पाल्पामा नि:वर्तमान नगर प्रमुख र उप–प्रमुख सहितका नेता एकीकृत समाजवादीमा प्रवेश

Read Time = 6 mins

-रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकसहितका १७ जना नेताहरु नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित हुनु भएका उहाँहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गर्नुभएको हो । एमालेमा अन्याय, अत्याचार र दास प्रवृत्ति मौलाउँदै गएकाले कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी परित्याग गरेको उहाँहरुले बताउनु भयो ।

उहाँहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकाल्दै नेकपा एमालेबाट संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको बताउनु भएको छ । पार्टी प्रवेश गर्नेहरुमा तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही, निवर्तमान उप प्रमुख लक्ष्मीदेवी पाठक, नेताहरु भिम बहादुर कुमाल,रामप्रसाद घिमिरे,शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्धे सार्की,कृष्णबहादुर केसी,लक्ष्मण कार्की,मधु कार्की,बिनोद लुइँटेल,कृष्णकुमार केसी,माधव प्रसाद पाठक,केशव प्रसाद घिमिरे,कृष्ण प्रसाद पाठक,उमेश घिमिरे रहेका छन् ।
एमालेमा दोहरो मापदण्ड अपनाईएका कारण पुराना ईमान्दार र योग्य कार्यकर्ता पार्टीको मुलधारबाट अलग हुँदै जाने वाध्यात्मक परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । एमाले जिल्ला नेतृत्वले सधैंभरी संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्ने गतिविधीलाई प्रश्रय दिने काम मात्रै गरेको उहाँहरूको भनाइ छ ।

उहाँहरुले नागरिकले विश्वास गरेकै कारण दुईतिहाइ जनमत प्राप्त उपलव्धिलाई जोगाउन नसक्नु दुई÷दुई पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापना गर्दा पनि पार्टी भित्र समीक्षा गर्न तयार नहुनु संविधान विरोधी गैर माक्र्सवादी चिन्तन र गुटस्वार्थ मुख्य कारण हो भन्ने आम ठम्याईलाई एमालेले बेवास्ता गर्नु र त्यसको असरप्रति नेतृत्व तहमा संवेदनशिलता नदेखिनु दुःखद पक्ष रहेको बताउनु भएको छ ।

‘संविधानले अंगिकार गरेको मार्गविपरित वैचारिक मूल्य मान्यता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई तिलाञ्जली दिएर आफू वा आफ्ना आसेपासेलाई लाभ पुग्ने गरी जसरी पनि सत्तामा पुग्नुपर्ने प्रवृत्तिकै कारण यो वा त्यो बहानामा विदेशी चलखेलको ठूलो संत्रास सिर्जना भएको छ । सुशासन र नैतिकताको उपहास गर्ने काम भएको छ’ उहाँहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ ।

यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई दोषारोपण गरेर जनताको बहुदलीय जनवाद र माक्र्सवादलाई नागरिकसामु साक्षी राखेर सत्तामा पुगेको पार्टी नेकपा(एमाले) भित्र आन्तरिक लोकतन्त्रको उपहास गर्दै व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने कूकर्म बढ्दै गएको र संगठन सुदृढिकरण तथा वैचारिक वहस र सुझावलाई निषेध गर्ने काम भएपछि कम्युनिष्ट पार्टी र जनसंगठनका लागि जीवन अर्पेका कार्यकर्ताहरुमा उत्साह मरेको विज्ञप्तीमा जनाइएको छ । ‘जनताको बहुदलीय जनवादको जन्तर भिर्दैमा मात्र कोही पनि शुद्ध कम्युनिष्ट हुन सक्दैन भन्ने हाम्रो ठम्याई हो । अन्याय, अत्याचार अनि दास प्रवृत्तिको सख्त विरोधमा रहेका हामी उक्त प्रवृत्तिको अन्त्य र कम्यूनिष्ट आन्दोलनको रक्षाको लागि आजका मितिबाट नेकपा (एमाले)को कुनै पनि जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको स्वघोषणा गर्दछौं । हामी आजकै मिति देखि नेपालको कम्युनिस्ट आन्दोलनको रक्षार्थ नेकपा (एकिकृत समाजवादी)मा समाहित हुने निर्णय गरेका छौँ’ विज्ञप्तीमा भनिएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?