संघर्षबाट खारिएर दिव्य सपना सँगाल्ने मान्छे हुँ : रुद्र बोहरा, छायाँकार

Read Time = 10 mins

नेपाली म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमका कुशल छायाँकारका रूपमा आफूलाई स्थापित गराउन सफल हुनुहुन्छ रुद्रबहादुर बोहरा । विगत डेढ दशकदेखि यस क्षेत्रमा क्रियाशील उहाँले थुप्रै टेलिभिजन कार्यक्रम र म्युजिक भिडियो छायाँकन गर्नुभएको छ । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रशारण हुँदै आएको कार्यक्रम विकास र बहसमा हालसम्म क्रियाशील उहाँले विशेषगरी आधुनिक कृषि उत्पादन, व्यवसायिक कृषिपालन र वस्तुको विविधीकरण सम्बन्धी थुप्रै वृत्तचित्र छायाँकन गरिसक्नुभएको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका-८ मालुवा स्थायी बासिन्दा बोहरा देशको संघीय राजधानी काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभएको छ । अनुशासित तथा क्षमतावान छायाँकारको परिचय बनाउनुभएका रुद्रबहादुर बोहारासँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

छायाँकार कसरी बन्नुभयो ?
अनौठो संयोग छ यसको । अध्ययनका लागि राजधानी काठमाडौं छिरियो । त्यतिबेला हास्य टेली शृंखलाहरूको अत्यन्तै क्रेज थियो । हाम्रो क्षेत्रका प्रख्यात हास्यकलाकार तथा टेलिभिजनकर्मी शेखर खनालजी टेलिभिजन कार्यक्रम निर्माण र ‘झ्याइँ कुटी झ्याइँ’ हास्य शृंखला निर्माण निर्देशन गर्दै हुनुहुन्थ्यो । सुरुमा हास्य कलाकारको रूपमा प्रवेश गरेको म यस क्षेत्रको क्रेजका कारण अन्ततः छायाँकार बन्न पुगे । हालसम्म निरन्तर काम गर्दै आएको छु ।

छायाँकार नै बन्नुको कारण ?
टेलिभिजन कार्यक्रममा छायाँकारको राम्रो माग थियो । अर्को कुरा छायाँकार बिना कसैको काम हुन सक्दैनथ्यो । भनेजति काम र दाम पाउनेहुँदा छयाँकार बने । विशेषगरी प्रविधिसँग म बढी झ्याम्मिन्थे त्यही भएर पनि छायाँकार बने ।

अहिलेको अवस्था कस्तो छ छायाँकारको ?
अहिले पनि त्यस्तै नै क्रेज छ । मैले निरन्तर काम गरिरहेको छु । कोभिड-१९ को संक्रमणका कारण केही समय अन्योलता थियो । तर पछि विस्तारै हामी र्फममा आइसकेका छौ । राम्रो काम गर्नेहरूको जहाँ पनि माग हुने गरेको छ । म आफूले प्राप्त गरेको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने भएकाले पनि होला सबैले रोज्नुहुन्छ । सबैको प्यारो भएर काम गर्दैछु ।

म्युजिक भिडियो र टेलिभिजन कार्यक्रमको भिन्नता के छ ?
म्युजिक भिडियोमा विशेषगरी कथानक निर्माण गरी कलाकारहरूबाट काम लिइन्छ । यसमा केही नाटकीयता, केही बनावटी र केही मानवीय समवेदनालाई समावेश गरी म्युजिक भिडियो निर्माण हुन्छ । दर्शकलाई बाँधेर राख्ने खालको अभिनय, भेषभूषा, लाकेशन आदिको प्रयोग गरिन्छ भने टेलिभिजन कार्यक्रममा वास्तविकताको नजिक भएर यथार्थवादी अवस्थालाई चित्रित गर्नुपर्ने हुन्छ । टेलिभिजन कार्यक्रममा प्रयोग हुने रिपोर्ट र वृत्तचित्रमा विषयको गम्भीरता र आवश्यकतालाई मिहिन ढंगले केलाउनुपर्दछ । दर्शकलाई सही सूचना दिन सक्नुपर्दछ अर्थात् म्युजिक भिडियोले स्टार जन्माउँछ भने टेलिभिजन कार्यक्रमले वास्तविकताको खोजी गर्दछ ।

संघर्ष कतिको गर्नु पर्‍यो ?
जीवन नै संघर्ष हो भन्ने राम्रोसँग बुझेको थिइन त्यो उमेरमा तैपनि काम सिकियो, गर्दै गइयो । राम्रो आम्दानी र क्रेज पनि बनाइयो । तर अहिले आएर बल्ल संघर्ष सुरु भएको छ । एकभन्दा अर्को राम्रो काम गर्नु परेको छ । नयाँ-नयाँ प्रविधिबारे अध्ययन, अनुसन्धान गर्नुपर्ने अवस्था छ । वास्तवममा भोकले मर्ने अवस्था नआए पनि आज पनि आफूलाई भिन्न परिचय दिलाउन संघर्ष गर्न परिरहेको छ । तर, कामले गर्दा संघर्षको अनुभव गर्न पाइरहेको छैन् ।

