येष्ठ नागरिक र अशक्तहरूले सरकारले प्रत्यक तीन–तीन महिनामा दिने भत्ता लिन बेहोर्नुपरेको सास्तीबारे जानकार रहेको जुगल–३ का वडाध्यक्ष लक्ष्मण दोङ बताउनुहुन्छ । बैङ्कसँग छलफल चलाउने र कार्यपालिका बैठकमा यो विषयमा कुरा उठाएको अध्यक्ष दोङले बताउनुभयो ।

बिजुली इन्टरनेट

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा तेम्बाथान, दिपु र तेगा गाउँमा अहिलेसम्म पनि नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनसमेत जोडिएको छैन । न इन्टरनेट चल्छ । सोलारकै भर छ । धेरैजसो परिवारले रातको समयमा उज्यालोका लागि टुकी बत्तीकै भर पर्नुपर्ने बाध्यता छ । केही हुनेखाने परिवारले सोलार जडान गरेका छन् ।

आफन्तसँग फोनमार्फत् कुरा गर्न उनीहरू अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । तेम्बाथाङ, तेगा र दिपुमा घाम लाग्दामात्रै टावर आउने गर्छ । स्थानीयवासीहरू महत्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै घाम लाग्नेबित्तिकै डाँडामा निस्किने गरेका छन् । स्थानीय लाक्पा शेर्पा भन्नुहुन्छ, ‘विकट गाउँको बसाइ, त्यसमा पनि प्रविधिको पहुँचमा नहुँदा धेरै सरकारी सेवासुविधाबाट पनि टाढा हुनुपरेको र समयमा सूचना पनि प्राप्त नहुँदा समस्यामा पर्ने गरिएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?