राजेन्द्र अर्यालको आजको मान्छे : हेर्दा यस्तै देखियो

हिमालय टाइम्स
Read Time = 20 mins

✍️ तिलकप्रसाद लुइँटेल 

साउन २९ गतेको अंकबाट क्रमशः
तीन सय साठी डिग्रीको फेरो सिर्जना क्रममा पूरा भइसकेको रहेछ । एउटा नयाँ वर्ष गएर अर्को आइपुग्यो । प्रत्येक पलले नयाँ सन्देश ल्याउँछ, हरेक बिहानीले नयाँ जीवन दिएर जान्छ, सूर्यले नयाँ दिनसँगै हरेक पटक नयाँ बनाएर जन्माउँछ, हेर्ने आँखा आफ्नो हो र मनन् गर्ने मन आफ्नो हो । सेकेण्ड, मिनेट, घण्टा, दिन गर्दै समय त आफ्ना गतिमा छ तर आउँदो क्षण कस्तो छ ? नचिताएको कोसेली दिएर पनि जान सक्छ र कल्पना नै नगरीकन निमेष, पल, घडी, अहोरात्र र संसार नै समाप्त पनि हुन सक्छ । जीवन छ भने संसार छ, आफू नभए संसार कहाँ होला ? आज नयाँ वर्ष शीर्षकको कवितामा, ‘उमङ्ग र उत्साहको भेलसँगै... आज नयाँ वर्ष हो ।’

रङको सुन्दरता हेर्ने आँखा मान्छेका नै हुन् । अन्य प्राणीलाई मिठो र सजिलोको अर्थ होला तर कलात्मक र सुन्दरताको बोध मानिसले नै गर्छ, किनकि रोज्ने मानिस नै हो । त्यसैले क्षितिज मेरो हो वा पराईको भनेर चिन्ने पनि मानिस नै हो । अर्काको खेती बिगार्ने नियतले साँढे बालीमा पसेको होइन, ऊ त आफ्नो पेट भर्न गएको हो, आफ्नो वा अर्काको, बाली अथवा घाँस भनेर जान्ने मान्छे हो । आफ्नो र अर्काको क्षितिजको परिधि चिनेपछि नै आफ्नो क्षितिज रम्य बनाउन मानिस तम्सिन्छ । क्षितिजका रङ्गहरू शीर्षकको कविता यसरी नै ‘लक्ष्यमा पुग्ने उत्कट..सहर्ष आत्मसात् गरिरहेछु ।’

भोक कसैको उन्नति गराउने वरदान हो भने कसैको पतन गराउने अभिशाप पनि हो । आजका विश्वको चकाचौध भोकले जन्माएको हो र मानिस मानिसका बीचको लुछाचुँडी पनि भोककै जरा टेकेर हुर्कंदै छ । भोकले मान्छे जुटायो, भोकले नै मान्छे फुटायो ।

विश्वासको मोल मानिसले बुझेको छ र नै धोका पनि मानिसले पाउँछ । अरू प्राणीका शब्दकोशमा विश्वास पनि छैन र धोका पनि छैन । धोकाको जन्मदाता विश्वास हो र त्यसैलाई नअँगाली जीवन पनि चल्दैन । विश्वास जति गहिरो, उति नजिकको हुन्छ र धोकाको सम्भावना उति बढ्छ । जति निकटस्थ विश्वासले धोका दियो चोट पनि उति गहिरो र मर्मान्तक हुन्छ । सायद मोह त्यागको सिद्धान्त महर्षिहरू यसै कारण प्रतिपादन गरे हुनन् । धोका खाइरहेछु शीर्षकको कविता ‘निष्पट्ट कालो रात जस्तै..निःसर्त धोका खाइरहेछु ।’

