प्रखर समाजवादी चिन्तक एवं बौद्धिक व्यक्तित्व गिरिको महाप्रस्थान, निष्ठावान राजनीतिको एक युगको अवशान

अनिल क्षेत्री
Read Time = 29 mins

काठमाडौं । निष्ठावान राजनीतिज्ञ, अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति नेता गिरिको ७५ वर्षको उमेरमा निधन भएको हो । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता गिरि करिब पाँच वर्षदेखि घाँटीको क्यान्सरले पीडित हुनुहुन्थ्यो । पटक-पटक उपचारका लागि भारत जाने र आउने क्रम चलिरहेको थियो । यसपटक पनि भारतको मुम्बईमा लामो उपचारपछि नेपाल फर्किनुभएका गिरिलाई निमोनियाको समेत संक्रमण देखिएपछि साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि गिरिलाई भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ पंकज बर्मनले शनिबार राति ९ः३० बजे गिरिको निधन भएको जानकारी दिनुभएको थियो । गिरिको पार्थिव शरीरलाई आइतबार बिहान ९ देखि ११ बजेसम्म अस्पताल परिसरकै शिवालय मन्दिरमा राखिएको थियो । अस्पताल परिसरमा पूर्वराष्ट्रपति डा.रामवरण यादव र नेपाली कांग्रेसका नेता कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

आइतबार दिउँसो पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न दलका नेता तथा स्वर्गीय गिरिका आफन्त पार्टी कार्यालय सानेपामा पुग्नुभएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले नेता गिरिको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झण्डा ओढाउनुभएको थियो ।
पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरू सानेपा पुग्नुभएको थियो । नेपाली कांग्रेसका नेता भएर पनि नेपाली समाजको सबै समूह र समुदायले आदर गर्ने व्यक्तित्व गिरिको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

राजकीय सम्मानका साथ अन्त्येष्टि
नेपाली राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रूपमा स्थापित नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । गिरिलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने उहाँका छोरा सन्तोषले दागबत्ती दिनुभएको थियो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरू मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुग्नुभएको थियो । गिरिको अन्त्येष्टिमा कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छुक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो ।

राजनीतिक जीवन
सिरहाको बस्तीपुरमा २००४ सालमा बुबा मित्रलाल गिरि र पुण्यप्रभा गिरिको कोखबाट जन्मिनुभएका गिरि बुवाको राजनीतिक जीवनबाट प्रभावित भएर सानै उमेरमा राजनीतिमा होमिनुभएको थियो । बौद्धिक नेताको छवि बनाउनुभएका उहाँलाई अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूले पनि उत्तिकै सम्मान गर्ने गर्छन् । नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी गिरि नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोइरालाका सहयात्रीसमेत हुनुहुन्थ्यो । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै गिरिले बिपीको संगत पाउनुभएको थियो । राजनीतिक संघर्षकै क्रममा स्वर्गीय गिरिले करिब चार वर्ष जेल जीवन बिताउनुभएको थियो ।

२०५१ मा पहिलोपटक संसद् प्रवेश गर्नुभएका गिरि २०५६ को चुनावमा पराजित हुनुभएको थियो । २०६४ र २०७० को संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद भएर संविधान लेख्ने कार्यमा सक्रिय हुनुभएका उहाँले २०७४ मा प्रत्यक्ष चुनाव जित्नुभएको थियो । पटक–पटक सांसद बने पनि चौतर्फी मन्त्री बन्ने प्रस्ताव आउँदासमेत गिरि मन्त्री बन्न कहिल्यै इच्छुक हुनुभएन । किशोरावस्थादेखि नै नेपाली समाज किन यसरी पछाडि पर्‍यो भनेर प्रश्नहरू सोध्न र तिनको उत्तर नेपाली समाजमै कतै छ भनेर खोज्न थाल्नुभएका गिरि जीवनको अन्त्यसम्म पनि नेपाली समाजको समस्या र चासोबारे प्रश्न गरिरहनु भयो । शासकहरूलाई निरन्तर घच्घच्याइरहनु भयो ।

