आर्मी र ललितपुर हाइलाई उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७-६५ ले पराजित गर्‍यो । आर्मीका आयुश सिंहले १९ अङ्क जोड्नुभयो ।

पहिलो क्वाटरमा १०-८ को अग्रता लिएको आर्मी दोस्रोमा २५-२६ ले पछि पर्‍यो । बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्‍यो । आर्मीले तेस्रोमा २०-१३ र चौथोमा २२-१८ को प्रदर्शन गर्‍यो । उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललितपुरले आयोजक नखिपोटलाई ३७-३५ को झिनो अन्तरले हरायो । ललितपुरकी अस्मिता थापाले १५ अङ्क जोड्नुभयो ।

पहिलो क्वाटरमा ललितपुरले ९-८ को सामान्य अग्रता लियो । दोस्रो क्वाटरमा नखिपोटले ११-५ को अग्रता लिँदै मध्यान्तरसम्म समग्रमा पाँच अङ्कले अगाडि रहृयो । तेस्रो क्वाटरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो । चौथो क्वाटरमा नखिपोटले १०-९ को अग्रता हासिल गरे पनि समग्रमा दुई अङ्कले उपाधि गुमायो । ललितपुरले ३० तथा नखिपोटले १५ हजार नगद पुरस्कार पायो ।

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही ५ हजार नगद पुरस्कारसहित गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो । विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गङ्गा सुनुवारलगायतले एक कार्यक्रमबिच पुस्कृत गर्नुभयो । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा चार टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?