मौलिक बाजा प्रदर्शनी

Read Time = 2 mins

काठमाडौं । देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर सङ्घले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी आयोजना गरेको छ । काठमाडौँ महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठवटा टोलले बाजा प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा चस्वांद्वँ मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुठी, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर सङ्घ, मानन्धर सानाःगू खलः न्हूसाः, पाक्व पुखूद्याँ सनाः खलः, भिंद्यः गुठी कालीमाटी र लायकूसाः मानन्धर समाजका कलाकारले प्रस्तुति प्रदर्शन गरेको आयोजकले जनाएको छ ।

बाजा प्रस्तुति दिएका कलाकारमध्ये अधिकांश १५ देखि ४० वर्षका किशोर, किशोरी, युवा तथा महिला रहेको बताइएको छ । सङ्घले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी आयोजना गरिएको जनाएको छ ।

सो अवसरमा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजा संस्कृति संरक्षणमा सक्दो सहयोगको आश्वासन दिँदै सांस्कृतिक सेतुमार्फत् समुदायलाई जोड्नुपर्ने सैद्धान्तिक मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

केन्द्रीय मानन्धर सङ्घका सभापति मनोजकुमार मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ महानगरपालिका-१७ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धर, १३ का ध्रुवनारायण मानन्धर, २० का राजेन्द्र मानन्धर, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधानलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?