स्वर्गीय गिरिका बुबा मित्रलाल नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा सिरहामा सभापति हुनुहुन्थ्यो । गिरिले बस्तीपुरको पुख्र्यौली सम्पत्ति मित्र सेवा आश्रमका नाममा अर्पण गर्नुभएको छ । निकै सरल र सादा जीवन बाँच्नुभएका गिरि खद्दरको कुर्था सुरुवाल लगाएर देश घुम्नुभयो । समाजशास्त्रको अध्ययन गर्नुभयो । माक्र्सवादलाई आत्मसात मात्र गर्नुभएन नेपालका थुप्रै माक्र्सवादीहरूलाई माक्र्सवाद पढाउनुभयो । गान्धीको शान्ति र अहिंसाको मार्ग अनुशरण गर्ने गिरिले जीवनभर अन्याय, अत्याचार र हिंसाको विरोध गर्नुभयो ।
२०४२ सालको सत्याग्रहमा जेलमा रहनुभएका गिरिले पटक-पटक गरेर करिब चार वर्ष जेल जीवन बिताउनुभयो ।

२०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुभएका उहाँले २०५९ असारमा कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवातिर लाग्नुभएको थियो । प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका गिरिले पार्टीमा समावेशीकरणका नयाँ कार्यक्रम प्रस्तुत गर्नुभयो । जसलाई ‘जमदम’ भन्ने गरिन्छ । गिरिले जमदम अर्थात् जनजाति, महिला, दलित र मधेसी कार्यक्रम ल्याएर नै त्यतिबेला कांग्रेस प्रजातान्त्रिकको संगठन विस्तार अनपेक्षित रूपमा बढेको भन्ने गरिन्छ । बनारस पढ्दा छात्र संघको अध्यक्ष हुनुभएका गिरि पार्टीहरूका शीर्ष नेताहरूसित मुख जुधाएर सवालजवाफ गर्न सक्ने क्षमता राख्नुहुन्थ्यो । बिपी कोइराला जस्ता समाजवादी चिन्तकसँग गरेको सवालजवाफ सबैका लागि प्रेरणा हुनसक्छ ।

विशिष्ट व्यक्तिहरूले यसरी सम्झिए स्वर्गीय गिरिलाई

राष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका नेताहरूले नेपालको राजनीति र सामाजिक जागरणमा स्वर्गीय गिरिले पु¥याएको योगदानको चर्चा गर्नुभएको छ । कांग्रेसको राजनीतिमा रहे पनि गिरिले माक्र्सवादको अध्यतासँगै बौद्धिक नेताको छवि बनाउनुभएको थियो । राजनीतिका सबै तहका व्यक्तिमाझ उत्तिकै लोकप्रिय रहनुभएका गिरिलाई कम्युनिष्ट विचारधाराका नेता तथा कार्यकर्ताले पनि उत्तिकै सम्मान गर्थे ।

सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता प्रदीप गिरिको निधनले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपति भण्डारीले गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै लेख्नुभएको छ, ‘उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ । म दिवंगत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’ राष्ट्रपति भण्डारी गिरिको स्वास्थ्य अवस्था बुझ्न यसअघि अस्पतालसमेत पुग्नुभएको थियो ।

देशले एक समाजवादी विचारक र बौद्धिक नेता गुमायो : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनले मुलुकले एक समाजवादी विचारक र बौद्धिक नेता गुमाएको बताउनुभएको छ । उपराष्ट्रपतिको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनज्यूले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता माननीय प्रदीप गिरिज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले माननीय प्रदीप गिरिज्यूको निधनबाट देशले एकजना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनुभएको छ ।’

प्रतिभाशाली राजनीतिज्ञ पाउन मुस्किल : प्रधानमन्त्री देउवा
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिको निधनको खबरले आफू स्तब्ध भएको जनाउनुभएको छ । सभापति देउवाले भन्नुभएको छ, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले फेरि यस्तै प्रतिभाशाली राजनीतिज्ञ पाउन मुस्किल रहेको प्रतिक्रिया दिँदै भन्नुभएको छ, ‘मुलुकको स्वार्थका विचारको राजनीति गर्ने नेता हो उहाँ । गिरिको निधनले सिंगो कांग्रेस र मुलुकलाई नै ठूलो क्षति पुगेको छ ।’

गिरि कल्याणकारी राज्यको पक्षधर : प्रथम राष्ट्रपति यादव
प्रथम राष्ट्रपति डा.रामवरण यादवले स्वर्गीय प्रदीप गिरि कल्याणकारी राज्यको पक्षधर भएको बताउनुभएको छ । गिरिप्रति श्रद्धाञ्जलि अर्पण गर्न मेडिसिटी अस्पताल पुग्नुभएका डा. यादवले तीक्ष्ण बुद्धि, बौद्धिक व्यक्तित्व, अध्ययनशील र पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू दुःखित रहेको बताउनुभयो । बिपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराईमा अत्यन्तै लोकप्रिय रहेको बताउँदै डा. यादवले भन्नुभयो, ‘उहाँ राष्ट्र र राजनीति बुझेको माानिस । सम्पूर्ण देशलाई बुझेको मानिस । गिरि सबैको विचारका अध्येता र अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो ।’

