‘लैङ्गिक विभेद महिला उद्यमशीलताको चुनौती’

Read Time = 4 mins

काठमाडौं । महिला उद्यमी तथा व्यवसाय विज्ञहरूले महिला उद्यमशीलताका लागि व्यापार सहजीकरणमा जोड दिएका छन् । छैटौँ अन्तर्राष्ट्रिय महिला व्यापार प्रदर्शनी तथा गोष्ठी २०२२ का अवसरमा नेपाल महिला उद्यमी महासङ्घ र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (साउती) द्वारा संयुक्तरूपमा आयोजित व्यापार सहजीकरणको भूमिका अन्तर्राष्ट्रिय बजारहरूमा महिलाको नेतृत्वमा उद्यमहरूको पहुँच प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा उनीहरूले यस्तो जोड दिएका हुन् ।

साउतीकी कार्यक्रम संयोजक दीक्षा सिंहले महिलाको स्वामित्वमा रहेका व्यवसाय आकारमा साना, कम नाफामुखी, आवश्यकताभन्दा बढी हुने र स्थानीय बजारमा सीमित रहेको बताउनुभयो । निर्यातमा महिलाको नेतृत्वमा रहेका उद्यममध्ये १७ प्रतिशतमात्रै संलग्न रहेको भन्दै अर्थतन्त्र लैङ्गिक संरचना भएकाले महिला उद्यमीले सामना गर्ने चुनौती र अवरोध पुरुषले सामना गर्ने जस्ता नरहेको पनि उहाँले बताउनुभयो ।

विदेशी व्यापार प्रक्रिया र योजनाबारे जानकारीको कमी, व्यापार मेलामा सीमित पहुँच, वित्तमा सीमित पहुँच, लागत, व्यापारिक स्थान र नीति निर्माणमा महिलाको उपस्थिति अभावले महिलालाई व्यापारमा संलग्न चुनौतीका रूपमा रहेको पनि सिंहले बताउनुभयो । व्यापार सहजीकरण विज्ञ श्यामप्रसाद दाहालले नेपाल भन्सारले भन्सार कागजातको इलेक्ट्रोनिक पेसिङलाई अवलम्बन गर्न नसकेको र व्यापारलाई बोझ बनाउँदै आएको बताउनुभयो । तर, भन्सार विभागकी शाखा अधिकृत प्रतिष्ठा कोइरालाले भने भन्सार सुधार तथा आधुनिकीकरण कार्ययोजनाले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई समेटेको दाबी गर्नुभयो ।

महिला उद्यमी महासङ्घका महासचिव महालक्ष्मी श्रेष्ठले व्यावसायिक चुनौतीका अनुभव सुनाउनुभयो । व्यवसायमा पुरुष प्रधानतालााई चिर्र्दै आफूले मौरीपालन व्यवसायलाई अघि बढाएको भए पनि वित्तीय पहुँच र निर्यातका लागि उपयुक्त बजार खोज्न अझै पनि समस्या रहेको उहाँले गुनासो गर्नुभयो । सभा नेपालका बोर्ड सदस्य रेखा अर्यालले महिलाले सामना गर्ने सबैभन्दा ठूलो बाधा आर्थिक पहुँच नै भएको बताउनुभयो । महिलाले नोकरशाही प्रक्रियामा उत्पीडनको सामना गर्नुका साथै सामाजिक-आर्थिक कठिनाइ सामना गर्नुपरिरहेको उहाँको भनाइ छ । महिला बलियो आर्थिक स्थितिमा नआएसम्म समस्या र अवरोध कायमै रहने भएकाले नीतिगत तहबाटै लैङ्गिक समस्या समाधानमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?