भ्रष्टहरूको गठबन्धनलाई पराजित गर्दै चुनावपछि एमालेको सरकार बन्छ : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताउनुभएको छ । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदुर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गर्नुभयो । नेताहरूको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गर्दै उहाँले गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरू पराजित हुने जिकिर गर्नुभयो । जनताले भ्रष्ट नेताहरूको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दाबी दोहोर्‍याउनुभयो ।

एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएका दलबीच गठबन्धन भइरहेको उहाँले टिप्पणी गर्नुभयो । ‘अहिले सबै मिलेर हामीविरुद्ध लागेका छन्’ ओलीले भन्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली औद्योगिक तथा व्यवसायको क्षेत्र, सेवाको क्षेत्र, पूर्वाधार विकासको क्षेत्र, मानवीय स्रोत विकास, रोजगारीको विकासका लागि आफू लागेको उहाँले बताउनुभयो ।

आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत प्रदान गर्ने पनि ओलीले दाबी गर्नुभयो । विकास र समृद्धि तथा जनताको जीवनस्तर उकास्ने किसिमको स्पष्ट योजना एमालेसँग भएको बताउनुभयो । परिवर्तनका लागि आन्दोलन जारी रहने पनि उहाँको भनाइ छ ।
ओलीले राजनीतिक परिवर्तनका आन्दोलनहरू पूरा भए पनि राष्ट्रियताका लागि क्रान्ति जारी रहेको बताउनुभयो । नेपाली मजदुर, किसान र सर्वहाराको नेतृत्व गर्छु भन्नेहरू दक्षिणपन्थी र पुँजीवादीको शरणमा पुगिसकेकाले मजदुरहरूको अधिकार र सामाजिक सुरक्षाको आन्दोलन जारी राख्नु पर्ने उहाँको भनाइ थियो । विश्वव्यापी रूपमै क्रान्ति र आन्दोलनको नेतृत्व मजदुरहरूले गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालमा पनि नेकपा एमालेकै नेतृत्वमा मजदुर अधिकार प्राप्ति र सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा आएको बताउनुभयो ।

नेकपा एमालेको सरकार रहेका बेला मजदुर, किसान, भूमिहीनका लागि कानुनी रूपमा नै अधिकारको प्रत्याभूति गरिएको स्मरण गराउँदै उहाँले अहिलेको सरकार दलाल, कमिसन र पदलोलुपतामा मात्रै सीमित रहेको पनि बताउनुभयो । ओलीले आगामी निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार सञ्चालन हुने गरी तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभयो । ओली दुई दिन अघिदेखि गृहजिल्ला झापामा विभिन्न चुनावीसभा तथा कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ ।

ओलीले माधव नेपाल आफ्ना लागि होइन कांग्रेसका लागि काम गरिरहेको टिप्पणी गर्नुभयो । इलामको चुलाचुली पार्टी प्रवेश कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले माधव, प्रचण्ड कांग्रेसको पुच्छर भएकाले उसले जता हल्लायो उतै हल्लिने टिप्पणी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?