प्राणी परिचय : चौंरी

विनोद दाहाल वत्स
Read Time = 4 mins

म चौंरी हुँ । म गाईकै एउटा प्रजाति हुँ । गाईकै प्रजाति भए तापनि म शारीरिक रूपमा सामान्य गाईभन्दा भिन्न देखिन्छु । मलाई अङ्ग्रेजीमा याक (Yak) भनिन्छ । म हिमाली क्षेत्रमा बस्छु । गर्मी ठाउँमा बस्न म सक्दिन । मेरो शरीरको रङ कालो, खैरो वा सेतोलगायत विभिन्न प्रकारको हुन्छ । मेरो शरीर निकै ठूलो हुन्छ र लामा-लामा रौंले ढाकिएको हुन्छ । छोटा कान, घेप्टो टाउको र अगाडि फर्किएर घुम्रिएका सिङ मेरा विशेषता हुन् । म चारखुट्टे जनावर हुँ । मेरो पुच्छर झ्याम्म परेका रौंले ढाकिएको हुन्छ । यसलाई ‘चम्मर’ भनिन्छ । मानिसहरूले देवदेवताका पूजामा यसले हम्किने गर्छन् ।

अरू प्रजातिका गाई र मेरो सम्सर्गबाट पनि बच्चा जन्मिन्छन् । यस्ता वर्णशङ्कर बच्चालाई बोलिचालीको भाषामा ‘जोक्पे’ भन्ने गरिन्छ । यस्ता जोक्पे निकै दूधालु हुन्छन् । मेरा घाँटी, काँध, जुरामा लामा-लामा रौं हुन्छन् । म दुई मिटर अग्लो हुन्छु र लम्बाइ तीन मिटर जतिको हुन्छ । मेरो तौल पाँच सय पचास किलोग्रामसम्म हुन्छ ।

म घरपालुवा जनावर हुँ । हुन त मेरा सजातीय चौंरी गाईमध्ये अझै केही जङ्गली अवस्थामै छन् तर अब ती लोप भइसकेको अनुमान गरिएको छ । म भने हजारौं वर्षदेखि मानिसको साथी बन्दै आइरहेको छु । मानिसका लागि म निकै उपयोगी प्राणी हुँ । म निकै दूधालु हुन्छु । मेरो दूधबाट चीज, छुर्पी, पनिर, बटर आदिका साथै स्थानीय तहमा दूध, दही, घ्यू, छुर्पी, सेरगेम जस्ता खाद्य पदार्थ बनाइन्छन् । मेरा चारवटा थुन हुन्छन् । मेरा रौं, पुच्छर र छालाको व्यापारबाट पनि मानिसले लाभ लिइरहेका छन् ।

म शुद्ध शाकाहारी प्राणी हुँ । म घाँसपात र मानिसले खुवाएको अन्न, कुँडो, खोले आदि खान्छु । मानिसहरूले मलाई भारी बोक्ने काममा पनि प्रयोग गर्ने गरेका छन् । म बलियो हुने भएको हुँदा निकै गह्रौं भारी पनि बोक्न सक्छु । म स्तनपायी प्राणीका वर्गमा पर्छु । म बच्चा जन्माउँछु र दूध चुसाउँछु । गर्भाधारणको नौ महिनापछि मेरी पोथीले बच्चा जन्माउँछे । हाम्रो एकपटकमा एउटामात्र बच्चा जन्मिन्छ । मेरी पोथीलाई ‘नाक’ भनिन्छ । मानिसको अभिन्न मित्रका रूपमा रहेको म बीस बाइस वर्षसम्म बाँच्छु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ninam Lowatti Kulung
Ninam Lowatti Kulung
2022-08-20 8:45 am

ओहो ? कसरी सललल…बगेको छ सर ? म पनि अन्य जनावर वा पंक्षीबारे यसरी नै लेख्ने प्रयास गर्ने छु…

रिलेटेड न्युज

छुटाउनुभयो कि ?