गिरिको योगदान स्मरणीय रहनेछ : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ । आइतबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर दिवंगत गिरिप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएका सापकोटाले ट्वीट गर्दै भन्नुभएको छ, ‘सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जलि । शोकसन्तप्त परिवार एवं आफन्तमा गहिरो समवेदना । नेपाली समाजमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।’

निःस्वार्थ समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले प्रदीप गिरिको व्यक्तित्वले निःस्वार्थ रूपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता गिरिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रचण्डले भन्नुभयो, ‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ । अहिले उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई ।’

चिन्तनशील राजनीतिकर्मीको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
अध्यक्ष ओली नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न पशुपति आर्यघाटमा पुग्नुभएको थियो । अध्यक्ष ओलीले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

गणतन्त्रप्रति समर्पित योद्धा गुमायौँ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेता प्रदीप गिरिको निधनले देशले लोकतन्त्रको अविचलित योद्धा गुमाएको बताउनुभएको छ । आइतबार कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलि अर्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, ‘नेता गिरि गणतन्त्र र समाजवादप्रति अविचलित अडान राख्ने नेता हो । अत्यन्तै निष्ठावान, लोकतन्त्रप्रति समर्पित र देशलाई समाजवादमा लानुपर्छ भन्ने अभियान्ता हो । निकै अध्ययनशील व्याख्याता, विश्लेषक र समर्पित योद्धालाई गुमाउनु नेपाली राजनीतिका लागि ठूलो क्षति हो ।’

प्रजातान्त्रिक समाजवादी आन्दोलनमा अपूरणीय क्षति : मैनाली
नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । एक प्रेस विज्ञप्ति जारी गरेर मैनालीले गिरिको निधन नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलन तथा राजनीतिक मूल्यमान्यताको पक्षधरताको क्षेत्रमा एउटा अपूरणीय क्षति भएको बताउँदै भन्नुभएको छ, ‘देशमा राजनीतिक मूल्य–मान्यता, सादगी, स्वावलम्बन तथा स्वदेशीपनाको खडेरी बढिरहेको अवस्थामा भएको गिरिको असामयिक दुःखद निधनबाट हामी अत्यन्त दुखित छौँ । नेकपा (माले)को नेतृत्व तथा पङ्तिबाट र आफ्नो तर्फबाट समेत श्री प्रदीप गिरिप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

गिरि सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्व. प्रदीप गिरि निडर नेता भएको बताउनुभएको छ । आइतबार बिहान नेता गिरिलाई श्रद्धाञ्जलि दिन मेडिसिटी अस्पताल पुग्नुभएका नेता कोइरालाले गिरि आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताउनुभएको हो । गिरिको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरूले पनि केही सिक्नुपर्ने कोइरालाको भनाइ छ ।

प्रदीप गिरि सर्वप्रिय, कसैको नबिगारी जानुभयो : स्वामी आनन्द अरुण
स्वामी आनन्द अरुणले प्रदीप गिरि सर्वप्रिय भएर अवशान भएको बताउनुभएको छ । मेडिसिटी अस्पताल प्रांगणमा गिरिलाई श्रद्धाञ्जलि व्यक्त गरेपछि स्वामी अरुणले भन्नुभयो, ‘उहाँ सर्वप्रिय हुनुहुन्थ्यो । सबैभन्दा राम्रो कसैको बिगारेर जानुभएन । जति सक्नुभयो गाउँमा बनाउनुभयो । रिस बोकेर जानुभएको छैन । यो उहाँको सफलता हो ।’

प्रदीप गिरिको निधनमा भारतीय नेताहरूद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका नेता, राजनीतिज्ञ तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधनमा भारतका नेताहरूले शोक व्यक्त गर्नुभएको छ । बिहारका मुख्यमन्त्री नीतिश कुमार, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरी, भारतीय राष्ट्रिय कांग्रेसका प्रवक्ता मोहन प्रकाश, बहुजन समाज पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले गिरिको निधनप्रति शोक व्यक्त गर्नुभएको हो ।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले सामाजिक सञ्जालमार्फत गिरिको निधनप्रति दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभामा मानीय सदस्य प्रदीप गिरिजीको निधन दुःखद । उहाँ नेपाली राजनीतिका दार्शनिक र समाजवादी चिन्तक हुनुहुन्थ्यो । उहाँले राजनीतिक घेरा बाहिरका सबै विचारधाराको राजनीतिक दलबाट आदर एवं सम्मान प्राप्त गर्नुभयोे । ईश्वरले उहाँको आत्मालाई शान्ति दिऊन् ।’

