विचार आन्दोलनको रानु प्रदीप गिरिप्रति

हिमालय टाइम्स
Read Time = 8 mins

नेपालमा वर्तमान पुस्ताका लागि लोकतान्त्रिक समाजवादको पाठशाला प्रदीप गिरिको पार्थिव अवशानसँगै भताभुंग भएको छ । करिब ८० वर्षयता नेपालमा बीपी कोइराला, सिके प्रसाईंपछि वर्तमान पुस्ताको अग्रणी प्रदीप गिरि नै लोकतन्त्र र समाजवादी धारको पाठशाला मानिनुहुन्छ । त्यस धारलाई समात्ने डा. यज्ञप्रसाद अधिकारी पनि अबका दिनमा योगदान दिनसक्ने अवस्थामा हुनुहुन्न । यो सालको भदौ चार वस्तुतः राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, सामाजिक न्याय र समतामूलक समाज निर्माणको एक अमूल्य निधिको पार्थिव अवशानका कारण सदा पीडादायी भएर स्मृतिमा रहने भएको छ ।

७५ वर्षको आयु पूरा गर्दै गर्दा प्रदीप गिरिको राजनीतिक यात्रा करिब ६० वर्ष पुगेको थियो । पिताजी मित्रलाल गिरिको राजनीतिक सक्रियता मात्रै नभएर सिंगो परिवार नै स्वतन्त्रता आन्दोलनको अंग भएर संघर्षको मैदानमा रहेको अवस्थामा प्रदीप गिरिको जन्म र राजनीतिक यात्रा आरम्भ भएको थियो । शिक्षित र समृद्ध परिवारको सदस्य प्रदीप गिरि वनारसमा अध्ययन गर्ने क्रममा राजनीतिक परिवर्तन, आर्थिक सामाजिक रूपान्तरणको गहिरो वैचारिक समुद्रमा हेलिइसक्नु भएको थियो । उहाँमा माक्र्सवादी द्वन्द्ववाद र लेनिनको नेतृत्वदायी चिन्तनको प्रभाव जति देखिन्छ त्यसभन्दा बढी गान्धी विचारको प्रभाव महत्वपूर्ण थियो ।

यसैकारण बीपी कोइरालाको नेतृत्वमा सञ्चालित सशस्त्र आन्दोलनका विपक्षमा उहाँले आफूलाई अहिंसा र शान्तिको पथगामी बनाउने निर्णय गर्नुभएको देखिन्छ । सशस्त्र आन्दोलनका विपक्षमा त्यसबेला कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिहरू स्पष्ट हुनुहुन्थ्यो । त्यही मार्गलाई प्रदीप गिरिले उचित ठहराउँदा नेपाली कांग्रेसको तत्कालीन क्रान्तिकारी पुस्ताले लगाएको अपमानको घाउ प्रदीप गिरिले लामो समयसम्म अनुभव गरिरहनु भएको थियो । तर, प्रदीप गिरिको विचार नै अन्ततः सफल भयो । अहिंसात्मक मार्ग नै परिवर्तनको सही मार्ग सिद्ध भयो ।

यसपछिका दिनमा आफ्नो विचारलाई परिमार्जित गर्र्दै नेपालको वास्तविकता बुझ्न समर्थ प्रदीप गिरिले कुनै दिन पनि आफूलाई शक्तिपूजक, सत्ताकांक्षी बनाउनुभएन । सत्ता, शक्ति, सम्पत्तिप्रति विकर्षणका कारणले नै उहाँ विचारको पाठशालामा रूपान्तरित हुन पुग्नुभएको हो । नेपालको यस पुस्तामा प्रदीप गिरि जस्तो लोकप्रिय र चिन्तनशील प्रतिभा अरू कोही पनि छैनभन्दा हामीलाई कुनै ग्लानिबोध हुँदैन । लोकतन्त्र जीवन पद्धति हो, प्रणाली मात्रै होइन । आर्थिक र सामाजिक रूपान्तरण शब्दमात्रै होइन व्यवहार हो । अधिकांश राजनीतिकर्मीहरू लोकतन्त्रलाई प्रणाली र सामाजिक आर्थिक रूपान्तरणको विषयलाई शब्दमा मात्र बुझिरहेका छन् र तदनुरूप आचरण गरिरहेका छन् ।

