कांग्रेसले गर्‍यो चुनावी अभियानको घोषणा : भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु हुने गठबन्धनका सहयात्री दलले पेल्न खोजे परिणाम राम्रो नहुने चेतावनी

फाइल फोटो

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं ।  सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित चुनावी अभियान घोषणा गरेको छ । ‘जनताको साथमा कांग्रेस’नाम दिएर कांग्रेसले यही भदौ १० देखि २४ गतेसम्म पहिलो चरणको चुनावी अभियान सञ्चालन गर्न लागेको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ । अभियानमा खटिने प्रतिनिधिहरूको लागि कांग्रेसले आज अभिमुखी कार्यक्रम राखेको छ । प्रतिनिधिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले प्रशिक्षण दिने कार्यक्रम छ ।

चुनावी अभियानबारे जानकारी दिन शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन आयोजना गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अभियानमा जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र आत्मसात गर्नेमा केन्द्रित हुने जानकारी दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । जनताका समस्या सुन्छौँ । तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ । सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेलको औचित्य पुष्टि गर्छौँ । केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा पाँच दिनसम्म कार्यक्रममा सहभागी हुनेछन् ।’

प्रवक्ता महतले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गरिने पनि जानकारी दिनुभयो । केन्द्रबाट खटाइएको केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने र अभियानका लागि प्रदेश समिति तथा जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्ने प्रवक्ता महतले जानकारी दिनुभयो ।

यसबाहेक जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश निर्वाचन क्षेत्र, पालिका समिति र वडा समितिले पनि मातहतका टोलस्तरसम्म अभियान सञ्चालन गर्ने महतको भनाइ छ । स्थानीय तह निर्वाचनका बेला पनि कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारा दिएर एकमहिने अभियान सञ्चालन गरेको थियो ।

कांग्रेसको ध्यान धेरै सिट लिनेभन्दा परिणाम धेरै लिनेमा केन्द्रित
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते तय भएको आमनिर्वाचनमा परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्दित रहेको जानकारी दिँदै भन्नुभयो, ‘कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा हामी परिणाम ल्याउने ? त्यो महत्वपूर्ण हो हाम्रा लागि । हामी उठ्नेचाहिँ धेरै ठाउँमा, परिणामचाहिँ कम । २०७४ मा हामीले १६५ क्षेत्रमै लडेको होइन ? २३० प्रदेश निर्वाचनमै लडेको होइन ? १६५ मा हाम्रो जम्मा २३ सिट मात्रै आयो । यो कुरालाई हाम्रा जिल्लाका साथीहरूले बुझ्दै पनि जानुभएको छ, बुझ्नु पनि हुन्छ । तर, त्यहाँको भावना, भोट ट्रान्सफर कसरी हुन्छ, हुँदैन सबै स्थिति मूल्यांकन गरेर यसको टुंगो लगाउँने छौँ ।’

प्रवक्ता महतले सत्तारूढ गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोसिस भइरहेको जानकारी दिँदै सिट बाँडफाँट जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

यी हुन् अभियानका चार उद्देश्य
१. मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने ।
२. जनताको घर-आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाहरू बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
३. कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।
४. निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

अभियानको समयावधि
१. पहिलो चरण- भाद्र १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म ।
२. दोस्रो चरण-समानुपातिक उम्मेदवारी दर्तापछि ।
३. तेस्रो र निर्णायक चरण-प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि ।
कांग्रेसले भदौ १० गते अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्न-भिन्न स्वरूपमा गरिने जनाएको छ । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कतै जिल्लास्तरीय रूपमा, कतै जिल्लाको निर्देशनअनुरूप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गर्न सकिने जनाएको छ । उद्घाटन समारोहमार्फत अभियानको उद्देश्यबारे सार्वजनिक प्रकाश गरिनेछ । गाउँ–नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुनेछ । तर, मूलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिनेछ ।

अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिनेछन् । ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चात्को प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् । भदौ २४ गते बिपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरेबमोजिम केन्द्रीकृत रूपमा अथवा विभिन्न तहमा विकेन्द्रित ढंगले विभिन्न कार्यक्रमका साथ हुनेछ ।

कांग्रेसलाई पेल्ने बेला यही हो भन्ने सोचियो भने परिणाम राम्रो हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०७४ मा फलानो-फलानोले जितेको थियो भनेर त्यही आधारमा सिट बाँडफाँट गर्दैमा चुनाव जित्न नसकिने बताउनुभएको छ । शनिबार स्वयम्भूमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहनुभएका महामन्त्री थापाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भए पनि त्यसको औचित्यबारे प्रश्न उठिरहेको बेला त्यसबारे जनतालाई प्रष्टसँग बुझाउनु आवश्यक रहेको बताउनुभयो ।

गठबन्धन दलले कांग्रेसलाई पेल्ने यही बेला हो भन्ने सोचेर सिटमा भाग मागिरहेको टिप्पणी गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘चुनावको मुख छ, गठबन्धन गर्नुपर्ने बाध्यता छ भन्ने ठानेर कांग्रेसलाई दल्न मिल्छ, पेल्न मिल्छ भनेर सोचियो भने गठबन्धन दलले सिट त पाउनुहोला । तर, त्यसरी चुनाव जितिन्छ जस्तो लाग्दैन । कांग्रेसको संगठन र कार्यकर्ताको मनोविज्ञान नबुझेर हुने गठबन्धनको अर्थ छैन । मानौँ कि कुनै क्षेत्रमा कांग्रेससँग २० हजार मत छ, अर्को दलसँग दुई हजार मत छ, र त्यस्तो क्षेत्रमा २२ हजार मत हुँदा चुनाव जितिन्छ भन्ने छ भने २० हजारमा दुई हजार थपेर २२ हजार बनाउन सकिएला, तर दुई हजारमा २० हजार थप्दा २२ हुँदैन, चुहिन्छ ।’

महामन्त्री थापाले केवल चुनाव जित्नका लागि मात्रै गठबन्धन गर्नुको औचित्य नहुने जिकिर गर्दै भन्नुभयो, ‘अहिले तालमेल गर्ने सहमति भइसकेको छ । तर, चुनावपछि के हुने भन्ने कसैले ग्यारेण्टी गर्न सकेको छैन । अहिले तालमेल गरेर मत मागौँला, चुनाव सकिएको छैन, एउटा एकातिर अर्को अर्कोतिर लाग्ने हो भने चुनाव जित्नका लागि मात्रै गठबन्धन किन गर्ने ? त्यसकारण चुनावमा तालमेल केका लागि गर्ने ? त्यो कुरा प्रष्ट हुन जरुरी छ । कम्तीमा हामीबीच न्यूनतम विषयहरूमा साझा धारणा हुनु आवश्यक छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?