असोजमा चिकित्सक सम्मेलन हुने

Read Time = 4 mins

काठमाडौं । पोस्ट प्यान्डेमिक एचिभमेन्ट्स, च्यालेन्जेज एन्ड अपर्चुनिटी अर्थात् महामारीपछिको उपलब्धि, चुनौती र अवसर भन्ने नाराका साथ चिकित्सकहरूको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) हुने भएको छ । आगामी असोज २ र ३ गते काठमाडौंमा हुने सम्मेलनका लागि आवश्यक तयारी सुरु भइसकेको आयोजक संस्था नेपाल चिकित्सक सङ्घले जनाएको छ ।

सम्मेलनमा विभिन्न सातवटा विषयमा छलफल हुनेछ । यसपटक सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर, महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर, सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर, खोप, औषधि र उपकरणको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा मेडिकल टुरिजम र चिकित्सा क्षेत्रको जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुने सङ्घका महासविच डा. बद्री रिजालले जानकारी दिनुभएको छ ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेन्डर इभेन्टका रूपमा मनाउने सङ्घको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको सङ्घका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभययो । अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा विज्ञहरूसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनाई सरकारलाई सुझावका रूपमा पेस गरिनेछ ।

सम्मेलनका लागि सङ्घले आयोजक समिति बनाएर काम अघि बढाइसकेको छ । सङ्घका पूर्वअध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा सङ्घका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, डा. एन्जल मगर र डा. चन्दा कार्की हुनुहुन्छ । डा. कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा. सन्ध्या चापागाईं, डा. अनुपमा कार्की, डा. अनुपमा सुवाल, डा. कृष्ण अग्रवाल, डा. सरोजा कार्की पाण्डे, डा. सुमनराज ताम्राकार, डा. पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा. सुजित भुसाल र डा. अलिस्का निरौला हुनुहुन्छ । सम्मेलनको सल्लाहकार समितिमा डा. रमेशकान्त अधिकारी, डा. केदारनरसिंह केसी, डा. किरण रेग्मी, डा. कुसुम थापा र डा. मिता सिंह हुनुहुन्छ । आयोजकले सम्मेलनमा सहभागी हुन आवेदनसमेत खुला गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?