आठ महिनापछि माओवादीले छान्यो ‘म्यादी’ पदाधिकारी, महासचिवमा देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन, महिला एकजना मात्रै

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले २१ जना म्यादी पदाधिकारी चयन गरेको हो । छिट्टै विशेष महाधिवेशन गर्ने निर्णय गरेको माओवादीले त्यतिन्जेलसम्मका लागि पदाधिकारी चयन गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले विशेष महाधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको बताउनुभयो । विशेष महाधिवेशनको मिति भने तय गरिएको छैन । ‘हामीले विशेष महाधिवेशन गर्ने भनेका छौँ, विशेष महाधिवेशनसम्मका लागि पदाधिकारी चयन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसको मिति पछि तय गरिनेछ ।’

बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको छ । महासचिवमा देव गुरुङ चयन हुनुभएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ । त्यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाण्डे, राम कार्की र डिलाराम आचार्यलाई चयन गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिवसमेत रहनुभएका श्रीराम ढकाललाई चयन गरिएको उहाँले बताउनुभयो ।

गत पुसमा महाधिवेशन गरेको माओवादीले आठ महिनासम्म पदाधिकारी छान्न सकेको थिएन । महाधिवेशनले पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारी छान्ने ‘म्याण्डेट’ दिएको थियो । पदाधिकारी छान्ने जिम्मा पाएको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरे पनि पदाधिकारी छान्न सकेको थिएन । त्यसपछि असारमा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई चयन गरेको थियो । आकांक्षी धेरै भएपछि माओवादी अध्यक्ष प्रचण्डलाई महासचिव छान्न सकस परेको थियो ।

आठ महिना लगाएर छानिएको पदाधिकारीमा पनि एकजना महिलाको संख्या एक मात्र परेको छ । उपमहासचिवमा पम्फा भुसाल चयन हुनुभएको छ । उहाँबाहेक अरू सबै पदामा पुरुष मात्रै छन् । पदाधिकारी चयन गर्दा ३३ प्रतिशत महिला समावेश गरिनुपर्ने आवाज गत केन्द्रीय कमिटीमा उठेको थियो ।

सहमति नजुट्दा गुरुङलाई फाइदा
नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन हुनुभएको छ । शनिबार बसेको माओवादी स्थायी समिति बैठकले गुरुङलाई महासचिव चयन गरेको हो । गुरुङ माओवादीमा चौथो वरीयताका नेता हुनुहुन्छ । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो विकल्पको रूपमा गुरुङलाई महासचिव बनाउनुभएको हो । मनाङमा जन्मिनुभएका गुरुङ २०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य हुँदै २०४० मा अखिल आठौँको केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । माओवादी सशस्त्र युद्धमा समेत सामेल गुरुङले चार वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहनुभएका उहाँ लमजुङबाट निर्वाचित सांसद हुनुहुन्छ ।

‘सबैलाई समेट्ने कोसिस गर्छु’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको विधानअनुसार सबैलाई समेटेर लैजाने बताउनुभएको छ । महासचिवमा चयन भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले अध्यक्ष र पार्टी विधानले दिएको जिम्मेवारी निभाउन आफू हर्दम तयार हुने बताउनुभयो । ‘कम्युनिष्ट पार्टीमा टिम बनाउने अधिकार अध्यक्षको हो । मैले पहिलेदेखि नै भन्दै आएको थिएँ, पद दाबी गर्ने कुरा होइन,’ उहाँले भन्नुभयो, ‘मैले मागिनँ पनि । अध्यक्षले विश्वास गरेर मलाई जिम्मेवारी दिनुभएको छ । त्यो पूरा गर्छु । सबैलाई समेट्ने कोसिस गर्छु ।’

चुनावी घोषणापत्रको मस्यौदा बनाउन नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय समिति
अखिलको विवाद मिलाउने जिम्मा अध्यक्ष ‘प्रचण्ड’लाई
नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रको मस्यौदा समिति गठन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँका अनुसार जसको सदस्यमा देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, विष्णु चौधरी, भीमा ढुंगाना र जगत सिम्खडा हुनुहुन्छ । यसैगरी, पार्टीनिकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)मा देखिएको विवाद मिलाउने जिम्मा अध्यक्ष ‘प्रचण्ड’लाई दिइएको महराले जानकारी दिनुभयो । त्यस्तै, पार्टीका रिक्त आयोग र विभागका सदस्य चयनका लागि केन्द्रीय कार्यालयसँग छलफल गरेर आउँदो बैठकले टुंगो लगाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण गर्ने
माओवादी स्थायी समिति बैठकले यसअघि स्थगित विभिन्न प्रदेशका बैठक तथा प्रशिक्षणको मितिसमेत तय गरेको छ । माओवादीले सात भौगोलिक र दुई गैर भौगोलिकसहित नौ प्रदेशमा चुनाव लक्षित प्रशिक्षण गर्ने भएको हो । भदौ आठ गतेदेखि १७ गतेसम्म पार्टी प्रशिक्षण गर्ने महराले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ आठ गतेदेखि मधेश प्रदेशबाट सुरु हुनेछ । भदौ ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर एक, ११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण गर्ने उहाँले बताउनुभयो । पार्टी प्रशिक्षणमा अध्यक्ष प्रचण्डसहित नवनिर्वाचित पदाधिकारी प्रायः सबै सहभागी हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?