माथिल्लो तामाकोसीले हकप्रद सेयर जारी गर्ने

Read Time = 4 mins

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृत प्रदान गरेको छ । साधारणसभाले कम्पनीको सय प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनका आधारमा हकप्रद सेयरमार्फत् पुँजी वृद्धिका लागि विशेष प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रणबाहिरको परिस्थितिका कारण निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजी अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताउनुभयो ।

निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण र माथिल्लो तामाकोसी आयोजनाका लागि अपुग रकम अल्पकालीन ऋण लिएर सम्पन्न गरिएकाले ऋण चुक्ता गर्न वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोसी जलविद्युत्को निर्माणपछि विद्युत् गृहबाट निस्कने पानीलाई करिब आठ किलोमिटर सुरुङमार्फत् ९९ सय मेगावाटको तामाकोसी पाँचौँ आयोजना निर्माण गर्ने विद्युत् प्राधिकरणको लक्ष्य रहेको पनि जानकारी गराउनुभयो । जसका लागि तामाकोसी जलविद्युत् सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘अपर तामाकोसी जलविद्युत् आयोजना सम्पन्नपछि दोस्रो चरणमा निर्माण गर्ने योजना रहेको रोल्वालिङ खोलाको पानीलाई सात किलोमिटर लामो सुरुङमार्फत् लामाबगरस्थित तामाकोसी नदीबाट निर्मित जलाशयमा मिसाई थप दुई सय गिगावाट गरी जम्मा तीन सय सय गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य लिई सो कार्यको विस्तृत अध्ययन गरेर निर्माण गर्ने भएको छ । यसको इपिसी मोडलमा ४.५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आहृवान भइसकेकाले मूल्याङ्कन प्रक्रियामा रहेको छ ।’

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २९ करोड रुपैयाँ रहेको छ भने हकप्रद निष्कासनपछि चुक्ता पुँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । अहिले माथिल्लो तामाकोसीको सेयर मूल्य पाँच सयभन्दा कम छ । तामाकोसीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?