कांग्रेस नेता प्रदीप गिरिको अवस्था चिन्ताजनक

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता, सांसद तथा राजनीतिक विश्लेषक प्रदीप गिरिको अवस्था चिन्ताजनक रहेको छ । उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । उहाँ घाँटीको क्यान्सरसम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ ।

अस्पतालका अनुसार उहाँ क्यान्सरको अन्तिम चरणमा हुनुहुन्छ । उहाँको अवस्था ‘क्रिटिकल’ छ । गिरिलाई परिवारका सदस्यबाहेक अन्यलाई भेट्न दिइएको छैन । गिरिका सहयोगी मन्दीप भारतीले भन्नुभयो, ‘उहाँलाई आइसियुमा राखेको तीन दिन भयो । अहिले भेन्टिलेटरमा राखिएको छ ।’

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गत मंगलबार गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा पुग्नुभएको थियो । त्यसयता कांग्रेस नेताहरू र गिरिका शुभचिन्तक उहाँलाई भेट्न गइरहेका छन् । गिरि बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुग्नुभएको छ । गिरिलाई भेट्न शुक्रबार अस्पताल पुग्नुभएका कांग्रेस नेताहरूले भेटपछि उहाँको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन् । नेता विमलेन्द्र निधिले गिरिको अवस्था देखेर ‘स्तब्ध र निरीह’ भएको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुहुन्छ, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु । सबैले प्रार्थना गरौँ ।’ त्यस्तै, उहाँलाई भेटेर फर्किनुभएका कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले गिरि मान्छे चिन्ने र बोल्न नसक्ने अवस्थामा रहेको जानकारी दिनुभयो । भेन्टिलेटर कक्षको बाहिरबाटै हेरेर फर्किनु परेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा खतिवडा भन्नुहुन्छ, ‘आज पनि म कृष्णप्रसाद भट्टराई जस्तै सम्मान गर्ने नेता प्रदीप गिरि भेट्न अस्पतालमा पुगेँ । बोलाउन खोजेँ, बोल्ने प्रयास गर्नुभएन । भगवान्सँग अनुरोध गरियो, छिटोभन्दा छिटो स्वस्थ भएको देख्न पाऊँ ।’

स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरि उपचारका लागि भारतको मुम्बई जानुभएको थियो । करिब एक वर्ष उपचारपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालहरूमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् गिरि नेपाल आउनुभएको थियो । तर, नेपाल आउनेबित्तिकै निमोनिया देखिएपछि गिरि अस्पताल भर्ना हुनुभएको हो ।

गिरिको स्वास्थ्यलाभका लागि प्रार्थनासभा
नेपाली कांग्रेसका नेता गिरिको स्वास्थ्यलाभ तथा दीर्घायुको कामना गर्दै प्रार्थनासभाको आयोजना गरिएको छ । नेपाली कांग्रेस वैचारिक अभियानले शुक्रबार नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा प्रार्थनासभाको आयोजना गरेको हो ।

नेपाली कांग्रेस वैचारिक अभियानका संस्थापक संयोजक युवराज खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैचारिक नेता नरहरि आचार्य, दीपकुमार उपाध्याय, दुर्गासुवेदी लगायतले उहाँको व्यक्तित्वको बारेमा प्रकाश पार्दै स्वास्थलाभको कामना गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपि सावद, दीपक गिरी, सञ्जय गौतम, प्रतिमा गौतम, गुरु बराल नानु बास्तोला साथै नेताहरू तीर्थराम डंगोल, होमनाथ दाहालको पनि सहभागिता थियो ।

वटुकहरूद्वारा शान्ति पाठ र महामृत्युञ्जय मन्त्रोचारण गरी सुरु गरिएको प्रार्थनासभामा सहभागी सबैले दीप प्रज्वलन गरी चिन्तक गिरिको स्वास्थलाभको कामना गरेका थिए । विचार र चिन्तनको राजनीतिलाई प्रोत्साहन गर्ने अभिप्रायले संगठित अभियानले विचारको राजनीतिबाट स्खलित नेपाली राजनीतिलाई मूलबाटोमा हिँडाउन नेता प्रदीप गिरिजस्ता जबर्जस्त चिन्तक देशलाई अझ बढी आवश्यक रहेकाले उहाँको पूर्ण स्वास्थ्यलाभका लागि प्रार्थनासभाको आयोजना गरिएको जनाएकोे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?