अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा विजयी उत्सव

Read Time = 8 mins

-रामचन्द्र रायमाझी
पाल्पा । अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पाको तानसेनमा विजयी उत्सव मनाइएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकाली विजयी उत्सव मनाइएको हो ।

नेपाल–अंग्रेज युद्धमा गएका बेला तत्कालीन पाल्पाका कर्णेल उजीरसिंह थापाले भगवतीको रथयात्रा सुरुवात गरेका हुन् । पाल्पाको सदरमुकाम तानसेनमा हजारौ जात्रालु जिल्ला र जिल्लाबाहिरवाट आएका थिए । जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । कुमाल जातीका जवानले १२ बजेर ४५ मिनेटमा भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका थिए ।

भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको थियो । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको थियो । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा आएका थिए । यस्तै, विद्यार्थी र शिक्षकहरु समेत सहभागी भएका थिए । धार्मिक संघ संस्थाका झांकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएको भगवती मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले बताउनुभयो । जात्रा मनाउन तानसेन र वरपरबाट आएकाले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदी बली दिएर बिहानैदेखि पूजा दिनेको घुईचो लागेको थियो । कोभिडका कारण विगत दुई वर्ष औपचारिकता पुरा गर्न मात्र सामान्य रुपमा निकालिएको रथ यात्रा यस पटक भने हर्सोउल्लासका साथ निकालिएको हो ।

सन् १८७१/७२ मा अंग्रेजहरुले नेपालमा चौतर्फी आक्रमण गरेपछि भगवती देवीको सहयोगमा लडाई जितेका काजी अमर सिंह थापाका नाति कर्णेल उजीरसिंह थापाले भगवतीको रथयात्रा निकालेको किम्बदन्ती रहेको छ । कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो । यही सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजनकिर्तन गर्ने र भोलिपल्ट तानसेन भगवती टोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दुरजात्रा निकाल्ने परम्परा शुरु हुन्छ । बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाउने गरिएको हो । दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखि १९७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको बताइन्छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन यो ऐतिहासिक रथ यात्रा निकाल्ने गरिएको हो । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ ।

ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरतासँग जोडिएको भए पनि यो जिल्लामै सिमित बन्न पुगेकोमा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले चिन्त व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘भगवती जात्राको आफ्नै इतिहास रहेको छ, अंग्रेजलाई युद्धमा हराएको खुसीयाली यो जात्रासँग छ । यो राष्ट्रियतासँग जोडिएको भएकाले पनि संघीय सरकारले भगवती जात्रालाई राष्ट्रियकरण गर्नु पर्छ ।’ भगवती जात्रालाई प्रदेश सरकारले विशेष महत्वका साथ हेर्ने गरेको मन्त्री रानाले बताउनुभयो । भगवती जात्राका दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिदै आएको छ ।

भगवती जात्रा राट्रियता र राष्ट्रिय गौरवसँग गाँसिएकाले यसको ऐतिहासिक महत्व रहेको नेकपा एमालेका युवा नेता ठाकुर गैरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘पाल्पा भगवतीजात्रा’ राष्ट्रिय पर्व हो । यसको गौरवमय इतिहास, नेपालीहरुको वीरतासँगै गाँसिएकाले यसलाई राष्ट्रव्यापी बनाउनु आवश्यक छ ।’ ऐतिहासिक भगवती जात्राको सरक्षण, प्रवद्र्धनमा संघीय सरकारले समेत ध्यान दिनुपर्ने तानसेन नगरपालिका १२ का वडा अध्यक्ष मेजरसिंह केसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पर्व र संस्कृतिको संरक्षण स्थानीय सरकार एक्लैले सम्भव छैन, त्यसमा पनि भगवती जात्रा जस्तो राष्ट्रिय विरतासँग जोडिएको सांस्कृति पर्वको संरक्षण गर्न गाह्रो हुन्छ, त्यसका लागि संघीय सरकारले समेत ध्यान जरुरी छ ।’

तस्वीर

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?