राउन्ड टेबलको सहयोगमा विद्यालय भवन

Read Time = 3 mins

मोरङ । राउन्ड टेबल विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले मोरङको बुढीगङ्गा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यालयमा बहुवर्षीय योजनाअन्तर्गत दुई करोड बढीको लगानीमा निर्माण भएको कक्षाकोठा निर्माण भएको हो । बुढीगङ्गा गाउँपालिका-४ स्थित विद्यालय परिसरमा बिहीबार आयोजित कार्यक्रमबिच राउन्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय निर्माण गरिएको चारकोठे भवनको उद्घाटन गर्नुभयो ।

विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले युरोपस्थित राउन्ड टेबल युरो ११ सँग सहकार्य गर्दै विद्यालयमा ४० लाखको लगानीमा चारकोठे पक्की भवन थप गरेको हो । राउन्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै विद्यालयमा यसअघि नै १६ कोठा निर्माण गरिसकेको छ । विराटनगर राउन्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहणयता विद्यालयमा निरन्तर भौतिक संरचना निर्माण गर्दै आएको विराटनगर राउन्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताउनुभयो ।

थप गरिएको चार कोठासँगै हालसम्म राउन्ड टेबल नेपालले विद्यालयमा २० कोठाको निर्माण सम्पन्न गरिसकेको जनाएको छ । राउन्ड टेबल नेपाल ११ ले हालसम्म विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, साइकल पार्किङलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिदिएको छ । विगत १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै विद्यालयमा राउन्ड टेबल ११ ले दुई करोड बढीको लगानी गरिसकेको जनाएको छ ।

विद्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना राउन्ड टेबलले जुटाइदिएपछि अब विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धि गर्न लागिपर्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताउनुभयो । यसैबिच मोेरङको रङ्गेली नगरपालिका-७ मा रहेको आदर्श निम्नमाध्यमिक विद्यालयलाई राउन्ड टेबल ५ द्वारा चार कोठा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको पनि राउन्ड टेबल नेपालले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?