नामको परिचय स्थूलको खोजी हो । कसैले बाहिरबाट घर चिन्दछ, कसैले गाडी, मान्छे चिन्दछ । जगदेखि कौसीसम्म घरका पत्र पल्टाएर हेर्दा पनि ढुङ्गा, सिमेन्ट, बालुवा, रड भेटिएला तर घर भेटिँदैन । टाउकादेखि पैतालासम्म खोज्दा हात, खुट्टा, नाक, मुख, दाँत भेटिएला तर त्यहाँ मान्छे भेटिँदैन । कुर्सीका लागि लड्नेले नेपाल चिन्छ भन्ने भ्रम युगौँदेखि छ । आरा चिर्न, गोठ पाल्न, पल्टन जान गएकाहरू मामको जोहो र नामको चिनारी खोज्न गए । आँतले स्वीकार गरेपछि केही नभए पनि चल्छ । नामको चिनारी शीर्षकको कवितामा ‘अनुभवले पाठ सिकाएको छ...उसको देश रहेछ ।’

भोक कसैको उन्नति गराउने वरदान हो भने कसैको पतन गराउने अभिशाप पनि हो । आजका विश्वको चकाचौध भोकले जन्माएको हो र मानिस मानिसका बीचको लुछाचुँडी भोककै जरा टेकेर हुर्कंदै छ । भोक लाग्ने ठाउँ फरक छन् । भोकले मान्छे जुटायो, भोकले नै मान्छे फुटायो । पेटले कुदाएको जस्तै जुवातास, भ्रष्टाचार, घात प्रतिघात भोककै परिणाम हुन् । सम्बन्ध र प्रतिबन्ध भोककै परिणाम भए । सम्बन्ध कवितामा ‘त्यही सम्बन्धहरूका बीचबाट..लिलाम बढाबढमा उद्यत् भेट्यो ।’

जीवन यात्रा हो, प्राणी त्यसको यात्री । गन्तव्य असीम छ, सायद उसैलाई थाहा छैन । महत्वाकाङ्क्षाको अर्धानो सवारीसाधनमा उसको अविराम यात्रा चल्दो छ । कोसेली बनाएको दुःखको भारी बोकेर हिँडेकाले जीवनलाई युद्ध नै मान्छ, जीवन सङ्घर्ष हो भन्छ । सुखको हावा खाएर बाँच्नेले जीवनलाई अवसर भन्छ, उसले यज्ञ ठान्छ । सुखमा पूरा गरेको कर्तव्यले जीवनको सार्थकता ठम्याउँछ, दुःखले निर्वाह गर्नुपर्दा रोदन उसका हातमा आउँछ । संसार उही हो, जीवनचर्या उस्तै हो, आखिर दुःख र सुख मनको भाव हो । गन्तव्य शीर्षकमा पढ्दा ‘उत्साह र उमङ्गका..गन्तव्यमा पुग्ने छौ ।’

तीन वर्षदेखिको गुप्तवास मानिसको अझै पनि त्रासद स्थिति निमिट्यान्न भएको छैन । मानिसको पुरुषार्थ मानिसका सामु गफको विषय अवश्य होला तर प्रकृतिका सामु निरीह छ । महाव्याधिका सन्त्रासबाट सक्दो पलायन मानिसका लागि ध्यानमग्न महादेवको ध्यान जस्तो भयो । कोरोनाले मानिसका सामथ्र्यको परीक्षा लिँदै खिसीको हाँसो खिसिक्क हाँस्यो, मान्छे घरभित्रै तुरुक्क आँसु झारेर बस्यो । उम्रेदेखि खुम्रेसम्म, सदनदेखि सडकसम्म मान्छे उस्तै लाचार जिन्दगी बाँचेको यथार्थ बोकेको छ कोरोना र महादेवहरू शीर्षकको कविताले ‘बुद्धि र क्षमताको परीक्षा..नेतृत्वहरूलाई नचाइरहेछ कोरोना ।’