तर, प्रदीप गिरि यथार्थमा आचरण र व्यवहारमा नै लोकतान्त्रिक समाजवादी हुनुहुन्थ्यो । अध्ययनशीलताको एक विशिष्ट उदाहरण प्रदीप गिरिमा अध्ययन अनुरूपको विद्वत्ता, सूचना र ज्ञानको भण्डार नै समाहित भएको अनुभव हुन्थ्यो । रोचक वाककलाले उहाँ कुनै पनि श्रोता समाजलाई निरन्तर मन्त्रमुग्ध गराउनुहुन्थ्यो । उहाँको यो अभिव्यक्तिकला वास्तवमै आश्चर्यपूर्ण थियो । उहाँका लेख पढ्ने, विचार र मन्तव्य सुन्नेहरूमा उहाँको छाप स्वतः पर्नुको कारण यही नै थियो ।

प्रदीप गिरि सत्ता र शक्तिभन्दा पृथक् रहेर नै नेपाली समाजलाई केही दिन चाहिरहनु भएको थियो । समाजमा विकृत कुष्ठ रोग जस्तो रहेको छुवाछुत र विभेद प्रथाको अन्त्य, सर्वजन हिताय सर्वजन सुखायको स्थापना, शोषण र उत्पीडनरहित समाजको निर्माण, पूर्णमानव र मौलिक अधिकारको प्रयोग, समृद्ध नेपाली र स्वाधीन नेपालको आकांक्षा उहाँका अन्तरनिहित चिन्तन दृष्टि थिए । हिंसात्मक आन्दोलनमा असहमति जनाए पनि बीपी कोइरालाका विचारबाट अत्यधिक प्रेरित प्रदीप गिरि सबै पक्षको एकता, सहकार्य, सद्भावमा जोड थियो । भूविविधता जस्तै समाजमा विद्यमान विविधतालाई समानतापूर्वक राष्ट्रको मूलधारमा जोड्नुपर्ने उहाँको विचारकै कारण फरक विचार र सिद्धान्तका अनुयायीहरूले पनि प्रदीप गिरिलाई सम्मान र स्नेह गरिरहेका छन् ।

तर, प्रदीप गिरि आफ्ना यी विचारको कार्यान्वयन गर्ने स्थानमा कहिल्यै पुग्नुभएन । एक्लै आफ्नो आचरण र व्यवहारमा उहाँ मस्त रहनुभयो । आश्रमको स्थापना र समाजवादी चिन्तनको अध्ययनशाला बनाउने उहाँको निजी प्रयास यथावत् छ । प्रदीप गिरि जुन पार्टीमा रहनुभयो त्यस पार्टीको नेतृत्वले लामो समयदेखि लोकतान्त्रिक संस्कृति र समाजवादी चिन्तनलाई विनाश गर्नेबाहेक कुनै काम गर्न सकिरहेको छैन । प्रदीप गिरिप्रति श्रद्धाञ्जलि प्रकट गरिरहँदा दुर्भाग्यपूर्ण यो अवस्थालाई पनि बिर्सन सकिँदैन ।

प्रदीप गिरिको पार्थिव अवशानले नेपालको बौद्धिक जगत र समाजले लोकतान्त्रिक समाजवादी धारको पाठशालाका गुरुको स्थान रिक्त भएको अनुभव गरेको छ । गुरुबिनाको पाठशाला अब जीर्ण हुनेछ र पूर्णरूपमा भत्कनेछ । वर्तमान पुस्ताबाट प्रदीप गिरिको रिक्ततालाई पूर्ति गर्ने विद्वान्, चिन्तन र व्यवहारवादी सरल, असल मानिस आउनु सम्भव देखिँदैन । भविष्यको कुनै पुस्ता यसतर्फ अग्रसर भयो र देखियो भने प्रदीप गिरिको विचार र व्यवहारले निरन्तरता पाउन सक्छ । हिमालय टाइम्स परिवार प्रदीप गिरिप्रति हार्दिक श्रद्धाञ्जलिका यिनै शब्दका साथ परिवारजनमा समवेदना प्रकट गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?