नेता गिरिको आज अन्त्येष्टि गरिँदै, पार्थिव शरीर दिउँसो सानेपामा राखिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

त्यसअघि, उहाँको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस संसदीय दलको कार्यालये जनाएको छ ।

७५ वर्षको उमेरमा शनिबार राति गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

कांग्रेसका नेता, सांसद तथा राजनीतिक विश्लेषक गिरि लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल फर्किनुभएको थियो । नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा। पंकज वर्मन नेतृत्वको चिकित्सक टोली गिरिको उपचारमा संलग्न थियो ।

गिरिको निधनसँगै नेपालले एउटा बौद्धिक राजनीतिक व्यक्तित्व गुमाएको छ । सिराहामा जन्मिनुभएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

उहाँका पिता मित्रलाल गिरि कांग्रेसका नेता हुनुहुन्थ्यो । पिताबाट राजनीतिमा लाग्नुभएका उहाँ २०१७ सालमा कांग्रेसमा आवद्ध हुनुभएको थियो । नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताउनुभएको थियो । गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय हुनुहुन्थ्यो ।

उहाँले एक दर्जन भन्दा बढी पुस्तक लेख्नुभएको छ । महात्मा गान्धीका अनुवायी गिरि नेपालमा मार्क्सवादको राम्रो ब्याख्या गर्नसक्ने व्यक्तिमा पर्नुहुन्थ्यो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?