अघोषित शब्दमा राजनीतिको चर्चा, जनताको रक्षक हुन्छु भनेर भक्षक बन्ने प्रवृत्तिमा हलुको व्यङ्ग्य गर्दै सत्यको पक्षमा उभिएको कविता पापको गति हो । सत्यको जित एक दिन हुन्छ भन्ने विश्वास बोकेका हामी मान्छेहरूमा असत्यले जितेरै अन्यायमा पिल्सिएरै कैयौँको जीवन बितेको छ । राजनीतिक धोका र प्रकृतिको प्रकोपबाट उक्सन नसकेका नेपालीको सहानुभूतिको कविता ‘धान्नै कठिन देखिँदै छ..आफ्नै रोजाइबाट चुनिएको ।’

सत्ताको राजनीति गर्नेहरू सत्ता खोस्न र खोसेको सत्ता जोगाउन उहिलेदेखि नै तल्लीन छन् । कर्मचारी नभए राज्यको काम चल्दैन, काममा इमानदार कर्मचारी नभए अझ देशमा कष्ट नै थपिन्छ । राष्ट्रसेवक भनेर कर्मचारीलाई बुझ्नुपर्ने हुन्छ ।

भरोसा जसमाथि गरिन्छ उसैले हेप्छ भने त्यहाँ सम्मानको मृत्यु भइसकेको हुन्छ । बहसले मानिसलाई जित्नु बोक्रे जित हो र मानिसको मनलाई जित्दा सबै जितिन्छ । सँधियार पनि मानिस नै हो, चाहे त्यो जग्गाको होस् अथवा राज्यको नै । हेपाहा छिमेकीलाई ढुकुटी जिम्मा लगाएर पुरुषार्थ गरेको देखाउने भाँडहरू छिमेकीभन्दा बढी घातक हुन् । अन्तिम मूल्याङ्कन शीर्षकको कवितामा ‘कपटी र धूर्त..मूल्याङ्कन हो हाम्रो ।’

पुरुष र नारी प्रकृतिका लैङ्गिक सिर्जना हुन् । एकले अर्काको सम्मानपूर्ण व्यवहारको अपेक्षा गर्नु प्राकृतिक सिर्जनाको सम्मान हो । एकले अर्कालाई हेला वा बढप्पनका आँखाले हेर्नु प्रकृतिको नियमप्रति गरिएको अन्याय नै हुन्छ । राज्यले संरक्षणको नियम बनाउने तर अपराधीलाई नै संरक्षण गरेमा पुरुष वा नारी जोसुकैले कसको मुखमा न्याय प्राप्तिका आशाले हेर्ने ? स्वास्नीमान्छे शीर्षकको कवितामा- ‘राज्यले नै.. किन चाहियो र नारीलाई ?’

मन्दिरमा गएर ईश्वरसँग माग्दैमा पाइने भए मानिसले किन काम गर्नुपथ्र्यो र ? काम गरोस् भनेर नै मानिसको सृष्टि अरू प्राणीको जस्तो तेर्छो नभएर ठाडो बनेको छ । काम गरोस् भनेर नै मानिसलाई हात दिएर सबै खालका शारीरिक क्षमतामा कमजोर तर बौद्धिक क्षमतामा प्रखर बनाएको छ । बोट रोप्ने काम मानिसको तर त्यसमा कति फल लगाउने वा कति पनि नलगाउने काम जुन प्रकृतिको हो, ईश्वर त्यसकै एउटा रूप हो । ईश्वरले गर्ने काम मान्छेले गर्न सक्तैन र मान्छेले गर्ने काम ईश्वरले गरिदिँदैन । घण्ट शीर्षकको कवितामा ‘नाम र ठेगाना कुँधेर..एउटा अजङ्गको सुन्दर घण्ट ।’

