विशिष्ट आगन्तुक आउँदा बस्न विच्छ्याई दिने ‘राडीपाखी’ दुर्लभ बन्दै

Read Time = 10 mins

-डम्मर बुढा मगर
बागलुङ । एक जमानामा ज्वाईलगायतका आगन्तुक आउँदा बस्न विच्छ्याई दिने राडी यति बेला दुर्लभ बन्दै गएको छ ।  विशेषगरी विशिष्ट पाहुना घरमा आउँदा घरको दलिनमा रहेको खाटमा राडी ओच्छ्याई दिएर बस्नलाई सम्मान गरिन्थ्यो । यतिबेला त्यो राडीको ठाउँमा ठूला तथा महंगा कुर्सी एवं सोफासेटले राडीको स्थान ओगेटेको छ ।

‘हाम्रा पालामा राडीपाखी बेचेरै खानलाउन पुगेको पुग्थ्यो, अहिले यहाँ कसैले पनि बुन्दैन हाम्रो हातपाखुरा बस्यो ।’ बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ६ की पूर्णकली घर्तीले एक दशक अगाडिसम्म राडीपाखी बुन्नु हुन्थ्यो । उहाँले बुनेका राडीपाखी देशमा मात्रै होइन विदेशसम्म पुग्थे । अहिले गाउँमा कसैले पनि राडीपाखी बुन्दैनन् । आफ्नो हातपाखुरा बसेपछि आफूले पनि नसक्ने भएकोमा चिन्तित हुनुहुन्छ ।

राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै गएको छ । जिल्लाको निसीखोला, तमानखोला, ढोरपाटन, ताराखोला लागायतका क्षेत्रमा करिब एक दशक अगाडिसम्म राडीपाखीको उत्पादन र विक्री वितरण निकै राम्रो भए पनि अहिले यदाकदा मात्रै देख्न पाइन्छ । राडीपाखी बुन्ने पेशा दुर्लभ बन्दै गएपछि बुढापाकालाई चिन्ता लागेको छ ।

८६ वर्षीया पूर्णकलीले नयाँ पुस्ताले यस प्रति चासो नदिँदा राडीपाखी बुन्ने पेसा लोप हुँदै गएको बताउनुहुन्छ । ‘अहिलेका पुस्ताले यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अल्ली झण्डटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरेँ तर सकिन’ उहाँले भन्नुभयो ‘हाम्लाई हाम्रो बाउ आमाले सिकाए सिक्यौँ, अहिले त सिकाउन खोज्दा पनि सिक्न चाहेनन्, त्यही भएर पनि यो पेसा हराउँदै गयो, मलाई त निकै पिर लाग्छ ।’

केही वर्ष अगाडिसम्म आफूपछिका पुस्ताले बुन्ने प्रयास गरे पनि अहिले कहीकतै बाहेक देख्न नपाइने उहाँको भनाई छ । नयाँ पुस्ताले सजिलो खोज्ने हुँदा राडीपाखी बन्ने पेसा संकटमा परेको सुनाउनुभयो । राडीखापी बुन्न भेँडाको उन अति आवश्यक पर्ने भन्दै भेँडापालक पनि घट्दै गएको उहाँ बताउनुहुन्छ । ‘राडीपाखी भेँडाको रौँबाट बन्ने चिज हो, अहिले त भेँडा पाल्ने मान्छे पनि घट्दै गए, पछि–पछि त भेँडाको बथान र राडीपाखी त देख्न पनि पाइँदैन होला’ उहाँले भन्नुभयो ।

कला, संस्कृतिमा धनि जिल्ला बागलुङमा पुराना परम्परा र पेसा हराउन थल्दा जिल्लाको पहिचाननै संकटमा पर्ने देखिन्छ । भेँडाको रौँलाई प्रशोधन गरि धानो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्ष यता जिल्लामा कम मात्रैमा देखिन्छ । बागलुङमा उत्पादन हुने राडीपाखी खास गरि गुल्मीको रिडीमा लाग्ने माघेसक्रान्ती मेलामा बढी विक्री हुन्थे । बागलुङबाट यस बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पु¥याउने र राम्रो मुल्य पार्ने गरेको ढोरपाटन नगरपालिका वडा नम्बर ९ की नरमता पुनले बताउनुभयो ।
‘रिडीमा ठूलो मेला लाग्थ्यो, यहाँबाट हामीहरु दर्जनौको संख्यामा वर्षभरी बुनेको राडीपाखी बोकेर बाटोमा बास बस्दै जान्थ्यौँ, त्यहाँ पुग्दै धेरै ठाउँबाट मान्छेहरुले राडीपाखी ल्याएर आउँथे, व्यापार निकै हुन्थ्यो,’ पुनले भन्नुभयो ‘अहिले त हामी बुढाबुढी भैयो जान पनि सकिन्न, मान्छेहरु कत्तिको जान्छन्, त्यो पनि थाहा हुँदैन ।’

