ए ! छोरा छैनन् ?

डा. नारायण चालिसे
Read Time = 17 mins

आश्चर्य र प्रश्न मिश्रित माथिको वाक्यांश धार्मिक, सांस्कृतिक, सामाजिक, लैङ्गिक, मानवीय अनि संवैधानिक सरोकारको पनि प्रश्न हो । आधा संसारसँग सरोकार जोडिएको यति गम्भीर विषयमा यस्तो सस्तोखाले प्रश्न गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न नै अरू प्रश्नहरूभन्दा महत्वपूर्ण प्रश्न हो । अनि यो मानिसको नैतिक र चारित्रिक संस्कारको विषय पनि हो । अरू धर्ममा के कसो छ थाहा छैन हिन्दु सनातन धर्म र सोही अनुकूलको सांस्कृतिक रीतिरिवाजमा हुर्किएकाहरूलाई माथिको वाक्यांश धार्मिक वा सांस्कृतिक प्रश्न पनि बनेर रहेको पाइन्छ । सनातन धर्म धेरै उदार छ ।

त्यहाँ भनिएका सबै कुराहरूको पालना नगर्दा पनि धर्मले अप्ठ्यारो त पार्दैन तर धर्मभिरुहरूले अनेक तात्पर्यार्थ गरेर सनातनीहरूलाई धर्मको आडमा भय बाँड्ने काम गरिरहेकै हुन्छन् । धर्मशास्त्रले सनातनी गृहस्थहरूमा सन्तानको अधिकार केवल छोरालाई दिएका कारण सनातनी समाजमा छोरा नहुनुलाई प्रश्नको रूपमा लिइँदै आएको पाइन्छ । छोराको काम र कर्तव्यको महलमा मातापिता मर्दा काजक्रिया गर्ने, पिण्डपानी दिने र बाबुले कमाएको सम्पत्ति एकलौटी प्रयोग गर्ने अधिकारसँग जोडेर गरिएको व्याख्याका कारण समाजमा छोरा मानसिकताको प्रभाव भाले चेतनासहित आएको पाइन्छ ।

अमेरिका यस्तो देश हो जसलाई छोरा अथवा छोरी भन्ने लैङ्गिक विभेद चाहिएको छैन । उनीहरूलाई मानिस चाहिएको छ । उनीहरूले छोरा र छोरी खोज्दैनन् । उनीहरूले मानिस खोज्छन्, मानिसभित्रको अस्तित्व खोज्छन्, क्षमता खोज्छन् र प्रतिभा खोज्छन् ।

त्यही कारणले गर्दा यसको गहिराइतिर पटक्कै नलागी केही पुरातन सनातनीहरू र तीसँग जोडिएकाहरूले सन्तान भनेका छोरा हुन् । छोरी भनेका दुर्भाग्यले जन्मिने अनि दान दिने जात हुन् भनेर बुझ्ने गरेको पाइनाले हाम्रो समाज घोर विभेदमा चलेको देख्न पाइन्छ । यो धारणा धार्मिक संस्कार नै हो भनेर अँगाल्न त किमार्थ मिल्दैन तर होइन भनेर मेटाउन पनि सकिएको अवस्था छैन । हामी अशास्त्रीय बन्न पनि चाहँदैनौँ र यस्ता बेतुकका प्रश्नहरू शास्त्रको आडमा गरिनुपर्छ भन्ने पनि मान्दैनौँ । जसका कारणले गृहस्थहरूले धारिला प्रश्नहरूको सामना गरिरहनु परोस् ।

नियमित रूपमै लेख्न थालेको पनि पच्चीस वर्ष पुग्यो र छोरो नजन्मेको पनि त्योभन्दा केही बढी नै वर्ष भयो । अनि यस विषयमा लेख्ने आत्मविश्वास जुटाउन पनि त्यति नै समय लाग्यो भनौँ । कतै मेरो मनोविज्ञानले पनि काम गर्‍यो होला कतै समयले पनि साथ दिएन होला भन्ने लाग्छ । अर्थात् हाम्री एउटी छोरी छन् अनि हाम्रा छोरा छैनन् । हामीजस्तै धेरै दम्पतिका पनि छोरा छैनन् छोरीमात्रै छन् । त्यस्तै कसैका छोरा छन् छोरी छैनन् । हामी साधारण मानिसदेखि उच्च ओहदा र तहमा पुगेका मानिसहरूमा पनि यो अवस्था छ । सनातनी संस्कृतिले चाहेजस्तो वा भनेजस्तो समाज बनाउनुपर्ने हो भनेँ विद्यमान अवस्थामा आमूल परिवर्तन नै आवश्यक हुन्छ ।