वस्तुको सम्पन्नता र विपन्नता कुरो गर्ने आधारमात्र हो । मानसिक उत्साह वा मानसिक दरिद्रताले मानिसको कार्य सफल वा विफल गर्नमा गहन भूमिका खेलेको हुन्छ । मनसँग बुद्धि र भावना साथ साथै हुन्छन् । विपन्न परिवारमा जन्मिएर हुर्किएर पनि विश्वलाई घनीभूत रूपमा गुन लगाएका कैयौँ भेटिन्छन् भने मनका दरिद्र भएपछि भौतिक वस्तुको सम्पन्न सम्पन्न हुँदा हुँदै पनि दरिद्र देखिन्छन् र दरिद्रताकै दलदलमा भासिएर कैयौँ मर्छन् । लुब्धताको पराकाष्ठा शीर्षकको कवितामा ‘लुब्ध चिन्तनलाई पराजित...लेप लगाउँदै भनेँ’ खैनीसुर्ती खान्छौ ? खान्नँ । रक्सीदारु पिउँछौ ? पिउँदिन । तासजुवा खेल्छौ ? खेल्दिनँ । भ्रष्टाचार पो गर्छौ कि ? गर्दिनँ । आहा मान्छे त असल रहेछौ, मन प¥यो केही त दुर्गुण होला नि ? एउटै छ । के हो त त्यो ? मलाई साँचो बोल्न मन लाग्दैन । बिहा गर्न कन्यार्थ भएर आएका केटासँग हुनेवाला ससुराको यस्तो संवाद भएको थियो अरे । ढाँट्ने, झुटो बोल्ने संस्कृति हो कि विकृति हो ? मानिसले मानिससँग झुटो बोल्दा कसले कति सुख वा दुःख पाउँछ, परिआएका बेलामा त्यो विचारणीय हुन्छ । अप्रिल फुल शीर्षक भएको कविता ‘चन्द्रमामा दाग देख्ने... सबै ‘अप्रिल फुल’ हुन् ।’

राष्ट्रकवि माधव घिमिरेको अवसानलाई फूलको थुँगा बगाई लग्यो भन्ने शीर्षकको कवितामा बिम्बात्मक रूपमा राखिएको छ । कविवरको अवसान मुलुकका लागि अपूरणीय क्षति हो । प्रकृतिको अकाट्य नियमका सामु मानिसले गरेका प्रयास असफल हुँदा रहेछन् भन्ने यो अर्को पनि एउटा उदाहरण हो । यस कवितामा ‘उनी सकारात्मक सोचका सम्राट् थिए..लालित्य थपेर स्थिति सुरम्य बनाए ।’

स्मरण र विस्मरण रहरको नहुने रहेछ । ज्यादा हर्ष वा अति नै विस्मात्को विषयको प्रभाव पनि समयले विस्तारै धमिलो बनाउँदै लैजान्छ । घटना नबिर्सिए पनि तत्कालीन मानसिक उद्वेग उस्तै रहँदैन । याद शीर्षकको कवितामा यी कुराहरू अगाडि बढाउँदै ‘मदहोसमा रमाएथ्यौँ... भाषाविना लेख्यौँ हामीले ।’

खानु र लाउनुलाई मात्रै मान्छेले जीवन मान्दैन । समाजमा कोही देखाउने धोको बोकेर बाँचेका हुन्छन् भने कोही काम गरेर सन्तोष मान्ने स्वभावका हुन्छन् । समयले जुराएका अवस्थामा चाडबाड मनाउँदा पनि मौकाको उपयोग गर्दै देखाउनुपर्ने ठाउँमा आफ्नो सम्पन्नता देखाउन मानिस पछि पर्दैन । दशैँ, तिहार, तीज, होली जस्ता चाडपर्वहरूमा संस्कृति र सांस्कृतिक पक्ष छ । यिनमा र बिहा, व्रतबन्ध, पास्नी जस्ता कार्यहरूमा संस्कारगत कर्म हुन्छन् । यिनलाई पालन गर्दै र मनाउँदै आफू सम्पन्न वा विपन्न भएको समेत देखाउने चलन भित्रिएको छ । यसबाट सम्पन्नले विपन्नलाई खिसी गरेको पनि बुझ्न सकिन्छ र मानिसले उन्नति गरेर सम्पन्न बन्न प्रेरित गरेको पनि मान्न सकिन्छ, विचार आफ्नो हो । तीज शीर्षकको कवितामा ‘हाम्रो यो लोकप्रिय... रूढीवादको नङ्ग्राले चिथोरिरहेछ ।’

