जुम्लामा छायांकन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

Read Time = 4 mins

-विजय रावत
जुम्ला । जुम्लामै छायाकंन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ ।

यही भदौ १० गतेबाट प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुनेभएपछि यहाँका स्थानीय गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् । झण्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र वैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदीले आईतबार जुम्ला पुगेर पत्रकार भेटघाट कार्यक्रम समेत गर्नुभएको थियो ।

चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झण्डै २ करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुबेदीले भन्नुभयो, “चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलिया लगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुदै छ । गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ । हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौ ।” साथै अस्ट्रेलियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।

पत्रकार भेटघाटमा नायक प्रदीप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो,“अक्सर चलचित्रको वल्र्ड प्रिमियर शो काठमाडौँका महँगा हलहरूमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बिच गर्ने चलन छ । तर जुम्लाकै परिवेश समेटिएको फिल्म भएकोले प्रकाशको वल्र्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौ ।”

जुम्लाको एक युवाले शिक्षक बन्न गरेको सङ्घर्ष, हुँदा खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रवद्र्धनको विषयले चलचित्रले जोड दिएको लेखक विकास सुवेदीले बताउनुभयो । जुम्लाको तिर्खु गाउँमा छायाङ्कन भएको यो चलचित्रको सोही गाउँमा वल्र्ड प्रिमियर गरिएको हो । राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओझेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन, बिम्बात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र ‘प्रकाश’ले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?