कसैलाई तिम्रा छोरा छैनन् ? भनेर गरिने प्रश्न कुनै चर्चाको विषय हो अथवा होइन ? यो त्यति महत्वपूर्ण हो झैँ कहिल्यै लाग्दै लागेन । माथिको प्रश्नात्मक वाक्यांशको अन्तर्य र आशय त्यति सजिलो गरी आएको हुँदैन हाम्रा लागि । र, कुरा व्यक्तिगत हो कि जस्तो पनि लाग्थ्यो । हामी (पति/पत्नी) सँग धेरै पटक सोधिने यो प्रश्न हो त्यसैले यो प्रश्न हाम्रै आफ्नै जीवनको अङ्ग हो जस्तो लाग्छ अहिले । यो प्रश्न मात्रै नभएर अरू पनि धेरै कुरा हो कि झैँ गरेर यस्ता प्रश्नहरू जीवनमा दोहोरिइरहेका छन्, हामीले सुनिरहेका छौँ र सुविधा अनुसारको उत्तर पनि दिँदै आइरहेका छौँ ।

सुरु–सुरुमा यस्ता प्रश्नहरूले धारिलो हतियारले भित्र कतै चिरेजस्तो लाग्थ्यो । यो प्रश्न हामी आफूभित्रको अपूर्णताको निम्ति हो र हामी त्यो अपूर्णताका अभियुक्तहरू हौँ । आफू पूरा मानिस भएको जनाउन अथवा एउटा पूरा गर्नैपर्ने सामाजिक दायित्व पूरा गर्न हामीले छोरा जन्माउनै पथ्र्यो त्यसो नहुनाका कारण हामीमाथि यस्ता प्रश्न आइरहेका छन् भन्ने ग्लानिबोधले कतै भित्र खिन्न पनि हुन्थ्यौँ सायद ? र, बेलाबखत हामीले आफूभित्रको अपूर्णतालाई खोज्ने प्रयत्न पनि गर्‍यौँ । प्रश्नकर्ताले हामीमाथि प्रश्न गरेजस्तै हामीत्यस्ता सामाजिक अभियुक्त हौँ भन्ने हामीलाई लागेर सोच्यौँ र गहिरियौँ पनि तर त्यस्तो अभियोग लिने प्रकारको दोष हामीभित्र छ जस्तो लागेन ।

तर, प्रश्नहरू आइरहँदा यस्ता प्रश्न गर्नेहरूप्रति हामीलाई अनौठो लाग्न थाल्यो । अपूर्ण हामी होइनौँ हामीमाथि प्रश्न गरिरहने ती अज्ञानीहरू अपूर्ण हुन् भन्ने लागेर तिनीप्रति हामीले केही दयालु दृष्टि राख्यौँ । केही हदसम्म हाम्रो अन्तः चेतनामा विद्यमान आफ्नै अज्ञान अनि परम्परागत रुढीग्रस्त मानसिकताले गर्दा नै हामीले कसैको निजी जीवनमा र त्यो पनि अनावश्यक विषयमा लिइएको चासो हो भन्ने तहमा आइपुगेपछि अहिले यो प्रश्न होइन अनावश्यक चासो हो र आफैँभित्रको अन्धकार हो भन्ने लाग्न थालेको छ । कसैलाई छोरैछोरा जन्मिनु, कसैलाई छोरीछोरी जन्मिनु, कसैलाई छोरा र छोरी जन्मिनु अनि कसैलाई केही पनि नजन्मिनु यो संयोगको कुरा हो, अभिरुचिको कुरा हो र प्राकृतिक कुरा पनि हो ।

कसैकसैलाई यही विषय महत्वपूर्ण बन्नु त्यो व्यक्तिगत स्वभावको कुरा हो । पौरस्त्य परम्पराका अनुयायीहरूलाई यो शास्त्रीय कुरा हो भनिए पनि यो आमसरोकारको विषय भने अवश्य होइन । हालसालै यो प्रश्न एकपटक फेरि दोहोरियो । अमेरिकाको कुनै राज्यमा बसोबास गर्ने दोस्रो मुलुकको नागरिकता लिएका केही नेपाली दाजुभाइको बीचमा अस्ति एकजना भद्रजस्तै लाग्ने व्यक्तिले मलाई सोधे ‘तपाईंका छोराछोरी कति छन् ?’ अनि मैले भनेँ ‘एउटी छोरी छन् ।’ अनि उनले पूरक प्रश्न गरे ‘छोरा छैनन् ?’ मैले छैनन् भनेँ ।