तपाईंको भावी योजना के के छन् ?
लक्ष्य र योजना मानिसका अनगिन्ती हुन्छन् । मेरा पनि छन् तर यो क्षेत्रभन्दा बाहिर जाने मानसिकतामा म छैन । मेरा केही योजनाहरू छन् । यो क्षेत्रभन्दा बाहिर जाने मानसिकता म मा छैन । म निर्देशनतर्फ पनि आकर्षित छु । थुप्रै म्युजिक भिडियो निर्देशन गरेको छु । हाम्रो गाउँ ठाउँमा रहेका यथार्थवादी कथाहरूलाई खोजी चलचित्र निर्माण गर्ने योजना छन् । टेलिभिजन कार्यक्रमलाई निरन्तरता दिँदै चलचित्र क्षेत्रतर्फ जाने सोचमा छु ।

तपाईंको विशेषता के के छन् ?
म कहिल्यै पनि कामलाई हल्का रूपमा लिन्न । काम चाहे सानो होस् या ठूलो । आफ्नो होस् या अरूको सबैलाई बराबर महŒव दिन्छु र अर्को कुरा मैले नबुझेको विषय स्पष्ट रूपमा नबुझदासम्म काममा निकलन्न । म छलफल गर्छु टिमसँग, प्रविधिगत विषय भए अध्ययन अनुसन्धान खोज गर्ने गर्छु । तबमात्र म आफूलाई अघि सार्छु । यही मेरो प्रमुख विशेषता हो ।

नवप्रवेशी हरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
कुनै क्षेत्रमा प्रवेश गर्दा लहडको मारमा नजानुहोस् । आफ्नो रुचिको काम गर्दा मानिस भोको भएर पनि गुनासो गर्दैन । यसर्थ जुन क्षेत्रमा जाने सोच बनाउनु भएको छ त्यस विषयको अध्ययन, विशलेषण गरेरमात्रै प्रवेश गर्ने काम गर्नुहोला । अर्थात् प्रतिबद्धतापूर्ण प्रवेश गर्नुभयो भने निराश हुने दिन आउने छैन । सफलता पनि मिल्दै जाने मेरो अनुभवले बताउछ ।

श्रव्यदृश्यको क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्ने अवस्था कत्तिको छ ?
अहिले हाम्रो गीत संगीत क्षेत्र पनि विशाल भएको छ । थुप्रै टेलिभिजन सञ्चालनमा छ । वित्तचित्रहरू निर्माणको क्रम तीव्र छ । सर्ट मुभिलगायत प्रचारप्रसार सामग्रीहरू थुप्रै निर्माण हुन थालेका छन् । चलचित्र निर्माण पनि व्यापक रूपमा हुँदै आएका छन् । यी लगायत थुप्रै प्रचारप्रसारात्मक सामग्रीहरू निर्माण हुँदै आएका कारण नेपालमा श्रव्यदृश्य क्षेत्रको बजार ठूलो छ । विज्ञता र अनुभव भएका सर्जकहरूको माग दिनप्रतिदिन बढ्दै गएको छ । सीप भएको व्यक्ति भोको बस्नुपर्ने अवस्था छैन ।

आफ्ना दर्शक तथा पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?
संघर्षबाट खारिएको एउटा दिव्य सपना संगाल्ने मान्छे हुँ । मलाई र मेरो कामलाई माया गरिदिनुहोला । म आफूले जानेको, बुझेको र अनुभव गरेको काममा सतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछु । यो क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई आवश्यक सल्लाह सुझाव र अवसर प्रदान गर्न कटिबद्ध रहने वचन दिलाउन चाहन्छु । घर फरक, चुलो फरक र स्वाद फरक भए पनि हामीले टेक्ने माटो, हामी हिँडने बाटो एउटै हो । सपना एउटै हुन् त्यसैले मानव जीवनलाई सार्थक बनाउने कार्यमा हामी सबैको ध्यान जानुपर्दछ । सबैको ध्यान आफ्नो काम, कत्वर्य र जिम्मेवारीतर्फ जाओस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ramesh
Ramesh
2022-08-22 11:11 am

राम्रो कुराकानी

suman
suman
2022-08-22 4:35 pm

यर्थाथ परक

suman
suman
2022-08-22 4:36 pm

धेरै कुराको जानकारी मुलक कुराकानी

रिलेटेड न्युज

छुटाउनुभयो कि ?