परमादेशबाट बनेको सरकारबाट देश एक वर्षमै तहसनहस भयो : ओली

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनुभयो । सत्ता गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको उहाँको भनाइ थियो । परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उहाँले दाबी गर्नुभयो ।

उहाँले मनपरीतन्त्रबाट देशलाई जोगाउनका लागि एमालेले जित्नैपर्ने धारणा राख्नुभयो । मंसिर ४ गते नयाँ नेपालको इञ्जिनियरिङ गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले सो चुनाव एमालेका लागि नभएर देशका लागि एमालेले जित्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशका निम्ति, देशको स्वाधिनताको निम्ति, सार्वभौमसत्ताको निम्ति, स्वतन्त्रताका निम्ति, भौगोलिक अखण्डताका निम्ति, स्वाभिमानका निम्ति, राष्ट्रिय हितका निम्ति, लोकतन्त्रका निम्ति, लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा अपनाउनका निम्ति, समाजमा शान्ति–सुव्यवस्था कायम गर्नका निम्ति, स्थिरता स्थायित्व कायम गर्नका निम्ति, सुशासन र विकासको बाटोमा देशलाई अगाडि बढाउनका निम्ति र वास्तवमा समृद्ध नेपाल नेपाल सुखी बनाउनका निम्ति हामीले चुनाव जित्नैपर्छ ।’

एमसिसीका नाममा अनेक तमासा देखाउने काम गठबन्धनभित्रका दलले देखाएको अध्यक्ष ओलीले बताउनुभयो । एमाले सरकारमा आएपछि कैयौँ कामहरू भएका उहाँले बताउनुभयो । एमालेले जति विकासका काम गर्‍यो विरोधीहरू त्यति आत्तिँदै गएका अध्यक्ष ओलीको भनाइ थियो ।

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इञ्जिनियरिङ कलेज सञ्चालनका लागि इञ्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताउनुभयो । आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उहाँले बताउनुभयो । विकास निर्माणमा इञ्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि जतिसक्दो योगदान दिन इञ्जिनियरलाई ओलीले आग्रह गर्नुभएको छ ।

एमालेसँग मिल्ने कुरा कल्पनासम्म गर्न सकिन्न : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा उहाँले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टीपंक्तिलाई सचेत गराउनुभएको हो । ओलीबारे ‘पोजेटिभ’ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो ।

अध्यक्ष नेपालले ‘हामीलाई अपराधी घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्वीकार नगर्ने ओलीलाई मुखभरिको जवाफ दिन’ पार्टीका नेता–कार्यकर्तालाई सक्रिय हुन निर्देशनसमेत दिनुभयो । उहाँले एमालेसँग मिल्न जाने कल्पनासमेत गर्न नसकिने पटक-पटक दोहो¥याउनुभयो । विचार मिल्ने, कुरा मिल्ने वामपन्थी दलहरूसँग एकताबद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाइरहेको भन्दै उहाँले एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताउनुभयो । ‘एमालेसँग जाने कल्पना नै गर्न सकिँदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्वीकार गर्दैन, जसले हामीलाई अपराधी घोषणा गरेको छ, जसले हामीलाई देशद्रोही भनेको छ, त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नुहोला । गर्नुहुन्छ भने कुरा बिग्रन्छ, म क्लियर गर्न चाहन्छु, त्यस्ता कुराहरूमा लाग्न जरुरी पनि छैन ।’ अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका ‘१० भाइ’हरूको एमालेमा बिजोग भइरहेको टिप्पणी पनि गर्नुभयो । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरूले बाध्य भएर नयाँ पार्टी गठन गर्नुपरेको उहाँको भनाइ थियो ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?