यस्तै, भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरीले गिरि प्रजातन्त्रको अविचलित योद्धा भएको भन्दै ट्वीट गर्दै भन्नुभएको छ, ‘मेरो अनन्य मित्र तथा सहयोद्धा कमरेड प्रदीप गिरिको निधनले गहिरो दुःखमा छु । उहाँ प्रजातन्त्रको अविलचित योद्धा हुनुहुन्थ्यो, नेपालमा राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व र भारतको सधैँका मित्र हुनुहुन्थ्यो । सलाम प्रदीप ।’

त्यस्तै, भारतीय कांग्रेसका प्रवक्ता मोहन प्रकाशले गिरिलाई समाजवादी, गान्धीवादी र लोहियावादी भएको बताउनुभएको छ । मोहन प्रकाशले गिरि बिरामी हुँदा नेपालमा आएर भेट्न नपाएकोमा पनि दुःख व्यक्त गर्नुभएको छ । बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरियाले प्रदीप गिरिको निधनमा व्यक्त गर्ने शब्द नै नभएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

अध्ययनसँगै लेखन र प्रवचनमा गिरि
बिपी कोइरालापछि साहित्यमा कलम चलाउने थोरै नेताहरू छन् नेपाली कांग्रेसमा । तीमध्ये एक हुनुहन्थ्यो प्रदीप गिरि । उहाँका ‘लेनिनको जीवनी’, ‘नारी’, ‘माक्र्सवाद र अर्थशास्त्र’, ‘विश्वेश्वरप्रसाद कोइराला : आधारभूत संकलन’लगायत एक दर्जनभन्दा बढी लेखन र सम्पादन रहेका पुस्तक प्रकाशित छन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरि अध्ययनमा विशेष रुचि राख्नुहुन्थ्यो ।

उहाँका लिखित दस्तावेज पनि थुप्रै छन् । कांग्रेसको इतिहाससँग जोडेर उहाँले सबैभन्दा धेरै पुस्तक बिपीमाथि लेख्नुभएको छ । त्यसबाहेक उहाँका संगति भारतीय समाजवादी नेता रामनोहर लोहिया बुझाउने हाते पुस्तकदेखि उहाँले लेखेका लेखपत्रिका, अनलाइन र म्यागेजिनमा पर्याप्त पाइन्छ । गिरि कांग्रेसजनमा मात्र होइन कम्युनिष्ट र माक्र्सवाद बुझ्न चाहनेहरूका लागि पनि गुरु हुनुहुन्थ्यो । उहाँका लेख रचना पुस्तक जति रुचाइन्छ त्योभन्दा लोकप्रिय उहाँ आफ्ना प्रवचनहरूमार्फत पनि हुनुहुन्थ्यो । उहाँका प्रवचनमा माक्र्सवादी दर्शनको आधार त हुन्थ्यो नै, पूर्वीय दर्शनका साथै इतिहासका विषयमा पनि उतिकै निपूर्ण भएकाले प्रवचन सुन्न लालयित हुनेको संख्या धेरै थियो । लोकतन्त्र, समाजवाद र माक्र्सवादी विचारधारामा लामो समय चाखलाग्दो प्रवचन गर्न सक्ने गिरि कम्युनिष्टहरूलाई नै कम्युनिष्ट दर्शनका विषयमा प्रवचन दिनुहुन्थ्यो । अध्ययनसँगै लेखनमा पनि उत्तिकै रुचि थियो उहाँमा ।

सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस-कम्युनिष्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने बौद्धिक तथा तार्किक व्यक्तित्वका रूपमा उहाँलाई लिने गरिन्छ ।

पदका लागि मरिहत्ते गर्ने आजको राजनीतिक भिडमा एउटा भिन्न परिचय बनाएर आस्था र निष्ठामा बाँचेको एउटा अग्लो मान्छे गिरि अब भौतिक रूपमा हामीमाझबाट अलग हुनुभएको छ । उहाँकोे भौतिक शरीरले छोडेर गए पनि उहाँले नेपाली साहित्य र समाजमा पु¥याउनुभएका विशिष्ट योगदानहरू सदैव जीवित रहनेछन् । एउटा राजनीतिज्ञका रूपमा मात्र नभएर विचारक, दार्शनिक र समाजवादी चिन्तकका रूपमा उहाँ सधैँ हामीमाझ स्मरणीय रहनुहुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?