उहाँले एउटा राडी तयार गर्न ५ देखि १० दिनसम्म लाग्ने सुनाउनु भयो । पुनले पुराना पुस्ताबाट नयाँ पुस्ताले नसिक्दा यो पेसा हराउँदै गएको बताउनुभयो । ओढ्न, बिच्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गर्थे । तर पछिल्लो समय निकै कम भएको छ । पुनले एउटा राडीलाई सामान्य ७ हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताउनुभयो ।

बागलुङ ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म प्रसस्तै देख्न पाइए पनि अहिले कहिँकतै मात्रै देख्न सकिन्छ । स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कम भएको तमानखोला गाउँपालिका वडा नम्बर ३ का मनप्रसाद बुढाले बताउनुभयो । ‘हाम्रो पालामा विदेशबाट कपडाहरु खास्सै आउँदैनथे, अहिले राम्रो–राम्रो कपडाहरु आउन थाले, मान्छेहरुले गाउँमा बुनेको कपडाहरु लागउन छोडिसके, सबैले कम्बल, सिकरहरु नै प्रयोग गर्न थाले त्यसले गर्दा बुन्ने सिप भएका मानछेले पनि बनाउन छोडे’ उहाँले भन्नुभयो ।

बुट्टेनली पनि लोप

बुट्टनलीले बागलुङको छुट्टै पहिचान बोकेको छ । बाँस, गजिङ, मालिङ, लेकाली भूङको काठमा हातले कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिन्छ । विशेषगरी यसमा विभिन्न देवि देवता, भगवान, व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, लगायत पौराणिक सांस्कृतिक झलक र प्राकृतिक सुन्दर्यलाई कलात्मक शैलीमा बनाइएको हुन्छ । बागलुङसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसको माग र महत्व निकै भए पनि पछिल्लो समय यो लोप हुँदै गएको छ ।

बुट्टेनली बनाउने बुढापाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप भएको हा । नयाँ पुस्ताले आफ्ना कला, संस्कृतिप्रति चासो नदिँदा मौलिक संस्कृतिहरु हराउँदै गएको ढोरपाटनमा बोमबहादुर घर्तीले बताउनुहुन्छ । ‘अहिलेका युवा लाहुर जाने रे, घरमा गाउँमा बस्नै मान्दैनन्, घरमै नबसेपछि कसरी सिक्छन् कला ?,’ उहाँले निरास हुँदै भन्नुभयो ‘हाम्रो पालामा लाहुर जाने चलननै थिएन, गाईभैँसी, भेँडाबाख्रा हेर्न वन जंगल जाने चलन थियो, हामी उतै जाँदा बाउबाजेबाट सिकेको, अहिले त यस्ता कला देखिनै छोडे ।’
बुट्टे नली बनाउनका लागि आवश्यक सामग्री समेत पर्याप्त नहुँदा लोपोन्मोख अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । धेरैजसो पशुचौपाया पाल्नका लागि लेकहरुमा बस्ने र त्यहाँ प्रशस्त रुपमा गलिङ, मालिङ र भूङ (बुट्टेनली बनाउने काठ) पाइने हुँदा धेरै बनाउने गरेको र अहिले कच्चा पदार्थ समेत बिस्तारै हराउँदै गएका छन् ।

बुट्टेनलीले बागलुङलाई नेपालमा मात्रै होइन, विश्वमै पहिचान दिलाएको थियो । बागलुङमा आउने बाह्य तथा आन्तरिक पर्यटकले चिनो तथा कोसेलीका रुपमा यसलाई लिएर जाने गर्थे । पहिचान, व्यावसाय र संस्कारसँग जोडिएको बुट्टेनली लोप हुँदै जानु दुःखद विषय भएको स्थानीय बताउँछन् । यस्ताखालका पहिचान र कला संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकार र सरोकारवालाको पनि ध्यान नपुगेको उनीहरुको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?