उनले मैले मान्नुपर्ने असजिलो र अपूर्णता अनुभव गरे । मैले सोधेँ ‘हजुरका छोरा कति छन् ? अनि यहाँ कुन छोराकोमा हुनुहुन्छ ?’ उनले भने ‘मेरा तीनवटा छोरा र एउटी छोरी हुन् । छोराहरू नेपालमै छन् । खास केही उन्नति गर्न सकेका छैनन् । यहाँ त म छोरीज्वाइँको घरमा छु । छोरीले ग्रिनकार्डमा यता ल्याएकी हुन् । यहीँ बसेर काम गरिरहेको छु ।’ अनि मलाई दया लागेर आयो विचरा कति गरिब छन् यिनी । घरभरि निकम्मा छोराहरू थुपारेर छोरीले दिलाइदिएको ग्रिनकार्ड भजाएर तिनै छोरा पालिरहेका रहेछन् र तिनैलाई छोरा चाहिएको छ ।

अमेरिका यस्तो देश हो जसलाई छोरा अथवा छोरी भन्ने लैङ्गिक विभेद चाहिएको छैन । उनीहरूलाई मानिस चाहिएको छ । उनीहरूले छोरा र छोरी खोज्दैनन् । उनीहरूले मानिस खोज्छन्, मानिसभित्रको अस्तित्व खोज्छन्, क्षमता खोज्छन् र प्रतिभा खोज्छन् । यस्तो मुलुमा आएर पनि विचरा ती सज्जनलाई मेरो लागि छोरा चाहिएको छ । म पनि उनी जस्तै छोरीकै माध्यमले अमेरिका आएको हुँ । तर, घरमा उनले जस्तै निकम्मा छोरा थुपारेर नआएको हुनाले सायद मुख बिगारे हुन् त्यस बेला । छोरा पाएर के कति कुरा पाएका छन् तिनले ? भन्नेतिर मेरो कुनै चासो छैन ।

कुरा केसम्म छ भने यति साँघुरो विचार लिएर पनि अमेरिका जस्तो देशमा मानिस बाँचिरहेकै छन् । अनि लाग्यो यीभित्र अमेरिकाले कुनै मानिस नै खोजेन उसले खोजेको कामदार पायो अनि त्यसैमा चित्त बुझायो । सायद सबै प्रकारका मानिस राख्ने उदारता भएको देश पनि अमेरिकै हो । अर्थात् पितृसत्तात्मक अन्धविश्वासको साँघुरो संसारबाट हामी कति समय बाहिर ननिस्कने ? कहिलेसम्म छोरा कि छोरी ? छोरा किन छैनन् ? भनेर आफूलाई अपमानित गरिरहने ? मानवताको खिल्ली उडाइरहने ? लैङ्गिक अन्धविश्वास र विभेद लिएर बाँच्ने ? भन्ने हो । विचारको दायरा उठ्न नसकेपछि मानिस यसरी नै अन्धकारको सिकार बन्ने न हो ?

यो प्रश्न केवल हामीले ठानेजस्तै अज्ञानी, अल्पज्ञानी वा अनावश्यक मानिसहरूबाट आयो भन्ने होइन । कसैले सुन्ने गरी प्रश्न गरे र कसैले मौन प्रश्न गरे । हाम्रा आफन्त, इष्टमित्र, कुलकुटुम्व, हितैषी, सज्जन र शुभचिन्तकहरू सबैबाट पनि यो प्रश्न आयो । अझ त्यति मात्र आएन सहानुभूति र समवेदनायुक्त भावमा समेत यी प्रश्नहरूले उत्तर खोजे । हाम्रो गृहस्थी अपुरोरहेको ठहर भयो चर्चा र चासोको विषय बन्यो । छोरा नभएको विषयले हाम्रो कुल वा वंश अपूर्ण भएको अनुभव गरियो र सायद अहिलेसम्म पनि त्यस विचारको अवशेष हाम्रो परिवारमा छ । हाम्रा (पति/पत्नीका) पिताजीहरू जानुभयो यो अपूर्णता लिएरै जानुभयो ।

