सुर्खेत वन कार्यालय घटना : सहमतिपछि परिवारले शव बुझे

Read Time = 4 mins

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो ।

मृतकका परिवारले लामिछानेकोे कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि छानबिन समिति गठन गरिएको थियो । पीडित परिवारसँग छलफलपछि मृतक परिवारले आज शव उठाएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लामिछानेको परिवारबीच भएको वार्तापछि पीडित परिवारलाई रोजगारी दिने सहमति भएको छ ।

आश्रित परिवारमध्ये दुई जनालाई एक महिनाभित्र रोजगारी दिने सहमति भएको छ । डिभिजन वन कार्यालयका अनुसार लामिछानेका आश्रित दुई जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको हो । एक महिनाभित्र उनीहरुलाई रोजगारीमा लगाउने सहमति भएको छ ।

यस्तै परिवारले माग गरेको रु २५ लाख क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ । लामिछानेका एक छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति भएको कार्यालयले जनाएको छ । सहमतिपछि शव परीक्षण गरी आजै दाहसंस्कार गरिएको मृतकका छिमेकी कुलबहादुर खानले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा लामिछानेको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति गठन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा बनेको समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय एक अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य थिए ।

समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ परेका लामिछानेको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि उनका परिवार तथा आफन्तले आन्दोलन गरेका थिए । नम्बरिङ गरिएको सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?