बाख्रापालनमा भविष्य खोज्दै हिरा

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

-डम्मर बुढा मगर

बागलुङ सानै उमेरदेखि राजनीतिमा लाग्नुभएका बागलुङको बरेङ गाउँपालिका–२ हुग्दिसिर सिग्दीका हिराबहादुर पुनले लामो समय राजनीतिमा लागेर परिवर्तनका लागि क्रान्ति गर्नुभयो । राजनीतिमा उतारचढाव र परिवर्तनपछि अहिले त्यस क्षेत्रबाट अलग्गिनुभएको छ । उहाँको दैनिकी आजभोलि निकै फरक तरिकाले चलिरहेको छ । देशको राजनीतिक अवस्था र व्यवस्थादेखि दिक्क भएर राजनीतिभन्दा बेग्लै रहेर व्यावसायिक कृषि पेसामा लागेको उहाँ बताउनुहुन्छ । पुन करिब डेढ दशक राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गरे पनि अहिले त्यस क्षेत्रलाई छाडेर बाख्राका पाठापाठीहरूसँग रमाउन थाल्नुभएको छ । उहाँको दैनिकी पाठापाठीको स्याहारसुसार गर्दै बित्ने गरेको छ ।

पुनलाई राजनीतिमा पदका अफरहरू पनि नआएका होइनन् । तर, अहिले राजनीतिभन्दा अलि टाढा रहेर उहाँ व्यावसायिक बाख्रापालनमा होमिनुभयो । पुनले समाज सेवा गर्न सबैभन्दा पहिले आफू दरिलो हुनुपर्ने भन्दै आफू दरिलो नभएसम्म समाज सेवा गर्न कसैले नसक्ने बताउनुभयो । ‘समाज सेवा, राजनीति जे गरे पनि पहिले आफू दरिलो हुनुपर्दोरैछ, आफू कमजोर भएर समाज परिवर्तन हुन सक्दोरहेनछ, समाज सेवा गरेपछि समाज पूरै बदलिन्छ, परिवर्तन हुन्छ भन्ने हाम्रो बुझाइ थियो तर जीवन जिउँदै जाँदा त्यस्तो नहुँदोरैछ,’ पुनले भन्नुभयो, ‘राजनीतिमा स्थापित हुन पहिले आफू कुनै एक पेसामा सफल हुन जरुरी छ भन्ने मेरो भोगाइले सिकायो, पहिले आफूले केही नगरे पनि गफ गरेपछि सबैले पत्याउने अवस्था थियो तर अहिले परिस्थति त्यस्तो छैन, बोलेका कुराहरू व्यवहारमा लागू नगरे जनताले नेताहरूलाई पत्याउँदैनन्, पहिले आफ्नो अवस्था मजबुद बनाउने, अनि बल्ल समाज र राष्ट्रको कुरा हुँदोरैछ हामीले त्यतिबेला उल्टो कुरा गरिएछ ।’

पछिल्लो समय राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूको बोली, व्यवहार र कार्यशैलीले आफू वाक्क भएको भन्दै अबको बाँकी समय बाख्रापालन गरेरै बिताउने र सफल कृषक बनेर देखाउने सोचमा पुन हुनुहुन्छ । बाख्रापालनबाट आम्दानीमात्रै नभएर गाउँमा रहेको बाँझो जग्गा, पाखापखेराको समेत राम्रो सदुपयोग गर्न सकिने पुनको भनाइ छ । ‘अहिले धेरैजसो युवाहरू विदेशमा छन्, गाउँमा भएकाहरू पनि जाने तयारीमा छन्, गाउँमा रहेको उर्वर भूमि वनमाराले ढाकिएका छन्, म गाउँमा जन्मेहुर्केको मान्छे घरवरिपरि प्रशस्त पाखापखेराहरू छन्, यिनीहरूको सदुपयोग गर्छु,’ पुनले भन्नुभयो, ‘मिहिनेती बन्न सके गाउँमा यो व्यवसायबाट राम्रै आम्दानी लिन सकिँदो रैछ ।’

एक वर्षअगाडि लकडाउनको समयमा लेकाली बाख्रा फर्म दर्ता गरेर एक लाखको लगानीमा सुरु गरेको बाख्रापालन अहिले फस्टाउँदै गरेको उहाँको भनाइ छ । व्यवसायलाई थप व्यवस्थित गर्न पुनले साढे तीन लाखको लगानीमा आधुनिक खोर निर्माण गर्नुभएको छ । परम्परागत तरिकाले बाख्रापालन सुरु गर्नुभएका पुनले अहिले आधुुनिक शैलीबाट बाख्रापालन सुरु गर्नुभएको हो । खोरमा बाख्रापालन गर्दा पानी पर्दासमेत खोरमै दाना खुवाउन मिल्ने र घाँस खेर नफाल्ने तथा बाख्राहरू पनि स्वस्थ रहने र काम गर्न निकै सजिलो हुने उहाँले बताउनुभयो ।

अहिले पुनको फर्ममा सानाठुला गरी ४५ बाख्रा रहेका छन् । पुनलाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ५० प्रतिशतको बोयर बोका र माउसमेत दिएको छ । पुनले अब विस्तारै प्रतिफलसमेत प्राप्त गर्न थालेको बताउनुभयो । स्थानीय जातका माउपाठाहरू आफ्नो फर्ममा राम्रा भए पनि पुनलाई बोयर बोका र माउ पाल्ने ठूलो रहर छ । ‘मैले आफैँ लगानी गरेरै भए पनि बोयर जातका बाख्रा पाल्ने कोसिस गरेँ तर कतै पनि त्यस्तो विश्वासिलो ठाँउ पाउन सकेको छैन, नेपालकै ठुलो फर्म बन्दीपुरमा रैछ त्यहाँ पनि कोसिस गरेँ तर त्यहाँ पनि पहिल्यै बुकिङ गर्नुपर्दोरहेछ,’ उहाँले भन्नुभयो ।

कृषकले ऋणधन गरेर जोहो गरेका बाख्राको बिमा गर्ने कार्यक्रम पनि पालिकाले ल्याउन नसक्नु निकै दुखद भएको उहाँको गुनासो छ । ‘बरेङमा म जस्ता कैयौँ पशुपालक कृषकहरू छन, हाम्रो धनसम्पत्ति जे भने पनि यही फर्म हो, यिनै बाख्रा हुन्,’ उहाँले भन्नुभयो । ‘माउबाख्रा, पाठापाठी बिरामी हुन्छन्, गाउँमा भनेको बेलामा प्राविधिक हुँदैनन्, औषधि हुँदैन, हेर्दाहेर्दै मर्छन्, सरकारले सहयोग गर्न सके हामीलाई सहज हुन्थ्यो ।’

पुनले सरकारले कृषकका बारेमा ठुलो लगानी गरे पनि वास्तविक कृषकले केही नपाएको भन्दै बजेटमा बिचौलियाको हालीमुहाली हुने गरेको बताउनुभयो । स्थानीय सरकारले समेत कृषकलाई उपेक्षामा पारेको उहाँको भनाइ छ ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?