भाका सार्दै प्रचण्ड, माओवादीलाई महासचिव छान्न ‘महाभारत’

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । ‘महासचिव र उपमहासचिवको नाम तयार पारेको छु । म अहिले पनि सबैको नाम भन्नसक्छु तर नाम भन्न नलगाउनुस् ‘प्लिज’ । म सबैको अनुहार उज्यालो हुने गरी नाम टुंगो लगाउँछु । दुई/चार दिन समय दिनुस्,’ गत असार २३ गतेको केन्द्रीय समिति बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभएको थियो । दुई/चार दिनमा पदाधिकारी टुंग्याउने प्रचण्ड वचन हालसम्म पनि वाचामै सीमित छ । महिना बित्यो । तर, माओवादीले पदाधिकारी पाएको छैन ।

उसो त पदाधिकारी छान्ने प्रचण्ड वाचा यो पहिलो थिएन । गत पुसमा सम्पन्न महाधिवेशनले पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारी छान्ने ‘म्याण्डेट’ दिएको थियो । महाधिवेशन भएको आठ महिना बित्यो, माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारी छान्ने जिम्मा पाएको पहिलो केन्द्रीय समिति बैठक गत फागुनमा बसेको थियो । तर, उक्त बैठकले पदाधिकारी छान्न सकेन । स्थानीय चुनावको बहाना देखाउँदै थामथुम पारियो र फेरि भाका सारियो । त्यसपछि बसेको बैठकले केही स्थायी समिति सदस्य र पोलिट्ब्युरो सदस्य चयन गर्‍यो । तर, पदाधिकारी छान्न सकेन । बरु अध्यक्ष प्रचण्डले भाका सार्नुभयो । दुई/चार दिनलाई सारेको भाका हाल डेढ महिना हुन थाल्यो । अझै माओवादीले पदाधिकारी पाएको छैन । आकांक्षी धेरै भएपछि माओवादी अध्यक्ष प्रचण्डलाई पदाधिकारी छान्न महाभारत नै भएको छ । पदाधिकारी चयन गर्न पार्टीभित्रै चर्को दबाब भए पनि असन्तुष्टि छताछुल्ल हुने भयले अध्यक्ष प्रचण्डले भाका सार्दै आउनुभएको छ ।

माओवादीमा आधा दर्जन नेताहरू महासचिवको दौडमा छन् । माओवादीका एक स्थायी समिति सदस्यका अनुसार देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसाल महासचिवका दाबेदार हुनुहुन्छ । सात जनामध्ये वर्षमान पुन र जनार्दन शर्माको टकरावका कारण प्रचण्डले पदाधिकारी चयन गर्न नसकेको ती स्थायी सदस्यको दाबी छ । पछिल्लो समय दुवैको विकल्प खोज्न थालिएको पार्टीकै नेताहरू बताउँछन् । तर, दुईबाहेक अरू पनि धेरै आकांक्षी भएकाले छान्न सकस परेको उहाँको भनाइ छ ।

आजको बैठकले टुंग्याउला पदाधिकारी ?
अहिले फेरि माओवादीले पदाधिकारी छान्ने कसरत सुरु गरेको छ । पदाधिकारीको टुंगो लगाउन जारी स्थायी समिति बैठक बसिरहे पनि कुनै सहमति भने हुन सकेको छैन । शुक्रबार बसेको स्थायी समिति बैठक पनि बिना निष्कर्ष सकिएको हो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पदाधिकारी चयनबारे छलफल भए पनि कुनै निष्कर्षमा भने पुग्न सकेन । पदाधिकारीबारे लगभग टुंगो लागिसके पनि निर्णय भने भइनसकेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको कार्य व्यस्तताका कारण पदाधिकारीको टुंगो लाग्न नसकेको उहाँको भनाइ छ । ‘पदाधिकारीको विषयमा विस्तृत छलफल गरेका छौँ । करिब-करिब टुंगिएको स्थिति छ,’ उहाँले भन्नुभयो, ‘अध्यक्ष र अरू कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकाले सरेको हो ।’

माओवादी स्थायी समिति बैठक आज (शनिबार) पनि बस्दैछ । आजको बैठकले पदाधिकारी चयन गर्ने उहाँले बताउनुभयो । बैठक दिउँसो १ बजे बस्दैछ ।

कुनै समय संघर्षमा जान प्रतिस्पर्धा हुन्थ्यो, अहिले सुविधाका निम्ति हुन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका युवाहरूमा विचलन आएको गुनासो गर्नुभएको छ । शुक्रबार पार्टीको युवा संगठन वाइसिएलको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुनै समय युवाहरू अग्रमोर्चामा लड्न प्रतिस्पर्धा गर्ने भए पनि अहिले सुविधाका लागि हुने गरेको गुनासो गर्नुभयो । पार्टीभित्र देखिन खोजेको विचलन ठिक गर्न युवाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । त्यसका लागि वाइसिएलले नेतृत्व लिनुपर्ने उहाँले बताउनुभयो ।

‘कुनै समय सबैभन्दा अग्रमोर्चामा जान युवाहरूबीच प्रतिस्पर्धा हुन्थ्यो । उनीहरू मर्न जान पनि नपाइने ? भन्दै प्रश्न गर्थे,’ उहाँले भन्नुभयो, ‘आफू अग्रमोर्चामा जान नपाएकोमा असन्तुष्टि हुन्थ्यो । अहिले सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ, संघर्षका लागि हुँदैन ।’ जनयुद्धका बेला वाइसिएल, जनमिलेसिया र जनमुक्ति सेना एकसाथ अघि बढ्ने गरेको स्मरण गर्दै अहिले पनि वाइसिएलको भूमिका त्यस्तै अपेक्षा गरेको उहाँले बताउनुभयो । त्यस्तो हुनसके माओवादी केन्द्रकै नेतृत्वमा समाजवाद आउन कसैले रोक्न नसक्ने प्रचण्डले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?