टोटनहम र आर्सनलको जित

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपर र आर्सनलले आ-आफ्नो खेलमा जित हात पारेका छन् । टोटनहम हट्सपरले वल्भ्सलाई १-० ले गोलअन्तरले पराजित गरेको हो । टोटनहमका लागि खेलको ६४औँ मिनेटमा हृयारी केनले निर्णायक गोल गर्नुभयो ।

यससँगै टोटनहमको तीन खेलमा सात अङ्क भएको छ । टोली अङ्क तालिकाको शीर्षस्थानमा समेत उक्लिएको छ । वल्भ्स भने तीन खेलमा एक अङ्कसहित १६औँ स्थानमा छ । यस्तै कप्तान मार्टिन ओडेगार्डको दुई गोलको सहयोगमा आर्सनलले बर्नमाउथमाथि ३-० को सहज जित निकालेको छ । यस्तै अर्को गोल विलियम सालिवाले गर्नुभयो । खेलको पाँचौँ मिनेटमा कप्तान ओडेगार्डको गोलबाट आर्सनलले सुरुवाती अग्रता लियो ।

११औँ मिनेटमा ओडेगार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्नुभयो । ५४औँ मिनेटमा विलियम सालिवाले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाउनुभयो । लगातार तेस्रो जितसँगै आर्सनल नौ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बर्नमाउथ तीन अङ्क जोडेर १४औँ स्थानमा रहेको छ ।

यस्तै जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमन्ड वेर्डेर ब्रेमेनसँग ३-२ गोल अन्तरले पराजित भएको छ । खेलको ४५औँ मिनेटमा जुलियनले गोल गर्दै डर्टमन्डलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । खेलको ७७औँ मिनेटमा राफाएल गुइरेरोले गोल गर्दै डर्टमन्डको अग्रता २–० को बनाउनुभयो ।

खेलको ८९औँ मिनेटमा ली बुचाननले गोल गर्दै ब्रेमेनलाई २-१ को स्थितिमा ल्याउनुभयो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रेमेनका निक्लासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा ओलिभर बुर्केले गोल गर्दै ब्रेमेनलाई ३–२ को जित दिलाउनुभयो । जितसँगै ब्रेमेनले तीन खेलमा पाँच अङ्क जोडेको छ । ब्रेमेन आठौँ स्थानमा छ । डर्टमन्ड ६ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?