माताजीहरू जानुभयो त्यसरी नै जानुभयो र हामीसँग जोडिएका अरू जानेहरू पनि त्यसरी नै जानुभयो । हामीले त्यो अभाव पूरा गर्न पनि सकेनौँ र उहाँहरूलाई सम्झाउन पनि सकेनौँ । र, अरू सबै त राम्रै छ त्यत्ति हो ठूलो भाइलाई छोरा भएनन् भनेर दिदी भिनाजुहरूले चित्त दुखाउँदै हुनुहुन्छ । दाइभाइहरूले पनि छोरा छैनन् भन्दै होलान् । र, अन्य आफन्त र कुलकुटुम्बमा यी कुरा भइरहेकै होलान् । मेरा एकजना मित्रका पिताजीले त सिधैं भन्नुभयो ‘अरू त ठीकै हो बाबु छोरा रहेनछन् नतर्ने भयौ कुल नतार्ने भयौ ।’ म हाँसिरहेँ र यो मेरो हाँसो कहिलेसम्म अकिञ्चन हाँसो हुने भन्ने प्रश्न खासमा उठ्नुपर्ने हो ।

हामीले ए ! छोरा छैनन् ? जस्तो उपेक्षापूर्ण प्रश्नहरूको उत्तर कहिलेसम्म दिइरहनुपर्ने हो ? यसको उत्तर त नेपालको संविधानले र सरकारले पनि दिनुपर्ने हो जस्तो लाग्छ । हामीले थाहा पाएअनुसार यो देशका राष्ट्रपतिका पनि छोरा छैनन् ।

हामीले ए ! छोरा छैनन् ? जस्तो उपेक्षापूर्ण प्रश्नहरूको उत्तर कहिलेसम्म दिइरहनुपर्ने हो ? यसको उत्तर त नेपालको संविधानले र सरकारले पनि दिनुपर्ने हो जस्तो लाग्छ । हामीले थाहा पाए अनुसार यो देशका राष्ट्रपतिका पनि छोरा छैनन् । पूर्वप्रधानमन्त्री र मन्त्रीहरूका पनि छोरा छैनन् । र, यो देशको संविधानले बाँधेका र हामीले थाहा पाएका अरू धेरै विशिष्ट व्यक्तित्वहरूका पनि छोरा छैनन् । त्यसैले यो प्रश्न सरकारलाई पनि हो र देशलाई नै गरिएको प्रश्न हो ? के नेपालको संविधानमा यसरी छोरा र छोरीमा भेदभाव गर्ने सुविधा प्राप्त छ र ? यसरी हामीले उत्तर दिइरहनुको साटो छोरी हुनुमा पनि उत्तिकै गौरव गर्न पाउनुपर्ने होइन र ?

हामीले देखेका छौँ ती अनगिन्ती छोराहरूको अनुहार अनि छोरैछोरा पाएका बाबुआमाको अवस्था पनि । कर्तव्य, अनुशासन र जिम्मेवारीले पो कुनै दायित्व पूरा गरिन्छ । लैङ्गिकताले काहीँ त्यसो हुन सम्भव छ र ? छोरा भएर पाउनुपर्ने के हो ? अनि छोरी भएर नपाइने के हो ? भन्ने बोझिलो प्रश्नको उत्तर हामीलाई समाजले कहिले दिने हो ? त्यसको प्रतीक्षामा छौँ हामी । हामी त ढुक्कसँग यी प्रश्नहरूको उत्तर दिइरहन्छौँ तर विचरा ती छोरा पाल्नेहरूको दुःख र पीडाका कथा कसले सुनिदिने हो ?

हामीले नजन्माएका तर हाम्रो समाजले जन्माएका धेरै नक्कली छोराहरू हामीसँग छन् अब तिनले पनि ए ! छोरा छैनन् ? भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर दिनुपर्छ । संसारका सबै पुरुषहरूप्रति सम्मान छ र त्यत्तिकै सम्मान संसारका नारीजातिप्रति पनि रहोस् भन्ने कामना गरौँ ।

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-08-20 10:14 am

हाम्रो समाजको असली चित्रण। मान्छेले आआफ्नै सोच अनुसार न कुरा गर्ने हो। आफूमा नभएको ज्ञान कसैसंग सापट लिएर तत्काल कुरा गर्न नमिल्ने भएर नै यस्ता प्रश्नहरू ओइरिने होलान्।

भेष राज अर्याल
भेष राज अर्याल
2022-08-20 12:51 pm

सुन्दर लेख छ सर ।

Narayanprasad Ghimire
Narayanprasad Ghimire
2022-08-21 7:10 pm

यसरी हामीले उत्तर दिइरहनुको साटो छोरी हुनुमा पनि उत्तिकै गौरव गर्न पाउनुपर्ने होइन र ?

रिलेटेड न्युज

छुटाउनुभयो कि ?