लामो खडेरीले किसान चिन्तित

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश मैनाली

सर्लाही । समयमै पानी नपाएपछि सर्लाहीका किसानले लगाएको बाली सुक्न थालेको छ । पानी नपरेर लामो खडेरीका कारण मुख्य खाद्यबाली धान र उखु सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । विगत लामो समयदेखि पर्याप्त पानी नपरेका कारण खेतबारीमा रोपेको बाली सुक्न थालेको किसानहरूको गुनासो छ । जिल्लाका केही भागमा हल्का पानी परे पनि अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको र खेतबारीमा लगाएको बाली सुक्न थालेको किसानहरू बताउँछन् ।

सर्लाहीमा मात्र होइन, पूर्वी तराईमै खडेरी भइरहेको किसानहरूले बताएका छन् । पानीको अभावमा अहिले किसानका खेत चिरा परेको छ । धान अहिले हरियो भएर गाँजसमेत हाल्न थालेका छ, तर पानी नहुँदा बाली सुक्नुका साथै खेत चिरा पर्न थालेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । वर्षाले साथ नदिँदा किसानले यो वर्ष महँगो डिजेल खर्चेर पम्पसेट चलाएर रोपाइँ गरेका थिए ।

बाली मात्र नभएर खेतबारीमा लगाएको खुर्सानी, गोलभेंडा, प्याज, फर्सी, काक्रो, सिमीबोडी लगायतका बाली घामबाट जोगाउन मुस्किल हुन थालेको छ ।

पानी नपर्दा किसाले दुई÷तीनपटक पम्पसेट चलाएर धानमा पानी दिएका थिए । विद्युत् पुगेको ठाउँका किसानले विद्युतीय मोटरबाट पानी पठाउने गरेको भए पनि विद्युत् नभएका ठाउँका किसानले अझ सास्ती भोग्नुपरेको उनीहरू बताउँछन् ।

यो वर्ष बागमती सिँचाइ आयोजनाले बेलैमा नहरमा पानी नछाड्दा नहरको पानी लाग्ने ठाउँका किसानले पनि निकै हैरानी खेपेका छन् । सर्लाहीका २० वटै पालिकामा धान खेती हुने गरेको छ । यहाँका किसानको मुख्य बाली धान खेती हो । यसभन्दा अघि जिल्लामा ९५ प्रतिशत मात्र रोपाइँ भएको केन्द्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?