नेपालीका सन्तान आसाम, भुटान, सिक्किम, बर्मा, मलाया, ब्रिटेन गर्दै विदेशतिर लागेको इतिहास पुरानो छ । हुन त कैयौँ भूभाग नै काटिएर बसाइँ नसरीकन नेपालीबाट इण्डियन पनि भएका छन् । कैयौँपटक कमाई खान, कैयौँपटक गाथगादीको अभियोग हुँदै आजभोलि वैदेशिक रोजगारीमा जानेको लर्को उस्तै छ । कुनै बेला बर्माबाट, कहिले आसामबाट, कहिले भुटानबाट नेपाली नलखेटिएका पनि होइनन् । यसलाई हेर्दा कहिले आफ्नै देशबाट र कहिले अर्काका देशबाट लखेटिनकै लागि जन्मेका रहेछन् कि जस्तो पनि लाग्छ ।

सत्ताको राजनीति गर्नेहरू सत्ता खोस्न र खोसेको सत्ता जोगाउन उहिलेदेखि नै तल्लीन छन् । कर्मचारी नभए राज्यको काम चल्दैन, काममा इमानदार कर्मचारी नभए अझ देशमा कष्ट नै थपिन्छ । राष्ट्रसेवक भनेर कर्मचारीलाई बुझ्नुपर्ने हुन्छ । जनताको काममा नेताहरू उदासीन भएपछि अधिकांश कर्मचारीको काम गराइ पनि उस्तै छ र स्वाभाविक हो । केही कर्मचारी उस्तै भ्रष्ट नभएर सज्जन पनि छन् । अधिकांशको अवस्था हेर्दा सेवाग्राही जनतामा पुगेको बाधा विचार गर्दै लेखिएको सबै जय होस् राष्ट्रसेवकहरूको शीर्षकको कवितामा ‘हो ऊ कामविशेषले..सक्कली नागरिकता बनायो ।’

सत्यं शिवं सुन्दरम्को भाव बोकेर सुन्दर पक्षलाई स्वीकार गर्ने आँखा र मन मानिसको नै हुन्छ । अरू प्राणी पेट भरेर बस्न पाए घरमा बस्नु वा वनमा बस्नुको अर्थसमेत खोज्दैन । उसलाई सत्य, शिव वा सुन्दरको अर्थ चाहिँदैन । सुन्दरताको खोजी गर्ने तर असुन्दर कर्म गर्ने मान्छे नै हो । अहिंसा स्थापनाका लागि कुटामारीको सहारा लिने मानिस नै हो । शान्ति स्थापनाका लागि बन्दुक बोकेर हिँड्ने मानिस नै हो । सत्यकै पक्षमा, शिवकै साथमा सुन्दरताको उभिएको मानिसलाई कविताले सुन्दर जिन्दगी कविता ‘असहायका शरीरसँग अनुवाद..बिमिरा निस्किने छन्’ भन्दै अन्त भएको छ ।

आजका मान्छेले यी सबै कुराहरू आफूभित्र समेटेर सृष्टि सुन्दर हो कि दृष्टि सुन्दर हो भनी केलाउने प्रयास गरेर सुन्दर जिन्दगीको अन्वेषण गर्दै छ । यसैसँग यस सङ्ग्रहका एकाउन्नवटा कविताको पुस्तक पनि पूरा भएको छ । आवरणको अन्तिम पृष्ठमा कविको फोटो र प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ को कथनका दुई अनुच्छेद, प्रकाशक संस्थाको लोगो, मूल्य र आइएसबिएन नम्बर राखेर पुस्तक पूरा भएको छ । पाठकले यस पुस्तकमा तिरेको मूल्य कविताहरू पढिसकेपछि उचित स्थानमा लगानी भएको अनुभव गर्न सक्नुहुनेछ । किनभने कविताहरू अर्थपूर्ण छन्, प्रेरणादायी छन् । कविबाट अ पनि यस्तै गहन विचारका पुस्तकहरूको अपेक्षा गरिएको छ ।

https://ehimalayatimes.com/2022/07/26070/

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?