संरक्षण अभावमा करोडौंको भ्युटावर जीर्ण बन्दै

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न बागलुङका विभिन्न स्थानमा भ्युटावरहरू निर्माण भएका छन् । कतिपय भ्युटावर लामो समयदेखि मर्मत सम्भारसमेत हुन सकेका छन् । केही जीर्ण बनेका छन् त केही जीर्ण बन्ने अवस्थामा छन् । त्यसमध्ये बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको भ्युटावर त्यो अवस्थामा पुगेको छ । २०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका-१० स्थित भकुण्डे भ्युटावरको संरक्षण नहुँदा विभिन्न संरचनामा क्षति पुगेको छ ।

करिब एक करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटारको संरक्षण नहुँदा कुरूप देखिँदै गएको छ । बस्ती भन्दामाथि रहेको भ्युटावर संरक्षणको अभावमा विस्तारै कुरूप हुँदै गएको छ । भ्युटावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामग्रीहरू समेत तोडफोड गरिएको पाइएको छ ।

भ्युटावर संरक्षणमा सरोकारवालाहरूले चासो नदिँदा एक करोड खर्चेर बनाइएको संरचना विस्तारै बिग्रँदै जाने देखिएको पाइएको छ । भ्युटावरमा प्रयोग गरिएको विद्युत्का केही सामग्री चोरी भएको, विद्युत्का तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको पाइएको दृश्यावलोकनका लागि पुग्नुभएको संघम घर्तीले बताउनुभयो ।

निर्माण सुरु गरिएको सात वर्षमा सम्पन्न भएको भ्युटावर सौन्दर्यकरणका लागि दुई वर्ष अगाडि चौथो तलामा बागलुङ नगरपालिकाले १० लाखको लागतमा लगाइएको सिसाको पूर्वपट्टिको भाग पूरै फुटाइएको अन्य भागको सिसामा प्वाल परेको र चर्केको छ । पछिल्लो समय बागलुङ नगरपालिका–१० भकुण्डेस्थित मुलाबारी भ्युटावर पर्यटकहरूका लागि रोजाइमा पर्न थाले पनि भ्युटावरको संरचनामा क्षति भएको र यो विषयमा नगरपालिकालाई जानकारी गराएको बागलुङ नगरपालिका-१० का वडा अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो ।

‘भ्युटावर गाउँ भन्दामाथि जंगलको बीचमा छ, सुरक्षाको लागि तारबारसमेत गरेर बलेवा र भकुण्डे क्षेत्रमा गेट समेत निर्माण गरिएको थियो, भने भ्युटावरमा हेरालुसमेत राखिएको थियो’ वडा अध्यक्ष थापाले भन्नुभयो, ‘अहिले हेरालुले प्रवेश शुल्कद्वारा संकलन गरिएको रकम कोरोनाका कारण कमी आएको भन्दै छोडेर गएछन्, अहिले सुरक्षा गर्ने कोही छैन, दुई स्वागत बोर्डसमेत पल्टिएको छ, नगरपालिकामा मर्मतका लागि भनेको छु भने सुरक्षाको लागि प्रहरी खटाउन पहल गरिरहेको छु ।’

पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्युटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको भए पनि भ्यूटावरको पर्खालमा जथाभावी शब्दहरू लेख्ने कार्यले त्यहाँ पुगेका पर्यटकहरूलाई समस्या भएको गुनासो छ । विषेशगरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, संग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् भने बिहानै उठेर दृश्य अवलोकनका लागि गाउँमाथिको डाँडामा रहेको भ्यूटावर पुग्ने गरेका छन् ।

भ्युटावर छेउमै बनेको खरको कटेज अहिले भग्नावशेष अवस्थामा छन् भने रेष्टुराँ खोल्नलाई बनाइएको जस्ताको छाप्रोसमेत भत्किएको छ । अहिले जेसिज बागलुङले बनाएको स्वागत बोर्डसमेत भुइमा ढलेको छ । भकुण्डे भ्युटावरको संरचनामा क्षति पुगेको विषयमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अनुगमनसमेत गर्नुभएको बागलुङ नगरपालिकाले जनाएको छ । भ्युटावर संरक्षणमा स्थानीयको सक्रियता हुँन आश्यक देखिए पनि नगरपालिकाले भ्यूटारको मर्मतसम्भार गर्ने नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । ‘हामीले संरचना बनाउने हो संरक्षणको जिम्मा स्थानीयकै हुन्छ, संरचनामा क्षति पुगेको अनुगमनका क्रममा समेत पाइयो, हामीले मर्मत संभार गरेर पुनः स्थानीयलाई सुरक्षा गर्न भन्ने छौं’ खड्काले भन्नुभयो, ‘राज्यले करोड खर्चेर बनाएको संरचना विग्रन हुँदैन, त्यहाँ पुग्ने केही पदमार्गसमेत मर्मत गर्न आवश्यक देखिएको छ, हामीले त्यो काम गर्ने र पुनः भ्युटावरलाई पुरानै अवस्थामा फर्काउने छौं ।’

भकुण्डेमा पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा भ्युटावर निर्माण थालिएको थियो । तत्कालीन जिल्ला विकास समिति, संसद् विकास कोषमा बनेको भ्युटावको अन्तिम रूप बागलुङ नगरपालिकाले तयार गरेको थियो । भ्युटावरमा पुग्नका लागि रेलिङसहितको पदमार्ग, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण भए पनि पानीको अभावमा खानेपानीको ट्यांकी र धारोसमेत प्रयोगविहीन बनेको छ ।

भारतको दार्जलिङ तथा पोखराको सराङकोटबाट देखिने सूर्योदयको विकल्प भकुण्डेको भ्युटावरबाट देखिने सूर्योदय हुनसक्ने भकुण्डे पुग्ने पर्यटकहरूले बताएका छन् । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुद्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा चारतले पक्की भ्युटावर रहेको छ । कोभिड संक्रमण सुरु हुनुभन्दा पहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो थियो । अहिले वर्षाको कारण सुनसान जस्तै बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?